Todays Nepal
No1 Nepal's Complete News Sites

कोत पर्व – नेपालको इतिहासमा सबैभन्दा ठूलो हत्याकाण्ड

8,757

कोत पर्व नेपालको इतिहासमा सबैभन्दा ठूलो हत्याकाण्ड हो । यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०४ वर्षे राणा शासनतिर सुम्पेको थियो । यही काण्डले जंगबहादुरको उदय भएको थियो ।

विसं १८९४ मा राजा राजेन्द्र बिक्रम शाह ले भीमसेन थापालाई अपदस्थ गरेपछि नेपालमा अन्योलको वातावरण सिर्जना भएको थियो । राजेन्द्र महत्वाकांक्षी त थिए तर उनको कमजोरी यो थियो कि उनले आफ्नी दुई रानीका कार्यकलापलाई समेत नियन्त्रण गर्न सकेका थिएनन् । उनका दुवै रानी त्यत्तिकै महत्वाकांक्षी थिए र दुवैले आ–आफ्नै स्वार्थ सिद्धिका लागि भारदारहरूका दुई प्रमुख समूहलाई आफूतर्फ मिलाएका थिए । जेठी रानी साम्राज्यलक्ष्मीले पाण्डेहरूको सहयोग प्राप्त गरेकी थिइन् भने कान्छी रानी लक्ष्मीदेवीलाई थापाहरूको समर्थन थियो । भीमसेन थापाको पतनको लगत्तै साम्राज्यलक्ष्मीको जोडले रणजंग पाण्डे मुख्तियार त भए तर उनी कहिले गुरु रंगनाथ त कहिले चौतरिया पुष्कर शाहको नेतृत्वमा रही काम गर्न बाध्य भए । केही वर्षपछि रणजंग शक्तिशाली मुख्तियार त बने तर उनको अंग्रेज सरकारप्रतिको नीतिले गर्दा राजेन्द्रले उनलाई पदबाट हटाए, अंग्रेज सरकारकै दबाबमा ।

विसं १८९८ मा साम्राज्यलक्ष्मीको मृत्युपछि नेपालको राजनीतिमा कान्छी रानी लक्ष्मीदेवीले हस्तक्षेप गर्न थालिन् । उनले भारतमा बस्दै आएका भीमसेन थापाका भतिजा माथवरसिं थापालाई नेपाल फिर्ता बोलाइन् र उनकै दबाबमा राजेन्द्रले माथवरलाई मुख्तियार बनाए । लक्ष्मीदेवीको स्वार्थ थियो युवराज सुरेन्द्र (साम्राज्यलक्ष्मीका छोरा) को अधिकार खोसी आफ्नै छोरा रणेन्द्रलाई राजा घोषित गर्नु । तर माथवर रानीको इच्छाअनुसार काम गर्न तयार थिएनन्, किनकि यसबाट ठूलो विद्रोह हुने सम्भावना थियो । विकल्पको रूपमा माथवरले राजेन्द्रलाई गद्दी त्यागको सल्लाह दिए, किनकि सुरेन्द्रलाई विधिवत् रूपमा राजा घोषित गरेपछि लक्ष्मीदेवीले आफ्नो छोरालाई राजा बनाउने हठ त्याग्नेछिन् भन्ने उनको धारणा थियो । तर महत्वाकांक्षी राजेन्द्र राज्य त्याग गर्ने पक्षमा थिएनन् । यसप्रकार माथवरले राजा र रानी दुवैलाई चिढाए । फलस्वरूप राजा र रानी दुवै मिली माथवरको हत्या गराए जसमा प्रमुख भूमिका लक्ष्मीदेवीका प्रिय पात्रहरू गगनसिंह र जंगबहादुरले खेलेका थिए ।

माथवरको अन्तपछि चार महिनासम्म देशको शासन व्यवस्था मुख्तियारबिना नै चल्यो । लक्ष्मीदेवी गगनसिंहलाई मुख्तियार बनाउन चाहन्थिन् जबकि राजेन्द्र त्यसो गर्न तयार थिएनन् । अन्ततोगत्वा चौतरिया फत्यजंगलाई मुख्तियारको पद त दिइयो तर राज्यपरिषद् (मन्त्रिमण्डल सरह) मा गगनसिंह र जंगबहादुरलाई पनि समावेश गरियो । रानीको प्रिय पात्र भएको नाताले गगनसिंह निकै शक्तिशाली थिए र उनको अधीनमा सात पल्टन फौज थियो जबकि फत्यजंगको नियन्त्रण केबल तीन पल्टन फौज मात्रै थियो । भनिन्छ, सबै महत्वपूर्ण निर्णयहरू लक्ष्मीदेवी र गगनसिंह गर्थे र राजा र मुख्तियार त्यसलाई औपचारिकता मात्रै दिन्थे । गगनसिंहको उदय राजा, मुख्तियार, जंगबहादुर र अन्य भारदारका लागि एउटा चुनौती बनेको थियो ।

तर गगनसिंहको शासन धेरै समयसम्म चल्न सकेन । वि.सं. १९०३ भदौ ३१ को राति आफ्नै घरमा पूजा गरिरहेका बेला उनको हत्या भयो ।गगनसिंहको हत्या कसले गर्यो भन्नेबारे लेखकहरूका भिन्नाभिन्नै धारणा छन् । कसैले राजा र मुख्तियारको मिलेमतोमा लाल झा नामका कुख्यात व्यक्तिले उनको हत्या गरेको भनेका छन् भने कसैले चाहिं जंगबहादुरले आफू शक्तिशाली बन्न आफ्ना भाइ बद्रीनरसिंहद्वारा उक्त हत्या गराएको भनी लेखेका छन् । गगनसिंहको हत्याको रहस्य सायद कहिल्यै पनि अगाडि आउँदैन । तर एउटा कुरा के भन्न सकिन्छ भने गगनसिंहको उदय राजा, मुख्तियारलगायत कसैलाई मन परेको थिएन र उनको पतन लक्ष्मीदेवीबाहेक सबैले चाहेका थिए ।

वि.सं. १९०३ भदौ ३१ गते राति पूर्व महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगन सिंह भण्डारीको रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए । गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जङ्गबहादुर राणाका मानिस युद्धवीर (राममेहर) अधिकारीद्वारा सर्वप्रथम अभिमान सिँह राना मगर मारिएपछि स्थिति चर्किदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाँडे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो ।कोतभित्र तनावको वातावरण पैदा भएकै अवस्थामा राजा कोतबाट बाहिर निस्केका थिए ।

यस्तो विभत्स र दु:खलाग्दो स्थितिको फाइदा उठाएर जङ्गबहादुर प्रधानमन्त्री बने र १०४ वर्षको राणा शासनको उदय भयो । यस पर्वमा चौतरिया, पाँडे खलक, थापा खलक, बस्न्यात खलक, बिष्ट, भण्डारी, आदि कुलका भारदारहरू एक चिहान बने भने काण्ड मच्चाउने जङ्गबहादुर र उनका भाइहरू शक्तिशाली भएर उदाए । यस पर्व सँगै जङ्गबहादुरले सत्ता आफ्नो हातमा लिएर प्रधानमन्त्री बने र फलतः १०४ वर्षको क्रुर राणा शासनको उदय भयो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: