Todays Nepal
No1 Nepal's Complete News Sites

‘प्रिय, डाक्टर साप, तिमी लाख-लाख वर्ष बाँच, कहिल्यै नमर्ने म्याग्नोलिया फूलजस्तै बाँच !

8,764

मन्त्री डा. देवकोटालाई लिएर म बीबीसी रेडियोको मुख्यालय ‘बुसहाउस’ पुग्दा बीबीसी दक्षिण एसिया विभागका प्रमुख संवाददाता जर्ज आर्नी हामीलाई कुरिरहेका रहेछन् । अन्तर्वार्ता सकेपछि करिब दस मिनेटमा मन्त्री बाहिर निस्के । उनको अनुहार रातोरातो थियो । बीबीसीका अनुभवी पत्रकारले देवकोटाजस्ता वाचाल व्यक्तिलाई पनि अप्‍ठ्यारो पारेका थिए ।

चिकित्सक डा. उपेन्द्र देवकोटासँग मेरो त्यस्तो नजिकको बसउठ छैन । तर, उनको परिवारजनसँग हाम्रो न्यानो सम्बन्ध छ । उनका दाजु वाचस्पति देवकोटा प्रखर युवा वामपन्थी नेताका रूपमा अर्धभूमिगत अवस्थामा राजनीति गर्दाको बखत हाम्रो गाउँमा केही समय शिक्षकसमेत रहनुभएको थियो । त्यसबेला उहाँ हाम्रो घरमा बस्नुहुन्थ्यो । त्यसउप्रान्त हाम्रो परिवार र खासगरी मेरो बुबासँग उहाँको अत्यन्तै आत्मीय सम्बन्ध रहिआएको छ ।

मेरो बुबा धेरै वर्षपहिलेदेखि माइग्रेनको कारण टाउको दुख्‍ने समस्याले ग्रस्त हुनुहुन्थ्यो । एकातिरको कन्पारोमा चिरिक्‍क दुख्‍न थालेपछि नसक्ने गरी दुख्‍ने । टनटनी रुमालले टाउको कसेर सुत्‍नुहुन्थ्यो । त्यस्तैमा डा. देवकोटाको अग्रसरतामा बाँसबारीमा न्युरो अस्पताल भर्खर सञ्‍चालनमा आएको थियो । एकदिन बुबालाई लिएर म बाँसबारी पुगेँ । बुबालाई कसैगरी डा. उपेन्द्रसँग नै जँचाउनु थियो । उनको व्यस्तता, बिरामीको भीड । तर, हामीलाई धेरै कुर्नुपरेन । गोरखादेखि आएको, वाचस्पतिसँगको सम्बन्ध भन्‍नासाथ उनको कोठामा छिर्न पाइहालियो । उनले बुबालाई त्यत्तिनै आत्मीयता जनाए, जसरी उनका दाजुले देखाउनुहुन्छ । त्यसै पनि स्नायुसम्बन्धी विशेषज्ञ चिकित्सक, हामीले धेरै नालीबेली विस्तार गर्नै परेन । उनको जादुगरी हात र उनले दर्साएको आत्मीयताले बुबाको माइग्रेन एक कोस टाढा भाग्यो ।

बुबाको माइग्रेन फेरि फर्कंदा उपेन्द्रकोमा लगिदे भन्‍नुहुन्थ्यो । मैले नभ्याउँदा स्कुले छोरा करुणले कतिपटक हजुरबालाई लिएर बाँसबारी पुगेको छ । प्रत्येकपटक जाँदा बुबाप्रति उनको आत्मीयतामा कहीँ कतै कमी आएन । यसरी बाजे पुस्तादेखि नाति पुस्तासम्म आइपुग्दासमेत हाम्रो देवकोटा परिवारसँग त्यत्तिकै हार्दिक सम्बन्ध रहिरह्‍यो, रही नै रहिरहनेछ ।

केही वर्षअघिको घटना हो, मेरी श्रीमतीकी भाइबुहारी नीरु श्रेष्ठ दसैंको टीका थापी माइत दाङबाट काठमाडौं फर्किने क्रममा नवलपुरको दाउन्‍नेमा कार दुर्घटना भएको थियो, त्यसमा सवार सबैजना गम्भीर घाइते भएका थिए । त्यसमा पनि उनी सिकिस्त अवस्थामा भरतपुरबाट हेलिकोप्टरमा काठमाडौं ल्याइएकी थिइन् । डा. उपेन्द्र देवकोटा त्यसबेला नर्भिक अस्पतालमा कार्यरत थिए ।

संयोगवश त्यस दुर्घटनाको भोलिपल्ट सरकारी कामको सिलसिलामा म अमेरिका जाँदै थिएँ । त्यसैले गाडीमा सुटकेससहित म सिधै नर्भिक अस्पताल हानिएँ । बिरामीको होस खुलेको थिएन, उनी असह्य पीडाले छट्पटाइरहेकी थिइन् । उनको हातखुट्टा चारैतिर बाँधेर राखिएको थियो । त्यो दृश्यले म बेचैन भएँ ।

त्यस्तैमा डा. देवकोटा बिरामीको अवस्था बुझ्न आईसीयू वार्डमा पसे । डाक्टर राउन्डमा आउँदा आगन्तुक बाहिरिनुपर्ने अस्पतालको सामान्य नियम नै हो । तर, उनले मलाई त्यसो भनेनन् । बिरामीको अवस्था जाँचेपछि आश्‍वस्त पार्दै भने— ‘यस्तो हेड इन्जुरीको केसमा पहिलो २४ घण्टा क्रिटिकल हुन्छ । त्यो समय टरेपछि आत्तिनु पर्दैन ।’

म पूर्ण रूपमा आश्‍वस्त भएर एयरपोर्टतिर लागेँ । नभन्दै केही दिनको उपचारपछि उनी पूर्ण रूपमा निको भई घर फर्किन् ।

समयको अन्तरालमा डा. देवकोटा स्वास्थ्यमन्त्री पनि भए । त्यसैबेला उनीसँग लन्डनमा भेट्ने साइत जु‍र्‍यो । म त्यतिखेर लन्डनस्थित नेपाली दूतावासमा उपनियोग प्रमुखको रूपमा कार्यरत थिएँ । राजदूत आफ्नो कार्यकाल समाप्‍त गरी नेपाल फर्किएकाले कार्यबाहक जिम्मा पनि आइलागेको थियो । त्यस्तैमा डा. देवकोटा जेनेभामा सम्पन्‍न विश्‍व स्वास्थ्य संगठनको वार्षिक सभामा भाग लिई केही दिनका लागि लन्डन आएका थिए । लन्डनमा पनि उनको व्यस्त तालिका थियो । बेलायतमा विशेषज्ञ अध्ययन हासिल गरेपश्‍चात् केही वर्ष लन्डनमा कामसमेत गरेकाले उनको धेरै चिरपरिचित डाक्टर मित्रहरू हुने नै भए ।

डा. देवकोटा आफ्‍नो क्षेत्रमा दख्खल राख्‍ने एक अनुभवी अब्बल डाक्टर त थिए नै, उनको राजनीतिक चेतना पनि त्यत्तिकै प्रबल थियो । लन्डनको व्यस्त बसाइको बीच पनि उनले बीबीसी रेडियो र बीबीसी टेलिभिजनमा अन्तर्वार्ताको इच्छा व्यक्त गरे । त्यसको पनि कारण रहेछ । त्यतिबेला नेपालमा माओवादी सशस्त्र द्वन्द्वले एक नयाँ मोड लिन लागेको अवस्था थियो । माओवादी र सरकारी पक्षबीच वार्ताको क्रम जारी थियो । संयोगवश एउटै विद्यालयमा सँगै पढेका र एकैसाथ एसएलसी परीक्षा दिएका डा. बाबुराम भट्टराई बिद्रोही पक्षरत थिए, कालान्तरमा वार्ताकारको रूपमा एउटै टेबुलको आमनेसाम‍ने बसेका थिए । एसएलसी परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने डा. भट्टराई माओवादी वार्ताकारमध्ये एक थिए भने परीक्षामा उनलाई नजिकबाट पछ्याएका डा. देवकोटा सरकारी वार्ता टोलीका सदस्य थिए ।

अरू बेला बेलायती सञ्‍चार माध्यममा नेपालको खासै चर्चा हुन्थेन तर, माओवादी सशस्त्र विद्रोहको समयमा बीबीसीलगायत अन्य पत्रपत्रिकामा समेत नेपालमा घटित घटनाबारे चर्चा परिचर्चा हुने गर्दथ्यो । त्यसकारण मलाई बीबीसीसँग अन्तर्वार्ता समय मिलाउन गाह्रो परेन । जब मैले माओवादीसँगको वार्ता टोलीका एक प्रमुख सदस्य हाल लन्डन आएका र उनले बीबीसीलाई अन्तर्वार्ता दिन इच्छुक भएको जानकारी के दिएको थिएँ, उनीहरू अन्तर्वार्ताका लागि तत्काल राजी भइहाले ।

मन्त्री डा. देवकोटालाई लिएर म बीबीसी रेडियोको मुख्यालय ‘बुसहाउस’ पुग्दा बीबीसी दक्षिण एसिया विभागका प्रमुख संवाददाता जर्ज आर्नी हामीलाई कुरिरहेका रहेछन् । एक छिनको सामान्य भलाकुसारीपश्चात् उनी मन्त्री देवकोटालाई लिएर स्टुडियो छिरे । म कफी पिउँदै उनलाई पर्खिरहेँ ।

अन्तर्वार्तापछि करिब दस मिनेटमा मन्त्री बाहिर निस्के । उनको अनुहार रातोरातो थियो । बीबीसीका अनुभवी पत्रकारले देवकोटाजस्ता वाचाल व्यक्तिलाई पनि अप्‍ठ्यारो पारेका थिए । देवकोटाको ‘बडी ल्याङ्ग्वेज’ पढ्दा उनी भनेजस्तो तयारी अवस्थामा नरहेको बुझ्न सकिन्थ्यो ।

तर, दोस्रो दिन बीबीसी टेलिभिजनमा उनको लाइभ प्रस्तुति अर्कै थियो— जहाँ उनको आत्मविश्‍वास र विचारको स्पष्‍टता दुवै झल्कन्थ्यो । टेलिभिजनको विश्‍व सेवाअन्तर्गतको दक्षिण एसिया कार्यक्रमका लागि उनीसँग लिइएको लाइभ–इन्टरभ्यु मैले बीबीसी टेलिभिजनको स्टुडियोबाटै हेरेँ । माओवादी विद्रोहीहरूसँग शान्तिको विकल्प छैन र, राज्यपक्षसँग पनि वार्ताको विकल्प छैन भन्‍ने उनको मान्यता अन्तर्वार्तामा स्पष्‍ट देखिन्थ्यो । अन्तत: त्यही मान्यता कालान्तरमा आएर शाश्वत सिद्ध भयो ।

त्यहीबेला नै अर्का मन्त्री गोरेबहादुर खपांगी जनजातिसम्बन्धी एक कार्यक्रमका लागि लन्डन आएका थिए । मैले दुवै मन्त्रीहरूलाई अनौपचारिक भेटघाटका लागि दूतावासमा निम्त्याएको थिएँ । डा. देवकोटाका बेलायती मित्रहरू र उनको त्यतिखेरको राजनीतिक हैसियतका कारण पनि दूतावासमा आयोजित कार्यक्रममा निम्तालुको बाक्लो उपस्थिति थियो । छुस्स बोकेदाह्री पालेका मन्त्री खपांगी अलि अन्तर्मुखी स्वभावका थिए भने डा. देवकोटाचाहिँ धेरैजनाबाट घेरिएका हुन्थे । अपरेसन थिएटरमा होस् वा राजनीतिक परिवृत्तमा— डा. देवकोटाले आफ्‍नो छुट्टै पहिचान बनाएका थिए ।

राजनीतिमा डा. देवकोटाको एक्‍कासि प्रवेश धेरैलाई जँचेको थिएन, मलाई पनि त्यस्तै महसुस हुन्थ्यो । दूतावासको कार्यक्रम सकिएपछि मलाई खुल्दुली लागेको प्रश्‍न सिधै उनको अगाडि राखेँ, जुन प्रश्‍न सोध्ने छुट पारिवारिक सम्बन्धका कारणले पनि थियो ।

सोधेँ, ‘डाक्टर साप, यो राजनीतिको भुङ्ग्रोले तपाईंको विशेषज्ञ करियरमा कहीँ कतै प्रभाव त पार्दैन ?’

तर, उनको धारणा स्पष्ट थियो । जवाफ सटीक र चाखलाग्दो थियो । भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने हो भने त्यसको थालनी वीर अस्पतालबाटै गर्ने हो । ’नेपालको जेठो अस्पतालको रामकहानीको उनी स्वयम् जो भुक्तभोगी थिए । वीर अस्पताललाई नेपाल स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा रूपान्तरण गर्ने सोचाइ डा. देवकोटामा त्यसबेलादेखि नै थियो । त्यस्तो ‘भिजन’ थोरैमा मात्र देख्‍न पाइन्छ ।

‘मन्त्री हुँदैमा मैले प्राक्टिस कहाँ छोड्या छु र ? वीरमा हप्‍ताको एक दिन जटिल शल्यक्रियामा जुटेकै छु,’ उनले थपे । म उनको ऊर्जा, लगन र सेवाप्रतिको भावबाट नतमस्तक भएँ । विधिको विडम्बना, विधाता स्वयंले अहिले डा. देवकोटासँग अन्तर्वार्ता लिइरहेको छ । लाखौं मानिसलाई पुनर्जीवन दिएका डा. देवकोटा अहिले आफैँले कठिन मिहिनेत गरी सिर्जना गरेको नेपालकै उत्कृष्‍ट न्युरो अस्पतालको सघन उपचारकक्षमा जीवन–मरणको दोसाँधमा छन् । तर, उनको आत्मबल पहिलेजस्तै अदम्‍य छ, जीवन र जगत्प्रति उनको दृष्‍िटकोण छर्लंग छ, अनि देश र माटोप्रति उनको अगाध माया छ ।

हालै भिन्‍न परिस्थितिमा म एक पटक फेरि न्युरो अस्पताल बाँसबारी पुगेँ । साथमा वाचस्पति देवकोटा पनि हुनुहुन्थ्यो । डा. देवकोटा बसेको सघन उपचारकक्षमा डाक्टरहरूको टोली थियो । सबैलाई छिचोलेर भित्र जान सम्भव पनि थिएन । पहिलाजस्तो अवस्था हुँदो हो त, उनी आफैंले बोलाउँथे होलान् । तर, अहिले नितान्‍त फरक अवस्था थियो ।

पर्खेर बस्नुजस्तो कठिन कार्य केही हुँदैन । म अस्पतालको भुइँतलाको एउटा कुनामा राखिएको ‘शुभेच्छा पुस्तिका’मा निर्निमेष आँखा डुलाइरहेँ, जहाँ राष्‍ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसददेखि उनको हातबाट नयाँ जीवन पाउने सयौंले लेखेका भावपूर्ण शुभेच्छाका शब्दहरूले आगन्तुक पुस्तिका भरिएको थियो ।

मैले पनि डा. देवकोटाको स्वास्थ्यमा चामत्कारिक सुधारको कामना गर्दै निम्न दुई हरफ लेखें :
‘प्रिय, डाक्टर साप,
तिमी लाख लाख वर्ष बाँच,
हाम्रो हृदयमा तिमी सधैँ बाँच ।’
त्यति लेखेर म फुत्त बाहिर निस्किएँ । अस्पताल प्रांगणमा डा. देवकोटाले बेलायतदेखि जतन गरी ल्याई सार्नुभएको म्याग्नोलियाको बिरुवा हलक्‍क बढिसकेछ ।
म्याग्नोलिया जो कहिल्यै मर्दैन ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: