Todays Nepal
No1 Nepal's Complete News Sites

यो सरकारले दुनियाँ हँसायोः कानुनविद्

4,775

केही कानुनविद्हरूको तर्क छ- निर्वाचन सकिएलगत्तै नयाँ सरकार गठन प्रकृया सुरू हुन्छ, वर्तमान सरकार अवरोधक बनेर दुनियाँ हँसाएको छ ।

नयाँ सरकार गठन प्रक्रियालाई संविधानको धाराको व्याख्या गरेर रोक्न नमिल्ने तर्क उनीहरूको छ ।

संवैधानिक तथा न्यायिक पत्रकार मंचले बिहीबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले निर्वाचनपछि नयाँ सरकार गठन प्रक्रिया रोक्न नमिल्ने दावी गरे । उनले संविधानको धाराको व्याख्या गरेर निर्वाचित जनप्रतिनिधिलाई सरकार हस्तान्तरण गर्न रोक्ने काम संसारमा कहीँ पनि नभएको स्मरण समेत गराए । उनले सरकारलाई दुनियाँ हँसाउने काम नगर्न सुझाव दिए ।

नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष थापाले निर्वाचन सकिएकाले जनताको म्यान्डेट अनुसार सरकार गठन गर्न बाटो छाडिदिन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरे ।

पूर्वमहान्यायाधिवक्ता हरि फुयाँलले पनि निर्वाचन लगत्तै प्रतिनिधिसभाको कार्यकाल सुरु भइसकेको उल्लेख गर्दै सरकार गठन प्रक्रिया अघि बढाउन संवैधानिक अड्चन नरहेको दावी गरे । उनले निर्वाचन आयोगले महिलाको ३३ प्रतिशत पुर्याउनुपर्ने संवैधानिक बाध्यता कारण देखाउँदै प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा सार्वजनिक नगरेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

संवैधानिक व्यवस्था अनुसार समानुपातिकतर्फको सिट संख्या बाँडफाँडको लिष्ट तयार पारेपछि निर्वाचन आयोगले सोही विवरण राष्ट्रपतिलाई बुझाउन मिल्ने व्यवस्था संविधानको धारा ६२ रहेको पनि पूर्व महान्यायाधिवक्ता फुयाँलको दावी छ ।

फुयाँलले निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न केही अडचन भए दलीय सहमति खोज्न सक्ने कानुनी व्यवस्था रहेको पनि स्मरण गराए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: