Todays Nepal
No1 Nepal's Complete News Sites

अत्यधिक सेल्फी खिच्ने लतले मानिस पागल हुन या मानसिक सन्तुलन गुम्न सक्ने सम्भावना

38

अहिले शहरी युवापुस्ताको लाइफस्टाइलको अभिन्न अंग बनेको छ सेल्फी । स्मार्टफोको क्यामरा अन गर्ने, आफूतिर फर्काउने र खिचिक्क पार्ने । कसैलाई एउटा फोटो खिचिदेउन भनेर गुहार्नै पर्दैन ।

आक्कलझुक्कल सेल्फी खिच्नु ठिकै हो । तर, सेल्फी खिच्ने लत नै बस्यो भने त्यो एउटा मानसिक समस्या हुन सक्ने र उपचारको आवश्यकता पर्ने भारतमा गरिएको एक अध्ययनले देखाएको छ ।

सन् २०१४ मा अमेरिकन साइकियाट्रिक एसोसिएसनद्वारा सेल्फीको लतलाई वास्तविक मानसिक असन्तुलन दावी गर्दै एउटा काल्पनिक कथा मिडियामा प्रकाशित भएपछि बेलायतस्थित नोटिङ्घम ट्रेन्ट युनिभर्सिटी र तामिलनाडुको थियागराजर स्कुल अफ म्यानेजमेन्ट (टिएसएम) का अन्वेषकले त्यसको अनुसन्धान थालेका थिए ।

उनीहरुले अहिले यसलाई पुष्टि गरेका छन् र ‘सेल्फिटिस बिहेभियर स्केल’ विकास गरेका छन् जसलाई यो लतको गम्भीरता मूल्यांकन गर्न प्रयोग गरिन्छ । दुर्इ सय सहभागी सहितको फोकस ग्रुपहरु ठूलो संख्यामा प्रयोग गरेर यो स्केल विकास गरिएको थियो र यसलाई ४ सय सहभागीहरुको सर्भेक्षणमार्फत परिक्षण गरिएको थियो ।

सहभागीहरु सबै भारतीय थिए, किनकी यस देशमा फेसबुक प्रयोगकर्ताको संख्या अत्यधिक हुनुका साथै खतरनाक स्थानमा सेल्फी खिच्ने क्रममा दुर्घटना भएर मृत्यू हुने दर पनि सबैभन्दा उच्च छ ।

इन्टरनेसनल जर्नल अफ मेन्टल हेल्थ एन्ड एडिक्सनमा प्रकाशित सर्भेक्षण प्रतिवेदनले ‘सेल्फीटिस’ का तीन तह हुने पुष्टि गरेको छ । दैनिक कम्तिमा तीन तीन पटक सेल्फी खिच्ने तर, सामाजिक सञ्जालमा त्यसलाई पोष्ट नगर्नेहरुलाई ‘बोर्डरलाइन’ मा अर्थात् कम संवेदनशीलमा राखिएको छ ।

‘एक्यूट सेल्फीटिस’हरुले दैनिक कम्तिमा तीनपटक सेल्फी खिच्छन् र ती सबैलाई सामाजिक सञ्जालमा पोष्ट गर्छन् । यसैगरी ‘क्रोनिक सेल्फीटिस’हरुले अनियन्त्रित रुपमा हरघडी सेल्फी खिच्छन् र दैनिक ६ पटकभन्दा बढी सामाजिक सञ्जालमा पोष्ट गर्छन् ।

सेल्फीका पारखीहरुको ६ वटा उत्प्रेरक तत्व पनि पहिचान गरिएको छ । ती तत्वहरुमा आफ्नो आत्मविश्वास बढाउन खोज्ने, ध्यान आकृष्ट गर्न खोज्ने, आफ्नो मुडलाई सुधार गर्ने, वरिपरीको वातावरणसँग आफूलाई जोड्ने, आफू वरिपरीका सामाजिक समुहहरुसँग आफ्नो आवद्धतालाई बढाउने र सामाजिक रुपमा प्रतिस्पर्धि हुने रहेका छन् ।

‘केही वर्षअगाडि मिडियामा सेल्फीटिसको अवस्थालाई अमेरिकन साइकियाटि्रक एसोसिएसनले मानसिक असन्तुलनका रुपमा वर्गिकृत गरेको समाचार आयोउ,’ नोटिङ्घम ट्रेन्ट यूनिभर्सिटीका मार्क गि्रफिथ्स भन्छन्, ‘पछि सो समाचार नक्कली रहेको खुलासा भयो तर, यसको अर्थ यो थिएन कि सेल्फटिसको अस्तित्व छैन ।’

‘अहिले हामीले यसको अस्तित्व पुष्टि गरेका छौं र विश्वकै पहिलो सेल्फीटिस बिहेभियर स्केल विकास गरेका छौं । अन्य किसिमको कुलतमा फसेका व्यक्तिहरुले जस्तै व्यवहार सेल्फीटिसहरुले देखाउने गरेको पाइएको छ,’ उनले अगाडि भने ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: