Todays Nepal
No1 Nepal's Complete News Sites

मलेसियामा भिखारी बनायो रक्सीले…अब नेपालमै बाख्रा पालेर परीवार सँगै बस्छु

8,748

आफ्नो जीवनका उर्बर सात वर्ष मलेसियामा व्यतित गरेर दुर्गा नेपाली नेपाल फर्केका छन् । मलेसियामा बस्दा रक्सीको लतमा फसेर रित्तिएको जीवनलाई अब उनले पुनर्ताजगी दिनुछ ।

आफ्नो र परिवारको सुखद भविश्यका लागि विदेश भासिएका दुर्गा रक्सीकै कारण सडकमा बसेर भिख माग्ने अवस्थामा पुगेका थिए ।

उनलाई केही सहृदयी नेपालीहरुले उद्दार गरेर नेपाल फर्काएका हुन् । अब विदेश जाने सोच त्यागेर आफ्नै देशमा बाख्रापालन गरेर बस्ने योजना बुनेका छन् दुर्गाले । उनी भन्छन्, ‘रक्सीले मलाई भिखारी बनायो, अब रक्सी कहिल्यै छुन्न ।’

दुर्गाको कथा, उनकै शब्दमाः

मेरो घर दाङ जिल्लाको डरुवा गाविस, वडा नं. ७ मा पर्छ । अहिले ४१ वर्षको भएँ । चार भाई मध्येको म साईंलो हुँ । हाम्रो घरको पारिवारीक अवस्था त्यति राम्रो थिएन, त्यसैले मैले पढ्न पाइनँ । वाल्यकाल दुःखैमा बित्यो । सोह्र वर्षको उमेरमा भारत पसेँ । हातमा सीप नभएको केटालाई कसैले पनि राम्रो काम दिने कुरै भएन । सुरुमा मैले होटलमा भाँडा माझ्ने काम गरेँ । त्यतिवेला सात सय भारु दिन्थे । भाँडा माझ्दा-माझ्दै कुकको काम पनि सिक्न थालेँ । पछि मेरो तलव वढेर २ हजारसम्म पुगेको थियो । मैले भारतमा करीव करीव ६ वर्ष बिताएँ ।

नेपाल आएपछि मैले बिहे गरेँ । तर, भाग्य नै खोटो रहेछ । पहिलो श्रीमतीको मृत्यु भयो । अर्को बिहे गरेँ । दोश्रो श्रीमतीले मलाई छाडेर हिँडिन् । अहिलेको श्रीमती मेरी तेश्री हुन् । उनीबाट एउटा छोरा र एउटी छोरी छन् । उनी अहिले अर्कै देशमा काम गर्न गएकी छिन् ।

घरमा छोराछोरी मात्र छन् । नेपालमा हुँदा गाडीमा काम गर्थेँ । सुरुमा खलासीबाट काम सिकेको हुँ । पछि मेरो इमान्दारीता देखेर मलाई कन्डक्टर वनाइदिए । दाङबाट नेपालगञ्ज महेन्द्रनगरसम्म मैले गाडीमा करीव पाँच वर्ष जति कन्डक्टर भएर काम गरेँ । कमाई पनि राम्रै हुन्थ्यो । परिवारलाई राम्रैसँग पालेको थिएँ ।

श्रीमतीको करमा विदेशिएँ

विदेशीने मेरो सोचाई दिएन । तर, श्रीमतीले कर गरिन् । मैले पनि केही समय विदेशमा दुःख गर्दा परिवारको भविश्य सुखद हुने ठानेर सहमति जनाएँ । अनि म्यानपावरलाई १ लाख रुपैयाँ वुझाएर ३५ वर्षको उमेरमा मलेसिया आएँ । म्यानपावरलाई बुझाएको पैसा सवै ऋण हो । ८० हजार पठाउने एजेण्टले नै हालिदियो भने २० हजार दिदीसँग सापट लिएको थिएँ ।

म्यानपावरले मलाई नराम्ररी झुक्यायो । प्लाष्टिकको कम्पनीमा आठ घण्टाको ५ सय ४६ रिंगेट भनेर पठायो । तर, यहाँ आउदा १२ घण्टाको ५ सय ४६ रिंगेट दिइयो । नेपालमा मेनपावरलाई फोन गरेर थर्काएँ । तर, मेरो कुरा के सुन्थ्यो, जे गर्न सक्छस् गर भनेर फोन राखिदियो । मेरो केही गर्ने उपाय थिएन । त्यही कम्पनीमा मैले ९ महिना बिताएँ ।

त्यसपछि त्यो कम्पनी छाडेर म अवैधानिक भएर काम गर्न थालेँ। होटलमा र सेक्युरिटीमा काम गरेँ । तर, वैधानिक हुँदा जस्तो सजिलो अवैधानिक भएपछि नहुँदो रहेछ । कतिपय कम्पनीले त तलब माग्दा पुलिस बोलाएर समाउन लगाउने समेत धम्की दिए । यसरी कैयौं महिनाको तलब त्यसै छाडेर हिँडेको छु ।

म मलेसियामै बसेर मैले नेपालमा केही जोडजाड गरेको थिएँ । छोराछोरी राम्रै स्कुलमा पढाएको थिएँ । यसैविचमा हामी वुढावुढीले नै कमाउने सोचाई बनायौं र श्रीमतीलाई पनि मेरै पहलमा अर्काे देशमा पठाएँ । अहिले उनी बाहिरै छिन् ।

तनाव भुलाउन रक्सीको सहारा

म अहिले तपाईहरुले देखेजस्तो थिइनँ । आठ महिना अगाडि मेरो रुपरंग अर्कै थियो । हेर्दै खाईलाग्दो थिएँ । सबैको प्यारो पनि थिएँ । भयो के भने, मैले काम गरेको ठाउँमा तलब पाइनँ । घरबाट छोराछोरीहरुले ‘बाबा किन पैसा नपठाउनु भएको ?’ भनेर सोध्थे । मैले ‘पठाउँदैछु न आत्तिनु’ भनेर सम्झाउथेँ । आज पनि त्यही भोलि पनि त्यही् कुरा दोहोर्‍याइरहँदा म छोराछोरीलाई नै ढाँट्ने बाउ जस्तो बन्न पुगेँ । काम गरेको ठाउँमा पैसा माग्दा दिँदैनथ्यो, उजुरी गर्न जाने ठाउँ थिएन ।

तनाव वढ्दै गएपछि मैले रक्सि खान सुरु गरेँ । छोराछोरी र श्रीमतीको पनि फोन उठाउन छाडेँ । मेरो संगत पनि त्यस्तै हुँदै गयो । विहान उठेदेखि रातिसम्म रक्सीमै डुबेर बस्न थालेँ । म अर्काे काम खोज्नेतिर पनि लागिनँ । तनाव छ भन्दै रक्सी मात्रै धोकेरै हिँड्न थालेँ । साथीभाइलाई फोन गर्‍यो, आज यता धोक्यो, भोलि उता धोक्यो । यसैगरी चल्न थाल्यो । बिस्तारै साथीभाइले पनि मलाई वोलाउन छाडे ।

त्यसपछि रक्सी खानकै लागि माग्ने धन्दा सुरु गरेँ । यहाँ रहेका नेपालीहरुसँग ‘दुःख परेको छ हजुर, यति पैसा दिनुस न’ भन्दै पैसा बटुल्ने र बटुलेको पैसा रक्सीमै सिध्याउन थालेँ ।

अब, मेरो कुनै बस्ने-खाने ठेगाना थिएन । क्वालालम्पुरको कोतारायमा एउटा सेगिकलेज भन्ने छ । त्यसको बाहिरतिर साँझ-विहान यहाँका ठूला-ठूला मानिसहरुले दुःख पाएकाहरुलाई खानेकुरा र कपडाहरु बाँड्ने गर्छन् । म पनि त्यहीँ गएर माग्न थालेँ । लाइन लागेर अरु मगन्तेहरुसँगै खान्थेँ । सुत्ने ठेगान थिएन । कहिले पुलमुनि, कहिले घरको छिँडीमा, जहाँ मन लाग्यो त्यहीँ सुत्थेँ । नजिकै रहेको चर्चमा गएर बेला-बेलामा नुहाउथेँ । म पागल जस्तै भएको थिएँ । मानिसहरु मलाई देख्दा तर्कन्थे । डुङडुङ गन्हाउने भएकाले कोही छेउ पर्दैनथे ।

यसरी भयो उद्दार

आजभन्दा डेढ महिना अघिको कुरा हो, म कोतारायको एउटा रेमिट्यान्समा गएर ‘मेलै हालेको पैसाको पिन नम्वर खोई ?’ भन्दै रक्सीको सुरमा चिच्याउन थालेछु । त्यहाँका कर्मचारीले मलाई पागल भनेर धपाए । तर, मेरो कृयाकलापलाई रुवेन अधिकारी भन्ने दाइले नियाल्नु भएको रहेछ । उहाँले मलाई एकान्तमा लगेर धेरै कुराहरु सोध्नुभयो । अनि मलाई दिलकुमार मगर र राजु तामाङ सरले नुहाउन लगाउनुभयो र अाफ्नो फेन्सी पसलमा लगेर नयाँ कपडा दिनुभयो ।

उहाँहरुले मलाई खाना खान आफुसँगै लिएर जानुभयो । मलाई आफ्नै परिवारको सदस्य जस्तो गरी राख्नुभयो । श्रीमतीसँग भाइवरमा सम्पर्क गराइदिनु भयो ।

८ महिनापछि श्रीमतीसँग कुरा गर्दा म भावुक भएँ । कुरा त कति हो कति । भर्खरै लव परेको जोडी जसरी दिनभरी कुरा हुँदा फोन नै बिगि्रयो । उहाँहरुले मलाई फोनसमेत दिनुभयो र पीएनसीसी संस्थाका मलेसिया संयोजकसँग सम्पर्क गराइदिनुभयो । खान-बस्न र हवाई टिकट समेत संस्थाले उपलब्ध गराइदियो । उहाँहरु एयरपोर्टसम्मै मलाई पुर्‍याउन आउनुभयो । नेपालमा पनि संस्थाका साथीहरु एयरपोर्टमै लिन आउनु भयो ।

अब बाख्रा पालेर बस्छु

खराब संगतले मानिसलाई कसरी बिगार्दोरहेछ र असल संगतले कसरी सपार्दोरहेछ भन्ने म एक उदाहरण भएको छु । टेन्सन भुलाउने बहानामा रक्सीको लतमा फसेको म सडकमै बस्ने र मागेर खाने भएँ । आज रक्सीको नाम लिँदा पनि एलर्जी भएर आउँछ ।

यदि सबैको साथ नपाएको भए म मलेसियाको सडकमै मर्ने थिएँ । आज म नेपाल आइपुगेको छु परिवार निकै खुशी भएको छ । अब म नेपालमै बाख्रापालन गर्ने योजनामा छु । परिवारसँगै आफ्नो जीवन व्यतित गर्छु । मलाई मलेसियाको सडकबाट उठाएर यहाँ आउन सहयोग गर्नेहरुको ऋण सायद कहिल्यै चुक्ता गर्न सक्ने छैन । यति कामना छ, विदेश गएर यो दुर्गेको जस्तो दुर्गति कसैको नहोस् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: