Todays Nepal
No1 Nepal's Complete News Sites

१८० जना सवार इन्डियन एयरलाइन्सको विमान काठमाडौबाट अपहरण

indian airlines hijack www.janabolinews.com
3,902

१८० जना सवार इन्डियन एयरलाइन्सको विमान काठमाडौबाट अपहरणमा परेको छ । साँझ घडीमा चार बज्न लागेको थियो । विमान नयाँ दिल्ली उडान भर्ने अन्तिम तयारीमा थियो । तर यो घटना आजको भने हैन । अठार वर्ष अघि, २४ डिसेम्बरको साँझ, शुक्रबारको दिन र घडीमा चार बज्न लागेको थियो । काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको फ्लाइट ८१४ नयाँ दिल्लीको लागि रवना हुन्छ । साँझ पाँच बजे विमान भारतीय वायु क्षेत्रमा प्रवेश गर्छ, अपहरणकर्ता हरकतमा आउँछन् र विमानलाई पाकिस्तान लैजान माग गर्छन् । यतिबेला विश्वलाई भारतीय विमान अपहरणमा परेको थाहा भइसकेको हुन्छ । साँझ ६ बजे विमान भारतको अमृतसहरमा केही समयका लागि रोकिन्छ । त्यसपछि त्यहाँबाट लाहौरका लागि रवाना हुन्छ । पाकिस्तान सरकारको अनुमति बिना यो विमान राती आठ बजेर सात मिनेट जाँदा लाहौरमा ल्याण्ड गर्छ । लाहौरबाट दुबई हुँदै इन्डियन एयरलाइन्सको अपहरित विमान अर्को दिन विहान करिब साढे आठ बजे अफगानिस्तानको कान्दाहारको जमिनमा ल्याण्ड गर्छ । त्यतिबेला कान्दाहारमा तालिवानको राज थियो ।

विमानमा कूल १८० यात्रु थिए । विमान अपहरणको केही घण्टामा नै चरमपन्थीहरुले एक यात्री रुपन कात्यालको हत्या गर्छन् । २५ वर्षीय रुपनमाथि चरमपन्थीहरुले कयौँ पटक चक्कुले हमला गरेका थिए । राती पौने दुई बजे विमान दुबई पुगेको थियो । त्यहाँ इन्धन भर्दा केही यात्रुहरुलाई छाड्ने सम्झौता भएको थियो । दुबईमा २७ यात्रुहरुलाई रिहा गरिएको थियो जसमा धेरै महिला र बालबालिका थिए । यसको एक दिनपछि डायविटिजबाट पीडित एक अर्का व्यक्तिलाई रिहा गरिएको थियो । कान्दाहारमा क्यान्सरबाट पीडित सिमोन बरार नामका एक महिलालाई उपचारको लागि विमानबाट बाहिर जाने अनुमति दिइएको थियो तर, ९० मिनेटका लागि मात्र । उता, बन्धक संकटका दौरान भारत सरकारको अप्ठ्यारो बढिरहेको थियो । मिडियाको दबाब थियो, त्यसमाथि बन्धक यात्रीहरुका परिवारजनले विरोध प्रदर्शन गरिरहेका थिए । यता अपहरणकर्ताहरुले यात्रुहरुलाई रिहा गर्न आफ्ना ३६ चरमपन्थी साथीहरुलाई रिहा गर्नका साथै २० करोड अमेरिकी डलर फिरौती दिन माग अघि सारिरहेका थिए ।

तालिवानको भूमिका

अपहरणकर्ताले एक कश्मिरी अलगाववादीको शव पनि सुम्पिनु पर्ने माग गरिरहेका थिए । तर, तालिवानको आग्रहपछि उनीहरुले पैसा र शवको माग छोडिदिए । भारतीय जेलमा बन्द चरमपन्थीहरुको रिहाईको मागमा भने उनीहरु अडिग थिए । पेटको क्यान्सरबाट पीडित सिमोन बरारको स्वास्थ्य निकै बिग्रिएपछि तालिवानले उनको उपचारको लागि अपहरणकर्तासँग कुराकानी गरे । तालिवानले एकतर्फ अपहरणकर्ता र अर्कोतर्फ भारत सरकारसँग पनि सम्झौताका लागि दबाब दिई राखेको थियो । एउटा समय यस्तो लाग्न थालेको थियो, तालिवान कुनै सख्त कदम उठाउन सक्नेछ । तर, पछि गृहमन्त्री लालकृष्ण आडवानीले भने, ‘तालिवानले कान्दाहारमा कुनै रक्तपात हुनुहुँदैन भनेर सकारात्मक रवैया देखाएको थियो । नत्र उनीहरुले विमानमा आक्रमण गर्ने उनीहरुले चरमपन्थीहरुलाई चेतावनी दिएका थिए । यसरी अपहरणकर्ता आफ्नो मागबाट पछि हट्न बाध्य भए ।’

वाजपेयी सरकार
विमानमा धेरै यात्रु भारतीय भए पनि त्यहाँ अस्ट्रेलिया, बेल्जियम, क्यानाडा, फ्रान्स, इटाली, जापान, स्पेन र अमेरिकाका पनि नागरिक यात्रा गर्दै थिए । तत्कालिन एनडीए सरकरले यात्रीहरुको सुरक्षाका सुनिश्चित गर्नका लागि तीन चरमपन्थीहरुलाई कान्दाहार लगेर रिहा गर्न परेको थियो । ३१ डिसेम्बरमा सरकार र अपहरणकर्ताबीच सम्झौतापछि दक्षिणी अफगानिस्तानको कान्दाहार विमानस्थलमा अपहरण गरी राखिएका सबै १५५ बन्धकलाई रिहा गरियो । सरकारले भारतीय जेलमा बन्द केही चरमपन्थीहरुलाई रिहा गर्न तयार भएपछि यो अपहरणको ड्रामा सकिएको थियो । तत्कालिन अटल विहारी वाजपेयी सरकारका विदेशमन्त्री जसवन्त सिंहले आफै तीन चरमपन्थीहरुलाई साथमा लिएर कान्दाहार पुगेका थिए । छाडिएका चरमपन्थीहरुमा जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहर, अहमद गरगर र शेख अहमद उमर सईद शामेल थिए ।

सुरक्षाको ग्यारेन्टी
भारत सरकार र चरमन्थीहरुबीच सम्झौता हुने वित्तिकै तालिवानले उनीहरुलाई १० घण्टाभित्र अफगानिस्तान छाड्न अल्टिमेटम दिएको थियो । शर्त मानेपछि चरमपन्थीहरु हातियारसहित विमानबाट उत्रिएका थिए र विमानस्थलमा उनीहरुलाई पर्खिराखेको गाडीमा बसेर तुरुन्त त्यहाँबाट हिँडेका थिए । इन्डियन एयरलाइन्सको विमान अपहरण गर्ने चरमपन्थीहरुले आफ्नो सुरक्षाको ग्यारेन्टीका लागि तालिवानका एक अधिकारीलाई पनि आफ्नो हिरासतमा राखेको थियो । केही यात्रुका अनुसार बन्धक संकटका दौरान अपहरणकर्ताले आफ्नै गुटको एक व्यक्तिको पनि हत्या गरेका थिए । यद्यपि, यसको कसैले पुष्टि भने गरेका छैनन् । विमान अपहरण भएको आठ दिनपछि अर्थात् ३१ डिसेम्बरमा सरकारले सम्झौताको घोषणा गरेको थियो । प्रधानमन्त्री वाजपेयीले नयाँ वर्षको पूर्व सन्ध्यामा देशलाई सरकारले चरमपन्थीहरुको मागलाई निकै कम गर्न सफल भएको जानकारी दिएका थिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: