Todays Nepal
No1 Nepal's Complete News Sites

विश्वले चिनेका यी ६ व्यक्ति जसले ठुलो मौका पाए तर

107

प्रजातन्त्रको उदय (२००७) पछि भएका २२ कार्यकारी प्रमुखहरुले गरेको कामको अध्ययन गर्ने हो भने कसैको पनि सोच देश विकास गर्ने कुरामा केन्द्रीत देखिदैन । भौतिक र राजनीतिक विकासको समन्वय गर्न नसक्दा आम कार्यकारी प्रमुखले असफलता चाखे । परिणामत नेपाल विश्वको विकासवाट छुट्दै गयो । र, गरिव राष्ट्रको सूचीमा माथिल्लो स्थान जमाउन बाध्य छ ।

माथि उल्लेखित संख्या २२ ले नै देश वनाउने कुरामा हैसियत राख्दैनथे । कतिपय कार्यकारी प्रमुखहरु चुनाव गर्न आएका थिए भने कतिपय अन्य मिसनमा थिए । जस्तो, ०४७ सालका अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई चुनाव गर्न आएका थिए भने सुशील कोइराला नयाँ संविधान घोषणा गर्न आएका थिए । कोइरालाभन्दा अघि आएका मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी संविधानसभाको दोस्रो चुनाव सम्पन्न गराउन आएका थिए । त्यसैगरी राजाले वनाएका कार्यकारी प्रमुखहरुले जनताको भन्दा राजाको काममा बढी सक्रिय हुनुपर्थो । उनीहरु देश वनाउने खाका कोर्न सक्दैनथे ।

००७ सालपछि यस्ता पनि ६ कार्यकारी प्रमुख आए, जसलाई देश वनाउने मौका प्राप्त थियो । जस्तो – २०१६ सालमा दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री वीपी कोइराला, वीपी पछि प्रजातन्त्रलाई नै बन्धक बनाउँदै १० वर्ष निरंकुश शासन चलाउने तत्कालीन राजा महेन्द्र, उनीपछिका राजा वीरेन्द्र, दोस्रो पटक प्रजातन्त्र आएपछि अर्थात ०४८ मा बहुमत प्राप्त सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई देश विकासको पूर्ण अवसर प्राप्त थियो । तर उनीहरुले देशको काँचुली फेर्के हैसियत सार्वजनिक गर्न सकेनन् ।

तत्कालीन प्रधानमन्त्री वीपीसँग राजनीतिक मार्गचित्र थियो । तर विकासको काम भने उनीवाट सुरु नै भएन । तत्कालीन राजा महेन्द्रसँग विकासको मोडल रहेको पाइन्छ । तर राजनीतिक रुपमा समयसँग हिंड्न नसक्दा उनको कदमले देश अस्थिरतामा डुबिरह्यो । उनले भौतिक र राजनीतिक विकासको तालमेल मिलाउन सकेनन् । अन्तिम राजा ज्ञानेन्द्रसँग पनि देश वनाउने सुवर्ण मौका थियो । उनले पनि राजनीतिक रुपमा भन्दा पनि तानाशाहका शैलिमा दादागिरी देखाउने र सामान्य लोभ–लालचमा दिन गुजार्न थालेपछि चुप भएका जनता एकैपटक सडकमा आए र फ्याकिदिए ।

मुलुक किन पछि परो त ? यसको पहिलो जवाफ हो, नेतृत्वमा आउनेहरुसँग देश विकासको मोडल नै नहुनु । खाका नै नभएपछि विकास हुने कुरा पनि भएन । भौतिक विकासको मोडल भएकासँग राजनीतिक संतुलन मिलाउने हैसियत नहुनु र राजनीतिक रोडम्याप भएकासँग भौतिक विकासको खाका नहुनु नै नेपालको दुर्भाग्य हो । यी दुवैकुराले सुसजित नेतृत्व जन्मन नसक्नु नै नेपाल र नेपालीको दुर्भाग्य हो ।

यी हुन् ६ जना

विश्वेश्वर प्रसाद कोइराला
२०१६ सालमा वीपी कोइराला दुई तिहाई बहुमतको प्रधानमन्त्री भए । उनले डेढ वर्ष शासन चलाए । यो अवधी एकदमै थोरै हो । तर देश विकासको मोडल सार्वजनिक गर्नलाई भने यो पर्याप्त समय हो । सँग–सँगै प्रजातन्त्र जोगाउन नसकेको दोष पनि यिनैलाई लाग्ने गरेको छ । वीपीले राजनीतिक रुपमा राम्रो मौका पाएकोमा कसैको दुई मत छैन । उनले यस अवधीमा सुशासन दिन सकेको भए र जनतालाई आफ्नो काममा सहमत गराउन सकेको भए प्रजातन्त्र गुम्दैनथ्यो भन्ने आम विश्लेषण छ । दुई तिहाई बहुमत सांसद रहेको पार्टीका प्रमुखलाई सत्ताच्यूत गर्दा समेत जनता चुप रहनुले उनको कामको मूल्यांकन जनताले कसरी गरेका थिए भन्ने लख काट्न सकिन्छ ।

राजा महेन्द्र
२०१७ सालमा वीपी सरकार अपदस्त गरेर पञ्चायती ब्यवस्था लागु गरेपछि राजा महेन्द्रले सुशासन दिने प्रयत्न गरे । विकासको मोडल तयार गरे र कतिपय काम समेत सुरु गरे । उनका कतिपय काम युगान्तकारी भए । राष्ट्रबादलाई उनले मुलमन्त्रको रुपमा समेत स्थापित गरे । तर महेन्द्रले प्रजातन्त्र थुनेर राख्दा राजनीतिक शान्ति चाहिं कहिल्यै भएन । विकास र ब्यवस्थाको तालमेल नहुँदा देश सधैं अशान्त भइरह्यो । प्रजातन्त्र सहित पनि विकासको काम गर्न सकिन्छ भन्ने कुरामा उनले विश्वास गरेनन् ।

राजा वीरेन्द्र
महेन्द्र पछि २०२८ सालमा राजा भएका वीरेन्द्र शाहलाई देश बनाउने सवालमा अथाह समय र मौका थियो । तर उनले त्यस्तो मौकालाई सदुपयोग गरेनन वा गर्नसकेनन् । उनले न विकासको मोडल तयार गरे, नत राजनीतिक स्थायित्वकालागी काम गरे । उनको शासनकाल अस्थिरतामा सीमित भयो । बाबुले सुरु गरेको विकासको मोडललाई पछ्याउन सकेका मात्र थिए भनेपनि देश केहीहदसम्म समृद्ध बन्थ्यो भन्ने एकथरीको विश्लेषण छ । तर वीरेन्द्र शान्तसँग बसिमात्र रहे । जसका कारण देश द्रुतगतिको ओरालो यात्रामा रहिरहयो ।

गिरिजाप्रसाद कोइराला
दोस्रो पटक प्रजातन्त्र प्राप्त भएपछि पहिलो निर्वाचित प्रधानमन्त्री बने नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला । बहुमत प्राप्त पार्टीको प्रधानमन्त्री कोइरालासँग न राजनीतिक मोडल थियो, नत विकासको खाका नै । अझ उनले आफ्नो ५ बर्षे कार्यकाल समेत पुरा गर्न सकेनन् । आफ्नै पार्टी भित्रको गुटका कारण अढाई बर्षमा नै उनको शासन ढल्यो । सुशासन र विकासभन्दा पनि सत्ताको घिनलाग्दो खेलमा उनी र उनले नेतृत्व गरेको पार्टी फस्दै गयो । समग्रमा हातलाग्यो सुन्यमा परिणत भयो कोइराला सरकार । उनले त्यसपछि पनि पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर पाए तर पहिलो पटक जस्तो मौका उनले फेरि–फेरि कहिल्यै पाएनन् ।

ज्ञानेन्द्र शाह
अन्तिम राजा ज्ञानेन्द्रसँग पनि देश वनाउने सुवर्ण मौका थियो । दरबार हत्याकाण्ड पछि प्राप्त यो मौका भलै उनले आफैं मिलाएका थिए । तर त्यो नकाम सिद्ध भयो । उनले राजनीतिक रुपमा भन्दा पनि तानाशाहको शैलिमा दादागिरी देखाउने र सामान्य लोभ–लालचमा दिन गुजार्न थालेपछि जनताले सहेनन् । र, कसैले नपत्याएका भनिएका पार्टीलाई नै जनताले साथ थिए । आफ्ना बाबु महेन्द्रले ४० बर्ष अघि चालेको कदमको कपी गर्दा र सम्पत्तिको लोभमा फस्दैजाँदा उनले कुनैपनि खाले निकास दिन सकेनन् । राजनीति र विकास दुवै हिसावमा उनी कमजोर मात्र होइन, बबुरो सावित भए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
गणतन्त्र स्थापनापछिको आम निर्वाचनवाट ठूलो दलको हैसियतमा प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ९ महिनामा ढले । उनलाई तत्कालीन संविधानसभाको तेस्रो ठूलो दल एमालेको साथ थियो । गणना गर्ने हो भने उनलाई झण्डै दुई तिहाइ सांसदहरुको साथ थियो । तर उनले यसलाई थाम्न सकेनन् । उनीसँग पनि विकास र राजनीतिक मोडल थिएन । सत्ता र शक्तिको उन्मादले उनलाई देश वनाउने दिशामा सोच्ने फुर्सद नै भएन । उनी सत्ता कब्जाको धङधङीमा सीमित भएको देखियो । युद्ध लड्ने कला भएपनि उनीसँग खुला ब्यवस्थामा राजनीति गर्ने र देश समृद्ध बनाउने गृहकार्य नै नभएको पुष्टि भयो ।

(विश्व प्रसिद्ध थांका लेखक लामा राजनीतिक विश्लेषक हुन् ।)

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: