Todays Nepal
No1 Nepal's Complete News Sites

तपाईहरूलाई अचम्म लाग्न सक्छ ! काठमाडाैंका करोडपतिहरू लास बोकेका कफिनमाथि सुत्ने गर्छन ।

95

वैदेशिक रोजगारीमा गएका युवाको उतै मृत्यु भएपछि सद्गत गर्न स्वदेश फर्काइन्छ, दाहसंस्कारका लागि । आकर्षक कफिनमा राखेर ल्याइएका शव आफन्तको जिम्मा लगाएपछि आ-आफ्नो चलनअनुसार दाहसंस्कार हुन्छ । र, कफिनको उपयोगिता सकिएको मानिन्छ ।

कुन व्यक्तिको शव कुन समयमा नेपाल आइपुग्यो भन्ने अभिलेख छ, सरकारी निकायसँग । त्यससँगै आएको कफिनबारे भने कुनै अभिलेख भेट्न सकिँदैन । कारण, त्यसरी आउने कफिनको उपयोगिता अझै सकिएको हुँदैन । महँगा पलङ र दराज बनाउन फर्निचर व्यवसायीले ओसार्छन् ।

दशकयता विदेशमा बनेका चिल्ला कफिनले शहरको सम्भ्रान्त वर्गको शयन कक्षमा पलङको रुपमा शोभा बढाइरहेको विषय कमैलाई जानकारी होला ।

सरकारी आँकडाअनुसार नेपालबाट दैनिक करिब पाँच सय युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । त्यसको करिब एक प्रतिशत अर्थात् दैनिक पाँच जना नेपाली अचानक मृत्यु भएर कफिनमा फिर्ता हुने गरेका छन् ।

के हो कफिन ?

मानिसको मृत्युपछि शवलाई पातलो कपडाले ढाकिन्छ, जसलाई चलनचल्तिको भाषामा ‘कात्रो’ र हिन्दीमा कफन भन्ने गरिन्छ । यससँगै मिल्ने शब्द हो, कफिन ।

शवलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानुपर्‍यो भने बलियो काठबाट बनेको लाम्चो आकारको बाकसमा राख्ने गरिन्छ, जसलाई शवपेटिका पनि भन्ने गरिन्छ ।

विदेशमा मृत्यु भएका मानिसको शव जन्मभूमिमा पठाउनुपर्‍यो भने कफिनको प्रयोग हुन्छ, जुन निकै आकर्षक र बलियो हुन्छ ।

कफिनको कारोबार

अधिकांशलाई ती कफिन शवसँगै जलाइने भ्रम छ । तर, नेपाली समाजको मान्यता नै छ, शवसँगै कफिन जलाउँदा अशुद्ध हुन्छ ।

यही मान्यताका कारण शवसँगै आएका कफिन घाटमा पुर्‍याउनासाथ गायब हुन्छन् र महँगोमा बिक्री हुन्छन् । यसको बेग्लै धन्दा छ ।

आकर्षक डिजाइनमा बनेका त्यस्ता बाकस धेरैजसो बाक्लो डबल कोटेड प्लाइउडबाट बनाइन्छ । ती प्लाइउड नेपाली उत्पादनको तुलनामा केही बाक्ला र चिल्ला हुन्छन् ।

यही कारण हो, फर्निचर उद्यमीहरुको आँखा कफिनमा पर्नुको पनि । उनीहरुले कफिनलाई महँगा पलङ र दराज बनाउन कच्चा सामग्रीको रुपमा प्रयोग गर्दै आएका छन् ।

सदगत भइसक्दा नसक्दै कफिन कुरेर बस्ने व्यापारीबीच मोलमोलाइ शुरु हुन्छ । त्यही खरिद गर्न केही व्यक्ति दैनिक घाटको चक्कर लगाउँछन् । अझ, कतिपय त विमानस्थलमै पुग्छन्

शोकको घडीमा मृतकका आफन्त कफिनका विषयमा चासो दिँदैनन् । कसैले चासो दिइहाले पनि ‘घाटको नियम’ भनेर आफन्तहरुबाट घाटका केही व्यक्तिले ती कफिन नियन्त्रणमा लिन्छन् ।

शव निकालेपछि दाहसंस्कार कर्म शुरु हुन्छ । खालि भएको कफिन भने पशुपतिको भष्मेश्वर घाटभित्र एउटा साँघुरो कोठामा पुर्‍याइन्छ ।

सदगत भइसक्दा नसक्दै कफिन कुरेर बस्ने व्यापारीबीच मोलमोलाइ शुरु हुन्छ । त्यही खरिद गर्न केही व्यक्ति दैनिक घाटको चक्कर लगाउँछन् । अझ, कतिपय त विमानस्थलमै पुग्छन् ।

पशुपति आर्यघाटमा सद्गत नगरी गाउँ पुर्‍याइने कतिपय कफिन हत्याउन भने कारोबारीहरुले शव वाहनका चालकसँग कमिसनको ‘सेटिङ’ मिलाउँछन् । शव आफन्तलाई जिम्मा लगाएपछि शव वाहन चालक खालि कफिन बोकेर काठमाडौं फर्किन्छन् ।

कारोबारीहरु कफिन हेरेरै विदेशमा मृतकको जागीर र कम्पनीको स्तरसमेत अड्कल लगाउँछन् । कतार, दुबई, साउदी अरेबियाबाट आउने कफिनको तुलनामा बेलायत, अमेरिका, हङकङबाट आएका कफिनको डिजाइन निकै आकर्षक हुने गरेको पशुपतिमा त्यस्तो कारोबारमा संलग्न एक समूहका नारायण पोडे बताउँछन् ।

उनका अनुसार प्रयोग भएको काठ, डिजाइन र बनावटका आधारमा मूल्य निर्धारण हुन्छ । आकर्षक काठ भएका कफिन फर्निचर पसलमा पुग्छन् । र, तिनैबाट बन्छन्, करोडपतिहरु सुत्ने पलङ र शयन कक्षमा सजाइने दराज ।

‘जति स्ट्यान्डर्ड मान्छे कफिनमा आउँछ, त्यसबाट त्यति नै उच्चस्तरको पलङ पनि बन्छ,’ पोडे भन्छन्, ‘बाक्लो र फराकिलो प्लाइउडबाट पलङ बन्छन् । दराज बनाउँदा भने टुक्र्याउनु पर्छ ।’

मृतक वा जिवित, आखिर मान्छेको आकार एकै हुने भएकाले डकर्मीलाई खाट बनाउन धेरै मिहिनेत गर्नुपर्दैन ।

कथा कफिनका

पशुपति आर्यघाटको दक्षिणतर्फ काज किरियामा प्रयोग हुने सुपथ मूल्य पसल छ । त्यहीँ घाट व्यवस्थापन कार्यालय पनि छ । पशुपति विकास कोषअन्तर्गत्को उक्त कार्यालयमा लास पोल्ने दुईथरि कामदार बस्छन् ।

एकथरिले बाहुन, क्षत्री र दलितको लास जलाउँछन् भने अर्काथरिले मंगोलिन मुलका मानिसको । ती दुवैको व्यवस्थापनमा दलित जातिका मानिस खटाइएको छ ।

र, उनीहरुकै हातमा कफिन बिक्री वितरणको जिम्मा हुन्छ ।

वर्षौंदेखि श्लेषमान्तक वनलाई वासस्थान बनाएका सगुन बाबाका अनुसार करिब २० वर्षयता पशुपति आर्यघाटमा विदेशबाट कफिनमा लास ल्याइन थालेको हो । ‘शुरुवाति दिनमा कफिन देख्नु नै अनौठो कुरा थियो । त्यसैले यसप्रति मानिसमा चासो देखिन्थ्यो,’ सगुन बाबा भन्छन्, ‘विस्तारै दैनिक २/४ लास कफिनमा आउन थाले । त्यसपछि भने ती सामान्य बने ।’

धार्मिक रुपमा अशुद्ध मानिएको प्लाइउड बुद्ध धर्मको ज्ञान सिकाउने नागी गुम्बाले एकमुष्ठ किनेर लगेपछि भने भाउ ह्वात्तै बढ्यो । त्यसपछि लुकिछिपी किन्ने फर्निचर पसलहरुले पनि यसको खुला किनबेच थाले

शुरु-शुरुमा कफिनको व्यवस्थापन घाटका कर्मचारीका लागि पनि टाउको दुखाइको विषय थियो । शवलाई सुरक्षित राख्न प्रयोग हुने रसायनका कारण त्यसलाई जलाउन सकिँदैनथ्यो । कतिपयले बाहिर प्रयोग भएका बाक्ला प्लाइउड निकालेर जलाउँथे र भित्री भागलाई घाटको जिम्मा लगाउँथे ।

तर, शास्त्रीय विधिअनुसार विदेशबाट फरक धर्मालम्बीले छोएका ती काठ अशुद्ध हुने भएकाले बाहिरी प्लाइउड पनि जलाउन नहुने नियम बन्यो । विधिपूर्वक घीउ-तील मिलाएर मन्त्रोच्चारण गरिएका स्थानीय काठबाटै सद्गत गर्नुपर्ने भएकाले ती कफिन भष्मेश्वर घाटमै कार्यरत जिम्बु बुढाले जिम्मा लिन थाले ।

सगुन बाबाका अनुसार जिम्बु बुढाले कफिनबाट असल काठ र प्लाइउड निकालेर पशुपतिको सार्वजनिक शौचालयको पछाडि थुपार्थे । त्यसरी छुट्याएर राखिएका प्लाइउड शुरुमा पशुपति क्षेत्र वरपर भुईंमा सुत्ने व्यक्तिहरुले लैजान थाले । विस्तारै यसको प्रचार हुँदै गएपछि सस्तो मूल्यमा बिक्री-वितरण शुरु भयो ।

मृतकलाई राखिएको काठ भएकाले यसबाट बनेको खाटमा सुत्दा भूत लाग्ने विश्वास देखिन्थ्यो, शुरुवाति दिनमा । तर, विस्तारै यसबारे प्रचार हुन थाल्यो र फर्निचर पसलेहरु आकर्षित हुन थाले ।

लामो समय जिम्बु बुढाका सहयोगी भएर पशुपतिको सार्वजनिक शौचालयमा बिताएका रमेश नामका युवकलाई पनि कफिनका धेरै किस्सा जानकारी छ । उनी भन्छन्, ‘१० वर्षजति अघि एकै पटक एक सय २३ वटा यस्ता प्लाइउड सय रुपैयाँका दरले बिक्री भयो । त्यो सबै प्लाइउड शिवपुरी निकुञ्जमा रहेको नागी गुम्बाले किनेको रहेछ ।’

बजारमा त्यसबेला सामान्य प्लाइउडको मूल्य तीन सय रुपैयाँसम्म पर्थ्यो । त्यतिबेलासम्म धार्मिक रुपमा अशुद्ध मानिएको प्लाइउड बुद्ध धर्मको ज्ञान सिकाउने नागी गुम्बाले एकमुष्ठ किनेर लगेपछि भने भाउ ह्वात्तै बढ्यो । त्यसपछि लुकिछिपी किन्ने फर्निचर पसलहरुले पनि यसको खुला किनबेच थाले ।

‘म पनि यही प्लाइउडबाट बनेको खाटमा सुत्ने गर्छु,’ शिवपुरी जंगलभित्र सात वर्ष एउटै रुखको टोड्कामा तपस्या गरेका टोड्के बाबा भन्छन्, ‘बजारमा भन्दा सस्तो पाएकाले मैले सिंगो कफिनलाई आफ्ना सामग्री राख्ने बक्सा बनाएँ ।’

उनको बुझाइमा काठमाडौंका धनाढ्यहरुलाई यसबारे हेक्का नहुन सक्छ । जस्तो- पहिलो पटक प्रधानमन्त्री बन्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को महँगो पलङले राजनीति नै तरंगित बनाएको थियो । आलोचना हुन थालेपछि दाहालले मुख खोल्नुपर्‍यो, बाहिर प्रचार गरिएजस्तो महँगो होइन भन्दै ।

टोड्के बाबा अनुमान लगाउँछन्, ‘मेरो विचारमा त्यत्रो हल्ला भएको प्रचण्डको पलङ पनि कफिनबाटै बनेको हुनुपर्छ ।’

थरिथरिका डिजाइन

सामान्य कफिन बाक्लो कुटबाट बनेको हुन्छ । त्यसले सुत्ने मानिसलाई न्यानोपन दिन्छ । महँगो कफिनमा डबल कोटेड प्लाइउड हुन्छ । कतिपय कफिन आल्मुनियम र फलामले पनि बनेका हुन्छन् ।

कफिनहरु जति आकर्षक हुन्छन्, भष्मेश्वर घाटका व्यापारीहरुले त्यसको मूल्य त्यति नै बढी लिने गरेका छन् ।

पहिले कफिन फुटाएर त्यसको काठ निकालिन्थ्यो र फर्निचर पसलमा पुर्‍याइन्थ्यो । फर्निचरवालाहरु पनि मोलमोलाइ गरेर सस्तोमा ती काठ खरिद गर्थे ।

अहिले भने सिंगै कफिनको माग बढेको छ । टुक्र्याएर सस्तोमा काठ बेच्नुभन्दा सिंगै कफिन बेच्दा घाटेहरु मालामाल भएका छन् ।

‘पहिले काठ निकालेर थुपार्नु पर्थ्यो । काठको गुणस्तर हेरेर मूल्य निर्धारण हुन्थ्यो,’ १४ वर्षदेखि लास जलाउने जागीर खाएका कृष्ण मगर भन्छन्, ‘अहिले कफिन नै बिक्री हुन्छ । काठभन्दा कफिनको डिजाइन हेरेर मूल्य निर्धारण हुन्छ ।’

बदलिँदो आयामका कारण निकट भविष्यमै शव राख्ने कफिनहरुबाट बनेका खाटमा शहरका सम्भ्रान्तहरु सुत्न पाउने छैनन्

बदलिँदो आयाम, विदेशबाट आउनुअघि नै बुक !

कफिनको माग अचानक बढ्नुको अर्को आयाम पनि छ ।

घाटेहरुका अनुसार अचेल इसाई धर्मालम्बीले कफिन खरिद गर्ने गरेका छन् । दोस्रो जनआन्दोलनपछि नेपालमा इसाई धर्मान्तरण तीव्र गतिमा बढ्दो छ ।

इसाई धर्मालम्बीहरुका कारण नेपालीको दाहसंस्कार गर्ने शैली पनि परिवर्तन भएको छ । उनीहरु लास जलाउनुको साटो कफिनसहित सरकारले छुट्याइदिएको स्थानमा गाड्ने गर्छन् । यही कारण सस्तोखाले कफिनको माग ह्वात्तै बढेको घाटेहरुको भनाइ छ ।

‘पहिले कफिन कसैले पनि किन्दैनथे । समय अर्कै थियो । शुद्धाशुद्धीको कुरा हुन्थ्यो । अहिले विदेशबाट आउनुअघि नै बुक हुन्छ,’ भष्मेश्वर घाटमा कफिन बिक्री गर्ने सुदर्शन नामक युवक भन्छन्, ‘धनी क्रिश्चियनहरुले आफैं कफिन बनाउन लगाउँछन् तर गरिब परिवारका लागि विदेशबाट आएका कफिन दुई हजारदेखि पाँच हजारसम्ममा बिक्री गर्छौं ।’

सुदर्शनका अनुसार नयाँ कफिन बनाउन पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म पर्छ । चर्चका मानिस आएरै सस्तो कफिन राखिदिन आग्रह गर्छन् ।

यसरी अर्डर भएका कफिन चर्च र अस्पतालमा पुर्‍याइने गरेको छ । अस्पतालमा मृत्यु भएका व्यक्तिहरुलाई त्यहीं कफिनमा हालेर श्मशान लैजाने गरिएको छ । घरमा मृत्यु हुनेहरुलाई चर्चमा पुर्‍याएर त्यहींबाट कफिनमा राखेर श्मशान पुर्‍याइन्छ ।

बदलिँदो आयामका कारण निकट भविष्यमै शव राख्ने कफिनहरुबाट बनेका खाटमा शहरका सम्भ्रान्तहरु सुत्न पाउने छैनन् । यही आयाम हो, जसका कारण विदेशबाट सित्तैंमा आएका कफिनबाट मालामाल बनेका फर्निचर व्यवसायीहरुको कारोबार पनि सुस्ताउन थालेको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: