Todays Nepal
No1 Nepal's Complete News Sites

होसियार हुनुहोस् ! पैसाको लागि डाक्टरले नै मानिसलाई रोगी बनाइरहेका छन : डा. मनबहादुर

8,858

हाम्रो मुटु कुनै स्वचालित यन्त्र झैं हरक्षण चलीरहेको हुन्छ, जसलाई हामी ढुकढुकी या धड्कन भन्छौं । मुटुको यही सन्तुलित चालकै कारण शरीरका हरेक कोषसम्म रगतसँगै अक्सिजन र ग्लुकोज प्रवाह हुन्छ र हाम्रो जीवन चल्छ ।

कहिलेकाँही मुटुको यही चालमा गडबडी उत्पन्न हुन्छ । मुटुको चालमा गडबडी भएमा राम्रोसँग विद्युतीय तरंग उत्पादन गर्न सक्दैन, जसले गर्दा मुटु छिटो चल्छ या कहिलेकाँही ढिलो चल्छ । मुटुको चालमा असन्तुलन आएपछि हामीलाई मुटु रोग लाग्न थाल्छ र शरीरमा विभिन्न किसिमका समस्या उत्पन्न हुन थाल्छन् ।

मुटुको चालमा समस्या आएको कसरी थाहा पाउने त ? यो प्रश्नको हल छ, शहीद गंगालाल हृदय रोग केन्द्रमा । त्यहाँ डा. मनबहादुर केसी नेतृत्वको टिमले तपाईंको मुटुको चाल सामान्य/असामान्य के छ ठयाक्कै पत्ता लगाउने छन् । र, नेपालमा मुटुको चाल गडबडीसम्बन्धी उपचारको सुरुवात गर्ने पहिलो चिकित्सक पनि पनि डा. मनबहादुर नै हुन् ।

नेपालमा मुटुको चाल गडबडीबारे यकिन तथ्यांक छैन । यद्यपि, गंगालालमा दैनिक ७५ देखि ८० जना विरामीको मुटुको चालमा गडबडी सम्बन्धी उपचार गरिन्छ । यो समस्यालाई ‘इलेक्ट्रोफिजियोलोजी’ भनिन्छ । मुटु रोगमध्येको प्रमुख रोग भइकन पनि यो पूर्णतया निको हुने रोगमध्येमा पर्दछ ।

नेपालमा इलेक्ट्रोफिजियोलोजी सम्बन्धी उपचारको सुरुआत गर्ने पहिलो चिकित्सक भएर पनि डा. मनबहादुरमा त्यो घमण्ड पटक्कै देखिँदैन । उनी जति सरल छन्, त्यति नै सहज पनि छन् । अनि आफ्नो काममा त्यति नै समर्पित पनि । यही कारण मुटु रोगको क्षेत्रमा डा. मनबहादुर एक विश्वसनीय नाम हो । त्यसैले उनी पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइरालादेखि प्रहरीका उच्च अधिकारीहरुको समेत रोजाइमा परे । पूर्वप्रधानमन्त्री कोइरालाद्वयको निजी चिकित्सकको रुपमा उनले काम गरे ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको पालामा डा. मनबहादुर केसीको नेतृत्वमै गंगालालमा इलेक्ट्रोफिजियोलोजी सम्बन्धी उपचार सुरु भएको थियो । त्यसबेला नेपालमा मुटु रोग सम्बन्धी डी.एम. गर्ने पहिलो व्यक्ति डा. एन. के. श्रेष्ठ पनि सोही अस्पतालमा स्वयंसेवीका रुपमा कार्यरत थिए । डा. श्रेष्ठकै प्रेरणा तथा सहयोगमा डा. केसीले इलेक्ट्रोफिजियोलोजी सम्बन्धी ‘सुपरस्पेशियालिटी’ सेवा सुरु गरेका हुन् ।

प्रारम्भिक कालमा डा. केसी एक्लैको प्रयासले मात्र सेवा सुरु गर्न सम्भव थिएन । त्यसको लागि उनलाई आफ्नो कामप्रति समर्पित, इमान्दार, आचारसंहिताको पालना गर्ने, सज्जन तथा सजिलो डाक्टरको खाँचो थियो । यही मेसोमा उनको भेट भयो, डा. सुजिव राजभण्डारीसँग । डा. सुजिवमात्र उनका लागि पर्याप्त थिएनन् । डा. केसीले आफ्नो टिममा अर्का एक चिकित्सकलाई आवद्ध गरे, जसको नाम थियो, डा. रोशन राउत । उनकै टिमले अहिले गंगालालमा मुटुको चाल गडबडी सम्बन्धी सफल उपचार गर्दै आएको छ ।

खेत बेचेर पढाइ

वि.सं २०२३ सालमा बागलुङको दुर्गम सल्यामको बर्‍याङ्ग गाउँपालिका-३ मा जन्मिएका डा. मनबहादुर केसी किसानका छोरा हुन् । सात कक्षासम्मको पढाइ गाउँमै पूरा गरेका केसीले कक्षा आठदेखि एसएलसीसम्म गुल्मीको शान्तिपुरस्थित उदय उच्च माविमा पढे । सो स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्ने पहिलो विद्यार्थी पनि बने उनी ।

बागलुङका अधिकांश युवा ‘लाहुरे’ बन्न विदेशिन्थे । भारतीय सेनामा भर्ती हुनेहरुको ताँती लाग्थ्यो । भर्ती हुनेहरुको आर्थिक स्थिति सबल भएको देखेका मनबहादुरका बुवा ‘छोरो जसरी भएपनि लाहुरे हुनुपर्छ’ भन्थे ।

मनबहादुरको सपना भने विदेशी सेनामा भर्ती भएर लाहुरे बन्ने होइन, उच्च शिक्षा हासिल गरेर देशकै लागि केही गर्ने थियो । अनि बुवालाई भने, ‘म त लाहुरे बन्दिनँ, काठमाडौं गएर कलेज पढछु ।’

लाहुरे बन्न छाडेर छोराले काठमाडौं पढ्न जाने कुरा गरेको बुवालाई मन परेन । घरमा एक किसिमको अन्तरद्वन्द्व सिर्जना भयो । कारण थियो, घरको आर्थिक अवस्था । पढाइमा अब्बल भएकाले आमा चाँहि ‘छोरोलाई जसरी पनि पढाउनु पर्छ’ भन्थिन् । उता, छोरालाई राम्ररी पढाउन स्रोतसाधन कहाँबाट जुटाउने भन्ने ? बुवाको प्रश्न हुन्थ्यो ।

यही रस्साकस्सीबीच मनबहादुरको चाहनालाई आमा, दिदी बहिनी, आफन्त, नातागोता, शिक्षक, शिक्षिकाको समर्थन रह्यो । उनलाई पढाउनुपर्छ भन्ने सबैको मत सामु बुवाको केही जोर चलेन ।

‘थानेश्वर शर्मालगायत आफन्तको हौसलाका कारण पढ्न त पाएँ, तर हामीले पढाइ खर्च जुटाउन एक-डेढ रोपनी खेत बेचेका थियौं,’ मनबहादुर सम्झन्छन् ।

उनले पढाइमा आफूलाई खरो उतारे । काठमाडौं आएर त्रिचन्द्र कलेजमा आईर्एस्सी भर्ना भएका उनले परीक्षामा बोर्ड तेश्रो स्थान ल्याए । त्यसपछि शिक्षा मन्त्रालयको छात्रवृत्ति पाएर चीन पढ्न गएका उनले हुबेईस्थित हुपेई मेडिकल युनिभर्सिटी स्कुल अफ मेडिसिन साइन्स -अहिलेको हुवान् विश्वविद्यालय)बाट इलेक्ट्रोफिजियोलोजी सम्बन्धी विशेष अध्ययन पूरा गरे ।

पचासौं पटक हिरासतमा

चीनमा पढन जाँदा छात्रवृत्ति पाउँदाको प्रसंग पनि कम्ती रोचक छैन । मनबहादुर पढाइमा जति मेहनती थिए, राजनीतिमा पनि उत्तिकै रुचि थियो । राजनीतिमा रुचि भएकै कारण उनले पञ्चायत ढाल्न झण्डा बोक्नेदेखि डण्डा उचाल्नेसम्मको काम गरे । त्यस दौरान ५० औं पटक प्रहरी हिरासतमा पनि बसेको उनी बताउँछन् ।

प्रहरी हिरासतमा हुँदा तीनपुस्ते लेखाउने चलन थियो । तीनपुस्ते लेखाएकै कारण कतै राजनीतिक कारणले शिक्षा मन्त्रालयबाट छात्रवृत्ति नपाइने हो कि भन्ने शंका लागेको थियो । पचासौं पटक हिरासतमा बसेको मान्छेलाई पञ्चायती सरकारले छात्रवृत्ति देला भनेर कल्पना नै गर्न सकिँदैनथ्यो ।

‘हरेकपटक अन्तर्वार्ता दिंदा छात्रवृत्ति पाइँदैन कि भन्ने शंका हुन्थ्यो, तर मैले जतिपटक अन्तवार्ता दिएँ, सबैमा छनोट भएँ । किनभने त्यसबेला छनौट प्रकृया निष्पक्ष थियो,’ उनी भन्छन्, ‘एक प्रतिशतमात्र बढी ल्याउने मानिसलाई कम ल्याउने विद्यार्थीले छनोट प्रक्रियामा उछिन्ने भन्ने कुरै हुँदैनथ्यो ।’

पहिलो तीनपटक छनोटमा पर्दासमेत पारिवारिक तथा भाषागत कठिनाइका कारण रसिया, क्युबालगायतका ठाउँहरु जान नसकेपनि चौथो पटकमा भने थप अध्ययनका लागि उनले चीन जाने निधो गरेका थिए ।

छोडाए गिरिजाबाबुको अम्मल

डा. मनबहादुर गंगालाल अस्पतालमा विभागीय प्रमुख भए । वि.सं ०६३ सालदेखि ०६७ सालसम्म पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निजी फिजिसियन भए । हाई-प्रोफाइल व्यक्तिको फिजिसियन हुनु डा. मनबहादुरका लागि कम चुनौतीपूर्ण थिएन ।

एक त गिरिजाप्रसाद आफैमा हक्की स्वभावका थिए, त्यसमा पनि उनी त्योबेला सबैभन्दा शक्तिशाली नेता थिए । ‘गिरिजाप्रसादसित दोहोरो संवाद गर्ने हिम्मतसमेत जो कसैको हुँदैनथ्यो । यस हिसाबले उनी अन्य चिकित्सकहरुका लागि राम्रो विरामी त थिएनन् । तर मैले भनेका कुरालाई भने उनी नाई पनि भन्दैनथे,’ डा. मनबहादुर भन्छन् ।

आफू फिजिसियन रहँदासम्म पनि गिरिजाप्रसादले धूमपान गर्ने गरेको उनी स्मरण गर्छन् । भन्छन्, ‘त्यसलाई छुटाउन मात्र पनि मलाई झण्डै १५-२० दिन नै लागेको थियो । पछि उहाँले छोड्नु त भयो, कन्भिन्स गराउन केही समय लाग्यो ।’

गुमाएको एउटा अवसर

डा. मनबहादुरलाई गंगालालमा काम गर्दा विदेश जाने अफर नआएको होइन । विदेश जाने मन नभएको पनि होइन तर पारिवारिक कठिनाइकै कारण ति अवसर लत्याउनुपर्‍यो ।

गंगालालमा इलेक्ट्रोफिजियोलोजी सेवा सुरु हुँदा केही विदेशीले पनि सहयोग गरेका थिए । त्यसमध्येका एक थिए, अमेरिकाको लसएन्जलसमा अवस्थित युर्निभर्सिटी अफ साउथ क्यालिफोर्निया सेडाल सेनाई मेडिकल सेन्टरका डाइरेक्टर प्रा.डा. टम पिटर । तिनै पिटरले डा. मनबहादुरलाई आफ्नै घरमा बस्ने गरी फेलोसिपका लागि अफर गरेका थिए । ‘त्यसबेला आफ्नै पारिवारिक कठिनाइका कारण एउटा राम्रो अवसर गुमाएँ भन्ने चाँही सधैं लागिरहन्छ’, उनी भन्छन् ।

यद्यपि, नेपालमै बसेर काम गर्न पाएकोमा भने उनलाई अहिले कुनै पछुतो छैन । बरु सन्तुष्ट छन् । ‘अहिले मलाई असन्तोष भन्ने केही छैन । मैले जुन दिनबाट गंगालालमा काम सुरु गरेको थिएँ, त्योबेला भन्दा अहिले मलाई धेरै राम्रो छ । त्यो बेलाको भन्दा दक्ष जनशक्ति अहिले अस्पतालमा छन्,’ उनी भन्छन् । उनको विश्वासमा यस्ता मानिससमेत गंगालालमा छन् जो अर्को केही वर्षसम्म उनीहरु त्यहाँ निरन्तर बस्छन् । र, त्यस्ता दुई जना उत्तराधिकारी तयार गर्न सफल भएकोमा उनी खुशी पनि देखिन्छन् ।

चिकित्सक नै बनाउँछन्, रोगी

डा. मनबहादुरको अनुभवले भन्छ, विरामीले त्यही चिकित्सक खोज्छन्, जो राम्रो हुनुका साथै इमान्दार पनि छ । ‘राम्रो, इमान्दार र दक्ष चिकित्सक त्यही हो, जो विरामीप्रति जिम्मेवार छन् । विरामीलाई जे समस्या भएको छ त्यही भन्ने गर्छन् । उनीहरु उपचारको नाममा जसले विरामीलाई अस्पतालको सट्टा क्लिनिकमा आउन भन्दैनन् । एउटा उपचार गर्ने नाममा अन्य थुप्रै जाँच गर्न विरामीलाई भन्दैनन्’, उनको मूल्यांकन छ ।

हुँदै नभएको कुरामा पनि ‘तपाईंको शरीरमा यस्तो भएको’ भनेर रिपोर्ट लेखिदिने, सानो समस्या हुँदा पनि विरामीलाई दुई-चार महिनामा बोलाएर विभिन्न जाँचहरु गर्न लगाउने परिपाटी हावी छ । जुन उनलाई पटक्कै मन पर्दैन ।

‘चिकित्सकहरुको यस्तै प्रवृतिका कारण बलियो मुटु भएका मानिसले त्यस्ता कुरामा ध्यान नदिए पनि कमजोर मनस्थिति भएकाहरु भने रोगको चपेटामा पर्ने गरेका छन्,’ डा. मनबहादुर भन्छन् । उनका अनुसार चिकित्सकबाट विरामी बनाइएका यस्ता रोगीहरु पनि छन् जसमा कुनै रोग छैन, विशेषगरी मुटुको हकमा । ‘चिकित्सकबाट रोगी बनाइएकै कारण हामीले दिनमा २-४ जना विरामीको सामना गरिरहनु पर्छ,’ उनी भन्छन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: