Todays Nepal
No1 Nepal's Complete News Sites

जापानमा फेसबुक मार्फत हुनसक्ने ठगीबाट कसरी जोगिने ?

227

तिन महिना अगाडीको कुरा हो, एकजना मेरै चिनजानकै दाजु जो जापानमै हुनुहुन्छ वहाँ फेसबुककै माध्यमबाट केही रकम ठगीमा पर्नुभयो । जापानमा फेसबुकमार्फत विभिन्न किसिमका सामान बेच्नेहरु निकै सक्रिय छन्, वहाँ दाजु पनि उनीहरुकै चंगुलमा पर्नुभएछ । भएछ के भने, एकजना बिदेशी केटीको फोटो भएको फेसबुक आइडिबाट फ्रेन्ड रिक्वेष्ट आएछ, एसेप्ट गरेसंगै म्यासेज पनि आएछ, केही समय कुरा गर्दा उनले आँफु एउटा हेल्थ स्पेसलिष्ट रहेको र हेल्थ केयर सम्बन्धी सामानहरु बेच्ने बताइछन् र दाजुका लागि आँफुसंग कपाल उमार्ने गज्जबको औषधी रहेको बताइछन् (सायद उनले दाइले फेसबुकमा राखेका फोटो हेरिछन्, दाई हल्का तालुखुइले हुनुहुन्छ ), दाइलाई कुरा ठिकै लागेछ, १ हजार प्रति प्याकेटका दरले २ वटा प्याकेट पठाइदिन भनेर दाइबिकी (घरमै सामान आउँदा तिर्न मिल्नेगरि) पठाउने सहमती भएछ । दाईले आफ्नो ठेगाना र मोवाइल नंबर पनि दिनुभएछ । तेस्रो दिन घरमा सामान आएछ तर १ मानको बिल सहित, दाई काममा, भाउजुले सामान बुझ्नु भएछ १ मान नै तिरेर ।  अनि सामान पनि २ प्याक स्याम्पु जस्तो पठाईएको रहेछ ।

पछि किन यस्तो गरेको भनेर म्यासेज गर्दा गल्तीबस बिल धेरैको पठाएको र बाँकी पैसाको पनि फेरि सामान पठाइदिने भनिछन्, दाईले सामान पठाइदिन नपर्ने पैसा फिर्ता गरे हुने बताएपछि, ‘केही दिन प्रयोग गरेर हेर्नु राम्रो लागे सामान माग्नु नत्र पैसा दिउँला’ भनिछन्, दाई मान्नुभएछ । त्यसपछि न ति बहिनी फेसबुकमा भेटिइन, न उनको सामान आयो न त पैसा नै फिर्ता भयो, दाई सिधै ‘मुर्गा’ बन्नुभयो । कम्प्लेन गर्न जाउँ एक मानका लागि एक दिनको काम छाडेर कता जानु, भैगो भनेर छाडिदिएछन् ।

यो एउटा प्रतिनिधी घटना मात्र हो, आजकल फेसबुकको माध्यमबाट यसरी नपत्याउँदो तरिकाले ठगी भइरहेको छ जापानमा पनि । यस्ता ‘अनलाइन ठग’हरुको तार्गेट बन्नेगरेका छन् भर्खर फेसबुक चलाउन सिक्दै गरेका नेपालीहरु । केही बर्ष अघिसम्म फेसबुकमा चिनजान गर्ने र भिडियो च्याट गर्न स्काइपमा बोलाउने, पछि त्यही भिडियो लाई मनिपुलेट गरेर अश्लिल कुराकानी गरेजस्तो बनाएर पैसा एकाउन्टमा नराखिदिए भिडियो आउट गरिदिने धम्कीहरु आउँथे, यसबाट पनि जापानमा रहेका र समाजमा राम्रै नाम चलेका एक दुईजना ठगीएको हल्ला चलेको थियो । आजकल भने फेसबुकमार्फत हुने ठगीको रुप केही फेरिएको छ । पछिल्लो समय चलेको ठगी ट्रेण्ड चाही छोटा कपडा लगाएकी कुनै एकजना जापानी वा चाइनिज सुन्दरीको फोटो राखिएको आइडिबाट रिक्वेष्ट आउँनु हो ।  प्रोफाइल हेर्दा फोटोसंगै ‘それは出てくるのに時間がかかりません…..今すぐ参加する、時間と場所を指定する’ वा यस्तै केही लेखिएको गुगल सर्ट युआरएल हुन्छ त्यसमा क्लिक गरियो भने एउटा पोर्न डेटिङ साइटमा पुगिन्छ, जहाँ तपाइलाई ‘बाँकी सबथोक’ हेर्नका लागि रजिस्टर गर्न भनिन्छ र रजिष्टर गर्नका लागि क्रेडिट कार्ड समेत मागिन्छ । कतिपयले चाही म्यासेज नै गरेर सो वेवसाइटमा एकाउन्ट बनाउन अनुरोध समेत गर्ने रहेछन् । त्यो वेवसाइटमा तपाईले आफ्नो सबै विवरण का साथमा क्रेडिट कार्डको जानकारी समेत राख्नुभयो भने तपाई पक्कै पनि ठगीइनुहुनेछ । यस्ता कामहरु ‘साइबर फ्रड’हरुले आफ्नो व्यक्तिगत स्वार्थ पुर्ति र पैसा कमाउने उद्देश्यले गरिरहेका हुन्छन् ।

कसरी जोगिने त फेसबुकमार्फत हुनसक्ने ठगीबाट ?

✓ नचिनेका व्यक्तिहरुको रिक्वेष्ट हत्तपत्त स्वीकार नगर्नुहोस्, एकपटक प्रोफाइल खोलेर हेर्नुभयो भने उसले राखेका फोटो, गर्ने अपडेटहरुबाट नै फेक आइडी हो भन्ने छुट्टाउन सकिन्छ ।

✓ अपरिचित व्यक्तिले पठाएका म्यासेजहरुमा सोझै विश्वास नगर्नुस्, जानकारीको विश्वसनियताका लागि गुगलमा खोज्न, सो सम्बन्धी रिभ्युहरु हेर्न र आफ्ना साथीहरुलाई सोध्न सकिन्छ ।

✓ फेसबुक म्यासेजमार्फत सामान खरिदबिक्री नगर्नुहोस्, आँफुलाई आवश्यक सामान अनलाइन नै किन्नुपरे पनि विश्वासिलो र नाम चलेको अनलाइन स्टोरबाट किन्ने गर्नुहोस् ।

✓ धेरै घटना बाहिर त आउँदैनन् तर नेपालीहरु ठगीेने गरेको फेसबुकमा आउने विभिन्न किसिमका कामका सूचनाहरुमा पनि हो । फेसबुकमा चिनजान भएकै भरमा काम लगाइदिने भन्दै कसैले पैसा माग्छ भने पनि विश्वास नगर्नुहोस् । कामदार व्यवस्था गर्न अनुमति पाएका कम्पनीहरु भन्दा बाहिरका व्यक्तिले काम लगाइदिएबापत आर्थिक लेनदेन गर्नु जापानमा गैरकानुनी हो । काम खोज्दा नजिकका साथीभाई वा विश्वासिलो कम्पनीमार्फत खोज्नु राम्रो हुन्छ ।
नचिनेका आइडिहरुबाट अत्याधिक रिक्वेष्ट आइरहेमा के गर्ने ? ✓ तपाईले नचिनेका र तपाईसंग सम्बन्ध नै नभएका प्रकृतिका फेक आइडिहरुबाट रिक्वेष्ट आइरहेको छ भने त्यस्ता रिक्वेष्टहरु अस्वीकार गर्नु नै राम्रो हुन्छ । तपाइलाई आएको रिक्वेष्ट फेक हो र त्यो आइडी बन्द होस् भन्ने चाहानुहुन्छ भने Delete Request मा क्लिक गरी Mark As Spam मा क्लिक गरिदिनुस्, धेरै जनाले स्पाम मार्क गरिदिंदा त्यस्ता आइडिहरुलाई फेसबुकले स्वतः बन्द गरिदिन्छ ।

✓ आफ्नो फेसबुकको एकाउन्ट सेटिङमा जानुहोस् त्यहाँ रहेको Privacy मा क्लिक गरि Who can send you friend requests? मा Everyone छ भने त्यसलाई Friends of Friend बनाउनुहोस् । यसो गर्दा तपाईको कुनै एक साथीसंग साथी नभएका व्यक्तिले तपाईलाई साथी बनाउन पाउँदैनन । त्यसैगरि Who can look you up using the email address you provided? मा Friends,Who canlook you up using the phone number you provided? मा Friends र Do you want search engines outside of Facebook to link to your Profile? मा No गर्नु उचित हुन्छ । 

✓ आफुलाई उचित नलागेका प्रोफाइल तथा पेजहरु ब्लक गरेमा पनि अनावश्यक सूचना तपाईसम्म आइपुग्दैनन् ।

✓ कुनै व्यक्ति, समूह वा पेजले ठगी गर्ने उद्देश्यले जानकारीहरु दिइरहेको छ, अनावश्यक म्यासेजहरु आइरहेका छन् भने फेसबुकको यो लिंकमागएर त्यहाँ भनिएअनुसार रिपोर्ट गर्न सकिन्छ ।

✓ यदी कोही कसैबाट ठगीमा पर्नुभयो भने अविलम्ब भएका सबै प्रमाणहरु सहित नजिकैको प्रहरी चौकीमा रिपोर्ट गरिहाल्नुहोला ।

मोवाइल वा इमेलमा म्यासेज गरेर यति करोडको चिठ्ठा पर्यो, लिनका लागि सुरुमा यति पैसा लाग्छ भनेर ठग्न खोज्ने, फोन नै गरेर यति बिल तिर्नु छ तिर भनेर ठग्न खोज्ने, आफन्तको जस्तो स्वर बनाएर समस्यामा परेकाले विशेषगरि बुढा बुढिहरुलाई आफ्नो खातामा पैसा हाल्न लगाउने जस्ता तरिकाले ठगी भैरहेको समाचारहरु जापानी संचारमाध्यमहरुमा पनि निकै आउँछन् । अनलाइन ठगी अहिले सबै विश्वभरमै टाउको दुखाईको विषय बनेको छ यस्ता किसिमका ठगीहरुमा जापानमा रहेका तपाई हामी नेपालीहरु पनि तार्गेट बनिरहेका हुनसक्छौं, त्यसैले बेलैमा सचेत हुनु आवश्यक छ ।

तपाईसंग पनि त्यस्ता कुनै अनुभव छन् कि ? तलको कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ । यो जानकारी उपयोगी लागेमा सेयर गरेर सबै साथीहरुमाझ पुर्याइदिनुहोला है ।

स्रोत : नेपारू

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: