Todays Nepal
No1 Nepal's Complete News Sites

राम्रो होला भनेर प्रहरी होस्टेल राखेको छोरो बिग्रेको रहेछ भन्दै गोरेका आमा र बुवाको झर्यो धरधरी आँशु

बुवा भन्छन्, ‘सजाय पनि पाउनु पर्छ र तस्करबाट कमाएको सम्पति पनि सरकारले लानु पर्छ’

8,941

साढे ३३ किलो सुन तस्करीकान्डका ‘मुख्य’ योजनाकार चूडामणि उप्रेती ‘गोरे’, होटल व्यवसायी भुजुङ गुरुङ र गुरुङको साला नाता पर्ने छिरिङ वाङदेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान गर्न भन्दै मोरङ कारागारबाट काठमाडौं झिकाएको छ ।

अकुत सम्पत्ति आर्जन गरेको आशंकामा छानबिनका लागि विभागले सोमबार उनीहरुलाई राजधानी ल्याइ थप अनुसन्धान थालेको हो ।

साढे ३३ किलो सुनकान्ड र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयले बनाएको विशेष अनुसन्धान टोली, प्रहरी र अदालतसमेतको अनुसन्धान र बयान सकाएका तीनैजनालाई सम्पत्ति शुद्धीकरणमा छानबिन गर्न काठमाडौं ल्याइएको हो ।

काठमाडौं ल्याएलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उनीहरुलाई उपस्थित गराइसकिएको छ भने विभागले साढे ३३ किलो सुनकान्डका अरु आरोपी पनि तानिनसक्ने जनाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका विभागका निर्देशक विनोद लामिछानेले आरोपीहरुले अकुत सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएमा त्यस्तो सम्पत्ति जफत हुने पनि बताए ।

सनम शाक्यको हत्या प्रकरण र साढे ३३ किलो सुनकान्डका ‘आरोपीहरुको सम्पत्तिमाथि छानबिन गरी पाऊँ’ भन्ने जाहेरीका आधारमा उनीहरुमाथि अनुसन्धान थालिएको उनले बताए ।

आवश्यक परेका समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपलब्ध गराउने गरी हाल उनीहरुलाई केन्द्रीय कारागार पठाइएको छ ।

गोरेका बुवा–आमा यसो भन्छन् यता, छोरालाई काठमाडौं ल्याएको खबर पाएपछि गोरेका बुवा नेत्रप्रसाद उप्रेती र आमा बिना उप्रेती केन्द्रीय कारागार पुगेका थिए ।

छोरासँगको भेटपछि १९ वर्षसम्म प्रहरी सेवामा रहेका गोरेका बुवा नेत्रप्रसादले छोरा कुलतमा लागेको हो कि भन्ने शंका लागी पटक–पटक सोधपुछ गरेपनि त्यस्तो कर्तुतबारे जानकारी नभएको प्रतिक्रिया दिए ।

उनले गोरे लामो समयदेखि सम्पर्कमा नआएको बताउँदै छोराले कुकर्म गरी कमाएको सम्पत्ति छ भने राज्यले खोसेर लगोस् र गल्ती गरेको भए सजाय भोगोस् भन्ने प्रतिक्रिया दिए ।

आमा बिनाले भने छोरो गत असोजदेखि सम्पर्कविहीन भएको र उसले गर्ने कामकाबारेमा आफूहरुलाई केही जानकारी पनि नभएको भन्दै गल्ती गरेको भए सजाय भोग्नुपर्ने बताइन् ।

गोरेका दुई सन्तानमध्ये ६ महिनाकी छोरीलाई गोरेकी श्रीमतीले लगी बेपत्ता भएको र ६ वर्षका छोरा भने आफूहरुसँगै रहेको पनि उनीहरुले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: