Todays Nepal
No1 Nepal's Complete News Sites

राजधानीका यी स्थानमा छन् खुलेआम यौन र जुवा अखडा, प्रहरी नै सञ्चालकको संरक्षक

7,738

मिनी क्यासिनोमात्रै होइन क्यासिनोका रूपमा नै उपत्यकामा ठूला जुवा अखडाहरू सञ्चालन भइरहेका तथ्य उजागर हुँदासमेत प्रहरीले त्यस्ता जुवा अखडाहरू नियन्त्रण गर्नुको साटो अखडा सञ्चालकहरूसँग नै उनीहरूको मिलिभगत हुने गरेको तथ्य उजागर हुन पुगेको छ । सीतापाइला क्षेत्रमा सोम लामा र रोशन लामाले क्यासिनोको रूपमा नै ठूलो कौडा अखडा सञ्चालन गरिरहेको तथ्य बारम्बार सार्वजनिक भइरहँदा प्रहरीले नियन्त्रण गर्नुको साटो उनीहरूबाट मोटो रकम लिएर संरक्षण गरेको तथ्य बाहिर आएको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भू र मेट्रोबाट सञ्चालित सिभिल प्रहरीहरूको संरक्षणमा उनीहरूले झण्डै दुई महिनादेखि सीतापाइला क्षेत्रमा खुलमखुला र पेशेवररूपमा जुवा अखडा सञ्चालन गरेको तथ्य उजागर भएको हो । यसअघि यो समूहले यस्तै जुवा अखडा सातदोबाटो क्षेत्रमा प्रहरीकै संरक्षणमा सञ्चालन गर्दै आइरहेको थियो ।

समूहका केही सदस्यबीच विवाद भएपछि प्रहरीले छापा मार्ने डरले उनीहरूले सीतापाइलालाई आफ्नो संरक्षित क्षेत्र बनाउँदै आफ्नो जुवा सञ्चालन गर्दै आइरहेका छन् । वृत्त र मेट्रोका घुमुवामार्फत् मासिक एक–एक लाख रूपैयाँ दिने गरी प्रहरी सेटिङ मिलाइएको समेत खुल्न आएको छ । जुवा अखडाका रूपमा सबैभन्दा संरक्षित र चर्चित क्षेत्र हो नख्खीपोट, भैँसेपाटी र सातदोबाटो क्षेत्र । यहाँका जुवा अखडाहरूमा प्रहरीले पूर्णरूपमा संरक्षण दिएका कारण करोडौँको जुवा हुँदासमेत खेलाउनेहरूदेखि खेल्नेसम्म कोही पक्राउ पर्दैनन् बरु प्रहरीका कार्यालय प्रमुखहरू त्यस्तो छ र रु भनी प्रतिप्रश्न पो गर्छन् सञ्चारकर्मीहरूसँग । यसबाहेक ललितपुरका ग्वार्को, हात्तीवनलगायत क्षेत्रमा सञ्चालित होटेल तथा गेस्टहाउसमा युवती राखेरै खुलेआम यौनधन्दा र जुवा हुने गरेको छ । यी सबै कुराको जानकार रहेको सातदोबाटो प्रहरीका प्रमुखले नै यस्ता धन्दालाई संरक्षण गर्दै आएको खुलेको छ । ग्वार्को, इमाडोल, लुभु, गोदावरी, धापाखेल, एकान्तकुना, नख्खीपोट, खुमलटारलगायतका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सम्हाल्दै आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुखले नै यस्ता गैरकानुनी गतिविधिको संरक्षण गर्दै आएको आरोप मेट्रोदेखि प्रहरी मुख्यालयसम्म पुगेको छ । वृत्तका प्रमुख छन् डिएसपी विनोद सिलवाल । ललितपुरको हात्तीवनमा रहेको टायलघर रिसोर्ट आफैँले युवती राखेर यौनधन्दा सञ्चालन गर्दै आएको छ ।

प्रहरीले यो रिसोर्टबाट मासिक २५ हजार रूपैयाँ बुझ्ने गरेको सोही रिसोर्टका कर्मचारी नै बताउँछन् । हात्तीवनकै हात्तीवन रिसोर्टले यस्तै व्यवसाय गरेवापत प्रहरीलाई मासिक १५ हजार बुझाउँछ । यस्ता अखडाहरूबाट रकम बुझ्नका लागि डिएसपी सिलवालले पैसा उठाउनका लागि घुमुवाका रूपमा परिचालन गरेका हवल्दार दिपक पोखरेल पुग्ने गर्छन् । ललितपुरमा यौन अड्डा सञ्चालन हुने अर्को ठाउँ हो– चापागाउँ जाने दोबाटोमा रहेको नमस्ते रेस्टुरेन्ट । रेस्टुरेन्टभित्र प्लाइउडले बारेर बनाइएको एक कोठा छ । सोही बन्द कोठाभित्र यौनधन्दा हुन्छ । स्थानीयहरूले त्यहाँ यौनधन्दा हुने गरेको जानकारी पटक पटक प्रहरीलाई गराउँदा समेत प्रहरीले पक्राउ गर्नु त परैजाओस् सूचनाका विषयमा कुनै निगरानी नगरेपछि प्रहरी संरक्षणमा उक्त धन्दा भइरहेको स्थानीयको आरोप छ । त्यस होटलबाट समेत प्रहरीले मोटो रकम बुझ्ने गरेको पक्राउ नगर्नुले पुष्टि गर्दछ । सातदोबाटो चोकको एप्पल रेस्टुरेन्ट, महालक्ष्मीस्थानको दरबार दोहरी, थसीखेलको तीनपाने दोहरीमा पनि यौनधन्दा हुने गरेको आरोप स्थानीयहरूको छ । यी रेस्टुरेन्टहरूबाट समेत प्रहरीले मासिक रूपमा १० देखि १५ हजार बुझ्ने गरेको वृत्तका एक सईले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

नख्खु खोलामा रहेको सिलौटी रिसोर्टबाट समेत प्रहरीले यस्तै धन्दा गरेवापत पैसा बुझ्ने गरेको छ । ग्वार्कोका धेरै होटलहरूमा खुलेआम यौनधन्दा हुने गरेको जानकारी पाएर पनि प्रहरीले कहिल्यै छापा मार्दैन । ती होटलहरूले सिलवालका घुमुवा पोखरेललाई मासिकरूपमा रकम बुझाउने गरेकै कारण प्रहरीले छापा नमारेको स्थानीय एक रेष्टुरेन्ट व्यवसायीले जानकारी दिए । ग्वार्को क्षेत्रका होटलहरूबाट एकमुष्ट रकम उठाई दिने जिम्मेवारी स्थानीय जीवन महर्जनले लिएका छन् । उनले मासिक ६० हजार रूपैयाँ सातदोबाटो वृत्तका हवल्दार पोखरेललाई बुझाउने गरेको तथ्य स्थानीय एक होटल व्यवसायीले नै बताए । प्रहरी हवल्दार पोखरेलले नख्खीपोट क्षेत्रका सेकुवा पसलदेखि पुल हाउससम्मबाट समेत मासिक हप्ता उठाउँछन् । डिएसपी सिलवालका घुमुवा हवल्दार पोखरेल जग्गा दलालीको धन्दासमेत गर्दछन् । उनी भीम लामा नाम गरेका एक व्यक्तिसँग मिलेर जग्गा दलाली गर्ने गरेको यस क्षेत्रका सबैलाई जानकारी छ । सातदोबाटो क्षेत्रमा प्रहरीकै संरक्षणमा वृत्त नजिकै सिंचाहिटी धाराको आगाडी श्याम श्रेष्ठको जुवा अखडा सञ्चालित छ । उनको पेशा नै जुवा खेलाउने हो । उनले प्रहरीलाई मासिक ५० हजार रूपैयाँ बुझाउँछन् ।

धापाखेलको सुमेरु हस्पिटल नजिकै रातो घरमा रजिना तिमल्सेनाले त्यस्तै जुवा अखडा सञ्चालन गर्छिन् । सातदोबाटो क्षेत्रमा लिम्बु नाम गरेकी महिलाले सञ्चालन गर्दै आएको अर्को ठूलो जुवा अखडा सञ्चालन गर्दै आइरहेकी छिन् । उनलाई नेपाली सेनाका एक जर्नेल तहका उच्च अधिकृतको संरक्षण रहेको समेत खुल्न आएको छ । यी जुवा अखडाहरूबाट समेत रकम उठाउने काम डिएसपी सिलवालका घुमुवा हवल्दार पोखरेलले गर्दछन् । तर, सातदोबाटो वृत्तका डिएसपी विनोद सिलवाल भने यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताउँदै आफ्नो लाचारीपनमात्रै देखाउँदैनन् कि यसबारेमा आफूले बुझ्ने बताउँदै पन्छिछन् । ललितपुर परिसरका एसएसपी गणेश ऐरलाई समेत यी जुवा अखडाहरूका बारेमा जानकारी नभएको होइन । सूचना दिँदासमेत उनले कुनै नियन्त्रणको प्रयास नगरेबाट उठाएको रकमको कमिसनको एसएसपीकहाँ पुग्ने गरेको आरोपसमेत लाग्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: