Todays Nepal
No1 Nepal's Complete News Sites

छोरा मलाई माफ गर! बुबा तिम्रा छैनन र मैले पनि तिमीलाई चाहेको जति समय दिन् सकिछैन : ड्राइभर रेबिका

366

आमा हुन् रेविका थापा, एक वालककी । तर, समाजमा कठोर भनेर परिचित पेशामा रहेकाले आमा जस्ती लाग्दिनन् उनी । कोमलता जनाउने पहिरन भनी समाजले छुट्याएको पहिरन, न चुरा, न पोते, आँखामा न त गाजल नै । मानसिक कोमलता बाहेक उनी पूरै लोग्ने मान्छे देखिन्छिन्

झिसमिसे बिहानमै लगनखेल बसपार्क नजिक उनको डेरामा पुग्दा उनी भर्खर नुहाएको चिसो कपाल फिजारेर बाथरुमबाट निस्केकी थिइन् । कपाल झ्टारिन् उनले र भनिन्– ‘जहिल्यै हतार हुन्छ, आज पनि ढिलो हुन लागिसक्यो ।’ उनी इसिमोडको स्टाफ बसकी चालक हुन् । यसअघि साझा बस चलाउँथिन् । आज पनि बिहान ५ बजे नै अफिस बस चलाउन हिंड्न हतारिएकी थिइन् उनी ।

बोली नरम भए पनि शारीरिक भाषा उनको कठोर जस्तै लाग्छ । किन उनी कठोर देखिन्छिन् त ? ‘जीवनमा पाएको हन्डर ठक्करले कडा बनाएको हुनु पर्छ’ उनले भनिन् । बाबुको अनुहार कस्तो थियो, उनलाई थाहा छैन, बिवाह लगत्तै आमाको पनि निधन भयो । बिबाह पछि सहनै नसक्ने ब्याबहारले श्रीमान छाडिन् उनले ।

सबैलाई छाडेर आफ्नै संघर्षले बाँच्ने निर्णय गर्दा उनको काखमा दूधे वालक थियो । स्रोत साधनले रित्तो भएकी रेविका साथमा त्यही दूधे वालक लिएर काठमाडौं छिरिन् ।

काठमाडौं छिरेको १२ वर्षपछि रेविकाको बसाई कुनै सम्पन्न मानिसको झैं लाग्छ । ५ कोठाको सुविधासम्पन्न फ्ल्याटमा उनी बस्छिन् छोराका साथमा ।

रेविकाले चिया बनाएर दिइन् र एकैछिनमा उनी पुरुष पोषाकमा देखिइन् । आँखामा गाजल थिएन तर, एउटा आकर्षक गगल्स थियो । ओठमा गुलावी लिपकेयर थियो तर, अरु सबै भेष पुरुषको जस्तै ।

छोरालाई खाना पकाएर खानु भन्दै निस्किइन् उनी स्कुटर लिएर । स्कुटर अफिसमा छोडेर स्टाफ बोक्ने ठूलो गाडी चलाउँदै दिनभरी घुमिरहेकी हुन्छिन् उनी ।

बुबाकी कान्छी श्रीमतीको एक्ली छोरी रहिछन् । चार कक्षासम्म जसो तसो पढिन् । बिहे लगत्तै आमाको निधन भयो र श्रीमानसँग पनि मन मिलेन । ‘श्रीमान असाध्यै खराव पर्यो । कोखमा बच्चा आएकोले तत्काल निस्किन सकिनँ’ विगत सम्झंदै उनले भनिन् । बाँच्ने ठाउँ खोज्न काखको वच्चा छोडेर काठमाडौं आउँदाको मानसिक कष्ट उनले बिर्सन सकेकी छैनन् ।

काठमाडौंमा उनलाई ओत दिने कोही थिएन । यहीँ आएर चिनजान भएकी एकजना महिलासँग उनले दोस्ती गाँसिन् र उनैको साथमा बसिन् । ‘तिनै दिदीले टेम्पो चलाउन सिक भन्नु भयो तर सजिलो रहेनछ’ उनले भनिन् । टेम्पो सिक्न कुनै प्राविधिक कारणले असजिलो भएको भने होइन ।

असजिलो हुनुको कारण उनी महिला हुनु थियो । ‘केटाहरु ओहो क्या च्वाँक ! भन्दै पछि पछि लाग्ने । मलाई असुरक्षित भएँ कि जस्तो लाग्यो अनि छोडिदिएँ’ उनले भनिन् । अनि उनलाई तिनै दिदीले कार कार चलाउन सिक्न सल्लाह दिइन् ।

‘कुनै अफिसको वा घरको कार चलाउन पाइन्छ भनेर कार सिक्न ड्राइभिङ सिक्न स्कुल गएँ । त्यहाँ कार र टेम्पो दुबैको लाइसन्स लिएँ’ आफ्नो ड्राइभर जिन्दगीबारे यसरी वताइन् उनले ।

यसबेलासम्म उनले छोरालाई काठमाडौ ल्याएर किष्ट लर्ड स्कुलमा नर्सरीमा भर्ना गरेकी थिइन् । उनी भिने कार चलाउन सिके पनि एउटा चर्चमा काम गर्थिन् र त्यसैले गुजारा गर्थिन् ।

छोरो ठूलो हुदै थियो । छोराका लागि पनि धेरै कुरा गर्नुपर्ने थियो । उनका हातमा लाइसन्स त थियो तर त्यो बेला केटी मान्छेलाई गाडी चलाउन कसैले बिश्वास गर्दैनथे ।

तर, आशाको त्यान्द्रो पलायो उनको पेशामा, बटुक भैरव ग्यारेजको साहुले उनलाई टेम्पो चलाउन दिए । ‘उहँको गुन कहिलै बिर्सन्न, बटुक भैरव ग्यारेजको साहले उहाँको टेम्पो चलाउन दिनुभयो, टेम्पो मात्रै होइन त्यसैको कामइले जीवन कुदाउने बाध्यता थियो मलाई’ उनले भनिन् ।

त्यो बेला टेम्पो लगनखेल बाट नख्खु दोबाटो हँुदै रत्नपार्क जान्थ्यो । एक पटक पुगेर आउदा एक घन्टा लाग्थ्यो । स्कुल नभएको बेला उनी छोरालाई कोठामा थुनेर जान्थिन् ।

‘कोठामा छोरालाई छोडेर राती नै हिंड्थे म, एक राउण्ड टेम्पो घुमाएर बसपार्क आएपछि गाडी लाइनमा राखेर दगुर्दै छोरो हेर्न जान्थँे’ उनले ती दिनका दुःख सम्झिइन्, ‘भित्र पसेर केहीबेर छोरालाई सुम्सुम्याउथेँ, छातीमा टास्थेँ ।

कहिले म पुग्दा निदाइराखेको हुन्थ्यो । उ नबिउझिने गरी बिस्तारै गालामा म्वाई खान्थेँ छेवैमा खानेकुरा राखिदिएर टेम्पो चलाउन फर्किन्थेँ ।’

उनी हरेक दिन छोराको लागि राती नै खाना बनाइदिएर हिडथिन् । छोरा कतिसम्म ज्ञानी थियो भने आमाले खाना ठिक्क पार्न नभ्याए मुडा राखेर खाना निकालेर खाएर खान्थ्यो र ढोकामा चाबी लगाएर स्कूल जान निस्कन्थ्यो ।

छोराको कक्षाका अरुले अभिभावकको औंला समाउँदै स्कूल आएको देख्दा र आफ्नो छोरा यस्तो दुःखका साथ पढ्न गएको देख्दा रेविकाको मुटु फुट्लाजस्तो हुन्थ्यो । तर छोरा सधैं कक्षामा प्रथम भयो ।

‘निस्कंदा मनमनै भन्थेँ– ‘छोरा मलाई माफ गर ! मैले तिमीलाई न दूध खुवाउन पाएँ, स्कूल नै पुर्याएँ । म एक्लै कति रुँन्थेँ कति’ यति भन्दा अहिले पनि रोइन् रेविका ।

भर्खरसम्म कठोर हावभावकी लाग्ने कठोर रेविका आफ्नो निरिह मातृत्वको बेदनाले फतक्कै गलिरहेकी थिइन् । कुरा गर्दा गुडिरहेको गाडीमा अचानक ब्रेक लगाइन् । आँखाको गगल्स हटाएर सेतो रुमालले आँशु पुछिन् । अनि फेरि गाडी हाँक्न थालिन् ।

त्यसबीचमा उनको छोरा विरामी पर्यो । त्यसबीचमा बीचमा उनले टेम्पो चलाउन छोडिन् । केटी मान्छे भनेपछि केटा ड्राइभरहरुले अतिनै हेप्ने कति राम्री भन्ने, छुन आउने । उनलाई सहिनसक्नु भयो । बाध्यतावस दुई बर्ष टेम्पो चलाइन् । त्यस पछि भाइराजा भन्ने एकजना थिए ।

भाइराजा मार्फत उनले छोटो दूरीमा माइक्रोबस चलाउन थालिन् । माइक्रोबस चलाएपछि त्यसबाट आएको हिम्मतले बाघभैरव टाभल्सको सानो गाडी उनले नौ महिना चलाइन् । अनि उनले मिनिबससम्मको लाइसेन्स निकालिन् । पहिलो दिन नै उनी गाडी लिएर मनकामना गइन् ।

त्यसपछि काठमाडौंमा साझा बस आयो । साझा बसको चालकमा उनी छनौटमा परिन् । त्यही बीचमा उनले इसिमोडमा इन्टरभ्यु पनि दिएकी थिइन्, त्यहाँ पास भइन् । उनी हप्तामा पाँच दिन इसिमोडको ठूलो गाडी चलाउँथिन् बाँकी दुई दिन साझा चलाउँथिन् । ‘यो मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धी थियो ।

दुबैतिर काम गर्न अति नै गाह्रो थियो, तर मैले गर्नै पर्ने थियो’ रेविकाले भनिन् । तर, उनलाई साझा बस हाँक्दा अतिनै खुसी लाग्थ्यो । महिलाले ठूलो गाडी हाँकेको देखेर होला स्कूलका बिधार्थीहरु गाडीबाट टाउको निकाली निकाली हेर्दै वाहुँ आन्टी वेलडन भन्न थाले ।

‘एक पटक पुरानो बर्सपार्कमा गाडी बिसाएर गाडीमै बसेकी थिएँ । एकजना पञ्जाबीले स्कोडा गाडी पार्क गरेर आए, अनि मलाई नमस्कार गरे मैले पनि यताउता हेरेर नमस्कार फर्काएँ’ उनले पुराना दिन सम्झंदै भनिन्, ‘उनले बहन जी, आपजैसा कोही नहीं ।

आप एक पटक हमारा देश चलो ना । उहाँ के लोग आपको फूलमाला से सम्मान करेंगे ।’ उनलाई केही जवाफ फर्काउन आएन । थ्याक्यु मात्र भनिन् उनी नमस्कार गर्दै गए ।

यस्ता धेरै घटना छन् जसले उनलाई कठोर काम गरिरहन प्रेरण दिइरहन्छन् । साझा बस हाँक्दा घरबाट निस्केर नफर्किंदासम्म सबैको वाहा वाहा मात्र सुन्न पाउँथिन् ।

संवादकैवीच उनी गाडी रोकेर ओर्लिइन् । अनि बाहिर निस्केर गाडी धोइन् र फेरि त्यही बडेमानको गाडी लिएर हिडिन् त्यस कम्पनिमा काम गर्ने कर्मचारीहरु लिन ।

त्यसबेला अफिस टाइम भइसकेको थियो । उनको गाडीमा चालक सिटको छेउमै बसेर लगनखेल बसपार्क, रत्नपार्क, दरबारमार्ग, नारायण गोपालचोक, कोटेश्वर घुमेँ । उनले अफिसमा लगेर गाडी हुलिन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: