Todays Nepal
No1 Nepal's Complete News Sites

जाँदाजाँदै देउवा सरकारले बाँड्यो नेता कार्यकर्तालाई अवैधानिकरुपमा करोडौं रकम

10,045

सरकारले पहुँचवाला र आफ्ना नेता तथा कार्यकर्तालाई ‘आर्थिक सहायता र औषधी उपचार खर्च’ का नाममा साउनयता मात्र १९ करोड रुपैयाँभन्दा बढी बाँडेको छ। प्रदेशसभा र प्रतिनिधिसभा चुनावपछि पनि सरकारी ढुकुटीमाथि यस किसिमको ‘दोहन’ श्रृखंला जारी छ।

२५ मंसिर २०७४ मा ५ सय २५ जनालाई आर्थिक सहायता दिने भनी मन्त्रिपरिषले गरेको निर्णय त्यसैको पछिल्लो कडी हो। उक्त निर्णय कार्यान्वयन भए सूचीमा परेका व्यक्तिहरुले ५० हजार देखि १० लाख रुपैयाँसम्म पाउनेछन्। यसबाट राज्यको ढुकुटीबाट करीब १० करोडभन्दा बढी खर्च हुनेछ।

जबकि सरकार आफैले एक वर्षअघि नै विपन्नदेखि विशिष्ट नागरिकसम्मको उपचारका लागि आर्थिक सहायता दिनेसम्बन्धमा मापदण्ड जारी गरिसकेको छ। जसअनुसार उपचारसम्बन्धी कुनै पनि सिफारिश स्वास्थ्य मन्त्रालयबाहेक अन्य निकायबाट गर्न मिल्दैन।

यसरी आफैले जारी गरेको मापदण्ड उल्लघंन गर्दै गृह मन्त्रालयको प्रस्तावमा सरकारले जथाभावी आर्थिक सहायता वितरण गरिरहेको छ। गत २ असोजमा सबभन्दा बढी ८ सय ७८ जनाका नाममा आर्थिक सहायता दिने निर्णय भएको थियो।

आर्थिक सहायता वितरणले यही गतिमा निरन्तरता पाउने हो भने यसवर्ष गत वर्षभन्दा निकै बढी खर्च हुने निश्चित छ। गत वर्ष आर्थिक सहायताका नाममा ३० करोड ९९ लाख रुपैयाँ खर्च भएको थियो। त्यस्तो सहायता पाउने सूचीमा परेकामध्ये अधिकांश प्रधानमन्त्री निकटका व्यक्तिहरु हुने गरेको सम्बद्ध अधिकारीको दावी छ ।

‘त्यो राहत पाउनेमा केही अपवाद बाहेक प्रधानमन्त्री र प्रभावशाली मन्त्रीका आसेपासे नै बढी छन् । कतिपय अनुहार त दोहोर्‍याएर र तेहेर्‍याएर लिने पनि छन्,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘केही त आर्थिक सहायता लिने पेशेवर नै छन् । तिनको ध्याउन्न नै कसरी हुन्छ सरकारी राहत फुत्काउनु नै हुने गरेको छ।’ आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: