Todays Nepal
No1 Nepal's Complete News Sites

किरिया तेह्र, पाँच कि तीन दिन?

6,672

पुष्पकमल दाहाल छोराको तेह्रदिने किरिया बसेका भए गत शुक्रबार बल्ल चोखिन्थे।

उनी बसेनन्।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालका एकमात्र छोरा प्रकाशको ‘आकस्मिक हृदयाघात’ ले मंसिर ३ गते निधन भएको थियो।

त्यसै दिन छोराको अन्त्येष्टि गरेर दाहाल पर्सिपल्टै चुनावी प्रचारमा चितवन पुगे। उनकी शोकाकूल पत्नी सीता सँगसँगै थिइन्। प्रकाश पत्नी बिना मगरले पनि कञ्चनपुर–१ को चुनावी अभियानलाई निरन्तरता दिइरहिन्।

परम्परागत काजकिरिया नगर्ने दाहालको निर्णय व्यक्तिगत भए पनि मृत्यु संस्कारसँग जोडिएको ‘सामाजिक जकड’ तोड्न केही अर्थ भने राख्छ।

किरिया बार्ने नियम समयक्रममा सरलीकरण हुँदै आएको इतिहास छ।

यो कुनै बेला १३ वर्षको हुन्थ्यो। पछि १३ महिना, ६ महिना, ४५ दिन हुँदै १३ दिनमा जारी छ।

राणा प्रधानमन्त्री जुद्धशमशेर पालासम्म किरिया ४५ दिन बार्ने चलन थियो। भारतको आर्यसमाज गुरुकुलबाट फर्केका शुक्रराज शास्त्रीले ४५ दिनको चलन ‘अवैदिक’ भएको तर्क राखे। दरबारका पण्डित–पुरोहितले शास्त्रीको तर्क खण्डन गरे। जुद्धशमशेरलाई भने शास्त्रीको भनाइ जच्यो। उनले वाल्मिकी रामायणको अयोध्याकाण्डसँग मेल खाने गरी १९९३ सालमा तेह्रदिने सामाजिक कानुन बनाए। अयोध्याकाण्डमा भरतले १३ दिन बारेको उल्लेख छ।

शुक्रराज उनै चार सहिदमध्ये हुन्, जसलाई राणा शासनविरुद्ध लागेको भन्दै फाँसी दिइएको थियो।

त्यतिबेला ७९ वर्षदेखि चल्दै आएको ४५ दिने किरियाविधि १३ दिनमा झरेको थियो।

यसपालि ८१ वर्षपछि अझ सरल गर्नुपर्ने बहस सुरु भएको छ।

यो बहसमा मृत्यु संस्कार सुधार पक्षका दुईथरी अभियन्ताको फरक मत छ। एकथरी अभियन्ता पाँच दिनमा सीमित गर्नुपर्ने बताउँछन्। संस्कार सुधार समाजका अध्यक्ष शंकर पोखरेल यसको अगुवाइ गरिरहेका छन्।

अर्काथरी भने ‘तीन दिन नै पर्याप्त’ भएको तर्क गर्छन्। नेपाल आर्य समाजका केन्द्रीय अध्यक्ष कमलाकान्त आत्रेय यसका अगुवा हुन्।

‘संस्कार भनेको पहिचान हो, यो कष्टकर हुनु हुँदैन, जति कष्टकर भयो उति मासिने खतरा हुन्छ,’ पाँचदिने किरियाविधिका प्रवर्द्धक पोखरेलले भने, ‘हामीले १३ दिनको सट्टा पाँचदिने किरिया त्यसैले सुरु गरेका हौं।’

संस्कार मान्दै नमानेर लोप गराउनुभन्दा पाँचदिने विधि अनुसरण गर्दा सहज र मितव्ययी हुने उनको भनाइ छ।

छोरा प्रकाशको अन्तेष्टिमा पुष्पकमल दाहाल।
यो विधि सहज र मितव्ययी हुन मात्र होइन।

धर्मशास्त्रहरूमा समेत पाँच दिनमै किरिया सक्ने प्रशस्त तथ्य उल्लेख पाइन्छ। खासगरी पारस्कर गृहसूत्र, मनुस्मृति, धर्मसिन्धु र निर्णयसिन्धुजस्ता धार्मिक ग्रन्थमा यसका आधार उल्लेख रहेको पोखरेल बताउँछन्।

उनका अनुसार पारस्कर गृहसूत्रले भन्छ– ‘मृत्युशोक तीन दिन रहन्छ। केही आचार्य मात्र दस रात बार्नुपर्ने पक्षमा छन्।’

उनले पारस्कर गृहसूत्रको अर्को पंक्ति उद्धृत गरे।

‘कर्ता पुरुष तीन दिनसम्म धर्तीमा सुतोस्, ब्रह्मचर्य पालना गरोस्, स्वयं कुनै लौकिक काम नगरोस् र अरूबाट पनि नगराओस्।’

यो पंक्तिमा ‘किरिया बार्न तीन दिनको मात्र नियम किटान गरिएको’ उनले अर्थ्याए। भने, ‘दस दिनको जूठो रहने भए दस दिनकै नियम किटान गरिन्थ्यो।’

उनी धर्मसिन्धु र निर्णयसिन्धुजस्ता शास्त्र उद्धृत गर्दै के पनि भन्छन् भने, किरियाविधि दिनगन्तीभन्दा पिण्डदानमा आधारित छ। पहिलो दिन एकसाथ तीन पिण्ड, दोस्रो दिन चार र तेस्रो दिन फेरि तीन पिण्ड दिनुपर्ने यी शास्त्रमा उल्लेख छ।

तेह्रदिने विधिमा आठौं दिनबाट पिण्डदान सुरु हुन्छ। तीन दिनमा दस पिण्ड दिएपछि मृत शरीर प्रेत बन्छ। एघारौं दिनमा प्रेतलाई मोक्ष दिने काम हुन्छ। र, बाह्रौं दिनको कामले प्रेतको ‘पितृ–मिलन’ हुन्छ।

यही किरिया पाँच दिनमा सक्दा पहिलो दिन एउटा, दोस्रो दिन चार र तेस्रो दिन पाँच पिण्ड दिइन्छ। एघारौं दिनको काम यहाँ चौथो दिनमा गरिन्छ। र, पाँचौं दिन पितृ–मिलन गराएर कर्मकाण्ड पूरा हुन्छ।

‘पाँचदिने किरियामा हामीले कुनै विधि हटाएका छैनौं, छोट्टयाएका मात्र छौं,’ पोखरेलले भने, ‘पिण्डको संख्या र विधि नघटाई पाँच दिनमै किरिया गर्न कुनै धर्मशास्त्रले रोक्दैन।’

पोखरेलले सरकारी जागिर अवकाशपछि मृत्यु संस्कारमाथि अध्ययन गरेका थिए। तेह्रदिने किरियाबाट धेरैलाई असुविधा देखेपछि सुधारको पहल गरे।

उनको अभियानमा पण्डित रुद्रप्रसाद आचार्य पनि जोडिएका छन्। उनले वैदिक कर्मकाण्ड महासंघका सचिव पारशमणि पोखरेलसँग मिलेर ‘पाँचदिने अन्त्यपद्धति’ नामक किताबै लेखेका छन्।

‘संस्कृति जीवित राख्ने हो भने सुधार नगरी हुन्न,’ हजुरबुबाको पालादेखि पण्डित्याइँ गर्दै आएका ३६ वर्षीय आचार्यले भने, ‘हाम्रो पाँचदिने विधि त्यही सुधारको प्रयास हो।’

लामो अवधि जूठो बार्ने चलनले किरिया बस्दाबस्दै बिरामी परेका र मृत्युसमेत भएका थुप्रै उदाहरण छन्। किरिया बस्दा कतिपय मान्छेको शरीरमा सोडियम कम भई स्वास्थ्य बिग्रने चिकित्सक बताउँछन्।

तीन वर्षअघि मोरङ, इन्द्रपुरकी ५५ वर्षीया मीना थापाको किरिया बस्दाबस्दै मृत्यु भएको थियो। उनी ससुराको किरिया बार्दै थिइन्। सातौं दिनसम्म सकुशल उनी राति एक्कासि बिरामी परिन्। अस्पताल लैजाँदा लैजाँदै बाटैमा मृत्यु भयो।

विराटनगर–१३ का बालानाथ नेपाल पनि आमाको किरिया बार्दा ११ औं दिनमा बितेका थिए।

‘शरीरमा सोडियम कम भएर किरिया बस्दाबस्दै मृत्यु भएका यस्ता घटना कत्ति छन्,’ आचार्यले भने, ‘यसले परिवारमा एउटा शोक नसकिँदै फेरि अर्को थपिन्छ।’

परम्परागत किरिया पद्धतिले शोकाकूल परिवारमाथि आर्थिक भार पनि थपेको भन्दै उनी आलोचना गर्छन्।

उनका अनुसार तेह्रदिने विधिबारे बोल्ने गरुड पुराणले मात्र हो। यो पुराण किरिया बस्दा बाचन गरिन्छ। यसले गाई, जग्गा, सुनचाँदीजस्ता भौतिक वस्तु दान गर्न लगभग मानसिक दबाबै दिन्छ। कतिपयले किरिया खर्च धान्न नसकेर ऋणै लिनुपर्छ।

‘गरुड पुराणको इतिहास नै बढीमा दुई सय वर्षभन्दा पुरानो छैन,’ आचार्यले भने, ‘जबकि हामीले पाँचदिने विधिको कुरा गरेको प्राचीन धर्म विधान र वेदका आधारमा हो। गरुड पुराण त वेदसँग मात्र होइन, अरू पुराणसँग पनि मिल्दैन।’

‘कुनै पनि संस्कार तबसम्म मात्र सर्वव्यापक हुन्छ, जबसम्म त्यसले कष्ट दिँदैन। तेह्रदिने संस्कारले हामीलाई कष्ट दिँदैछ। यसमा समयअनुकूल परिमार्जनको खाँचो छ। कतिपय पुरातनवादी हामीलाई संस्कार मासेको आरोप लगाउँछन्। हाम्रो अभियान संस्कार मास्न होइन, सर्वसाधारणको जीवन सुहाउँदो बनाएर लामो समय जीवित राख्न हो,’ आचार्यले भने।

उनका अनुसार पछिल्लो तीन वर्षमा संस्कार सुधार समाजको सम्पर्कमा रहेर सय जनाभन्दा बढीले यो विधि अपनाएका छन्।

आचार्य आफैंले पहिलोपटक अपनाएको तीन वर्षअघि हो।

२०७१ पुस १ गते निधन भएका ब्रजमोहन पोखरेलको किरिया पाँचदिने विधिबाट गरिएको थियो। उनका छोरा ताराले पशुपतिको किरियापुत्री भवनमा बसेर पाँच दिनमै सकेका थिए। उनी परराष्ट्रका सह–सचिव हुन्। त्यतिबेला उनको कदमले धेरै चर्चा पायो।

‘मैले लहडमा गरेको कर्म होइन, आचार्य गुरु र संस्कार सुधारमा लागेका अग्रजले दिएको प्रमाण र तथ्यका आधारमा गरेको हुँ,’ त्यतिबेला ताराले भनेका थिए, ‘शास्त्रका लागि मानिस होइन, मानिसका लागि शास्त्र हो।’

ताराका बुबा ७३ वर्षीय ब्रजमोहन आफैं पाँचदिने किरिया पक्षमा थिए। बुबाकै इच्छाबमोजिम किरिया गरेको उनको भनाइ थियो। ‘पाँच दिनमा गरे पनि सबै विधि र प्रक्रिया अपनाएकाले संकोच थिएन, तै कताकता आलोचना हुन्छ कि भन्ने डर थियो,’ उनले भने, ‘सिधै आएर कसैले आलोचना गरेनन्, बरु समर्थन र सहयोग नै पाएँ।’

ब्रजमोहनको किरिया गराएका पण्डित आचार्य पनि ‘धेरै जना इच्छा हुँदाहुँदै समाजको डरले संकोच मानिरहेको’ बताउँछन्।

‘तीन दिनमा दस दिनको काम पूरा हुन्छ कि हुँदैन भन्नेमै धेरै जना अल्मलिन्छन्। समाजले कुरा काट्ला कि भन्ने डर पनि छ,’ उनले भने, ‘हाम्रो विधि शास्त्रसम्मत् छ, यो बुझेपछि अचेल धेरै जना ढुक्क भएर मान्छन्।’

जतिबेला आचार्यले पहिलो पाँचदिने किरिया गराएका थिए, उनको किताब प्रकाशित भएकै थिएन। उक्त किरियाले सञ्चारमाध्यममा चर्चा पाएपछि सोधखोज गर्ने बढे। किताब नछापिँदै पाण्डुलिपि नै फोटोकपी गरेर बाँड्नुपरेको आचार्य सम्झन्छन्।

‘त्यतिबेला फोटोकपी हेरेरै दर्जनभन्दा बढी पाँचदिने किरिया सम्पन्न भयो,’ उनले भने, ‘अहिले प्रत्येक जिल्लामा किताब उपलब्ध गराएका छौं, मान्छे आफैं खोजी खोजी आउँछन्।’

‘हिजो तारा पोखरेलले पाँचदिनमा कामकाज गर्दा जस्तो सामाजिक धारणा थियो, त्यस्तो छैन,’ उनले भने।

२०७३ मा प्रकाशित यो किताब हजार प्रति बिक्री भइसकेको र थप पन्ध्र सय छपाइ क्रममा रहेको उनले बताए।

उता, तीनदिने किरियाका प्रवर्द्धक आर्य समाजका राष्ट्रिय अध्यक्ष कमलाकान्त आत्रेय ‘पाँचदिने विधिले खासै सुधार नल्याएको’ भन्दै आलोचना गर्छन्। यसले गलत मृत्यु संस्कार सुधार्नेभन्दा १३ दिनलाई पाँच दिनमा झार्ने काम मात्र गरेको उनको भनाइ छ।

मृत्यु संस्कारका सम्बन्धमा यजुर्वेद उद्धृत गर्दै उनले भने, ‘यजुर्वेदले आत्मा आफैं स्वतन्त्र हुन्छ भनेको छ। यो कसैको बन्देजमा रहँदैन। स्वतन्त्र आत्मालाई मुक्ति दिलाउने नाममा किरिया बस्ने, पिण्डदान गर्ने भन्ने नै भ्रामक हो।’

‘यजुर्वेदले तिमी परमात्माको स्मरण गर, आफ्ना त्रुटि र दोष स्मरण गर, कमजोरी चिन्तन गर र कर्म स्मरण गर भन्छ। यसले आत्मा शाश्वत हो, शरीर अशाश्वत हो भन्छ। आफ्नो कर्मको फल आफैंले भोग्ने र अर्काको भोग्न पाइँदैन भन्ने वैदिक भनाइ छ। यो आधारमा पिण्डदानको औचित्य नै साबित हुँदैन,’ आत्रेयले भने।

वेद अनुसरण गर्ने हो भने काजकिरिया तीन दिनमै पूरा हुने उनले बताए।

उनका अनुसार यसमा तीन दिन लगातार वेद र उपनिषदको व्याख्यासहित प्रवचन दिइन्छ। भागवत् गीताको व्याख्या गरिन्छ। चौथो दिन ठूलो हवन गरेर किरिया सम्पन्न हुन्छ।

‘वेदलाई अनर्थ व्याख्या गर्दै पण्डितहरूले जटिल बनाउँदै लगेका हुन्,’ उनले भने, ‘यसले मृत्यु संस्कारलाई अतिकर्मकाण्डतिर धकेल्दै लगेको छ, जुन आजको समयमा पालना गर्न कठिन छ।’

मृत्यु संस्कार सुधारका यी दुवैथरी अभियन्तालाई हामीले सोध्यौं, ‘छोराको काजकिरिया नगर्ने दाहालको निर्णय ठिक कि बेठिक?’

दुवैथरी अभियन्ताले आ-आफ्नो मान्यताका आधारमा फरक-फरक व्याख्या गरे।

पोखरेलको भनाइ थियो, ‘पुरानो चलन अप्ठ्यारो भयो भनेरै पाँचदिने विधि ल्याएका हौं। संस्कार लोप भएर जाने काम कसैबाट नहोस् भन्ने हामी चाहन्छौं। समाजका लब्धप्रतिष्ठितहरूबाट त हुनै हुँदैन।’

आत्रेयले ‘विधिपूर्वक अन्त्येष्टि गरेर श्रद्धाञ्जली दिनुले नै किरिया सम्पन्न हुने’ तर्क गरे।

‘उहाँ (पुष्पकमल दाहाल) ले जे गर्नुभयो, त्यो धर्मशास्त्रअनुसारै छ,’ उनले भने, ‘वेदले त्योभन्दा लामो र जटिल मृत्यु संस्कारको अपेक्षा राख्दैन, र जरुरी पनि छैन।’

दुवैथरी अभियन्ता एउटा कुरामा सहमत छन्, दाहालले मृत्यु संस्कार सुधारमा नजिर भने बसाले।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: