Todays Nepal
No1 Nepal's Complete News Sites

डा.भट्टराइको खुलासा: प्रचण्डले २० अर्बको भ्रष्टाचार गरे, ७०० बन्दुक बेचेर खान खोजे

8,803

पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले माओवादी पार्टी छाड्नुको कारण त्यहाँ व्याप्त भ्रष्टाचार रहेको खुलासा गरेका छन् । भ्रष्टाचार पनि अरू कसैले नभएर स्वयं प्रचण्डले गरेको भट्टराईको दाबी छ ।

तत्कालीन माओवादी पार्टी अध्यक्ष प्रचण्डले माओवादीका लडाकुका निम्ति राज्यबाट गएको करिब २० अर्ब रकम भ्रष्टाचार गरेको डा. भट्टराईको गम्भीर आरोप छ । प्रचण्डले सो रकम पचाउनका लागि विदेशी प्रभु गुहारेको आरोपसमेत भट्टराईले लगाएका छन् । यसैगरी, प्रचण्डले ७०० हतियार विदेशी दलाललाई बेच्न लागेको, तर आफूले सो हुन नदिएकोसमेत डा. भट्टराईले खुलासा गरेका छन् ।

लामो समयसम्म प्रचण्डसँग सहकार्य गरेका र मुलुकको प्रधानमन्त्री भइसकेका भट्टराईले दिएको अभिव्यक्तिलाई ‘एकजना पूर्वमाओवादी’को सामान्य आक्रोशका रूपमा मात्रै लिनु किमार्थ उचित हुँदैन । कुनै सामान्य लडाकु वा कार्यकर्ताले लगाएको आरोप थियो भने त्यसलाई आक्रोशको अभिव्यक्ति मान्न सकिन्थ्यो होला । तर, पूर्वप्रधानमन्त्री भट्टराईजत्तिको ‘हेभीवेट’बाट आएको अभिव्यक्तिलाई आमसर्वसाधारणले कुन रूपमा बुझ्ने ?

यस सम्बन्धमा प्रचण्डका तर्फबाट कुनै पनि खण्डन आएको छैन । यदि डा. भट्टराई सही थिएनन् भने प्रचण्ड कानुनी उपचारमा लाग्नुपर्ने हो । तर, प्रचण्डद्वारा यसको कुनै खण्डन नहुनुले गम्भीर प्रश्न खडा गरेको छ । भट्टराईको अभिव्यक्तिमाथि प्रचण्डबाट कुनै प्रतिक्रिया नआउनुले यसमा ‘मौनं सम्मति लक्षणम्’ भनेझैँ प्रचण्डको स्वीकारोक्ति देखिएको छ ।

यसअघि प्रधानमन्त्री पदमा रहँदा प्रचण्डले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई पत्याउने हो भने उनी कृष्णप्रसाद भट्टराई र सुशील कोइरालापछिका गरिब प्रधानमन्त्रीमा पर्छन् । त्यसवेला बुझाएको सम्पत्ति विवरणमा प्रचण्डले श्रीमती सीता दाहालका नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको उल्लेख गरेका थिए । सो सम्पत्ति पनि उनको स्वआर्जन नभएर पैतृक भनिएको थियो ।

पूर्वप्रधामन्त्री एवं वर्तमान नेकपाका अध्यक्षको जीवनशैली देख्ने जो–कसैले पनि उनले बुझाएको सम्पत्ति विवरणलाई सही मान्न सक्दैन । भर्खरै मात्र उनले आफ्नी छोरीका लागि १५ करोड मूल्यबराबरको घर बनाइदिएको बारे विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरिरहेका छन् । त्यसबाट पनि आकलन गर्न सकिन्छ कि बाबुराम सत्यको नजिक छन् भन्ने ।

मुलुकका एक पूर्वप्रधानमन्त्रीले राज्यबाट लिएको रकम भ्रष्टाचार गरेको भनेर अर्का पूर्वप्रधानमन्त्रीले आरोप लगाइरहँदा यसमा सरकारले पनि चासो लिनुपर्ने देखिन्छ । सत्ताधारी पार्टीका प्रमुख नेता भएकै कारण प्रचण्डमाथि कुनै छानविन हुँदैन भने त्यो मुलुककै लागि दूर्भाग्यपूर्ण ठहरिनेछ ।

यस विषयमा छानविन गरी प्रचण्डलाई कानुनको कठघरामा उभ्याउनुपर्छ । यदि उनी दोषी ठहरिएनन् भने यो उनका लागि निर्दाेष प्रमाणित हुने अवसर हुनेछ । त्यसपछि बाबुराम गलत सावित हुनेछन् र उनीमाथि मानहानीको मुद्दा लगाउन सकिन्छ ।

तर, छानविनमा सत्ताको कुनै पनि प्रभाव देखिनुहुँदैन । यदि सत्तामा भएकै कारण कसैलाई निर्दाेष प्रमाणित गर्ने र सत्तामा पहुँच नभएकै कारण कसैलाई जबर्जस्ती दोषी करार गरियो भने त्यो कानुनी राज्यको खिलाफमा गएको ठहरिनेछ । र, मुलुकमा सर्वसत्तावाद हावी भएको मानिनेछ ।

त्यसैले दुवै पक्षलाई मान्य हुने गरी राज्यले निष्पक्ष छानविन गर्नुपर्छ । वेलैमा छानविन भएको खण्डमा दोषीले सच्चिने मौका पाउँछ । होइन भने सो मुद्दा अन्तर्राष्ट्रियकरण भई दोषीमाथि ठूलै सजाय पनि हुन सक्छ । त्यसकारण पनि यसको निष्पक्ष छानविन जरुरी छ ।

लोकतन्त्रमा सत्ता र शक्ति सधैँ एउटैको हातमा हुँदैन । यो कुराको प्रमाण नेपाली राजनीति आफैँ छ । यसमा छानविन नहुने हो भने भट्टराईले लगाएको आरोपको जिम्मा प्रचण्डले मात्र होइन, एउटै पार्टीका नेताको हैसियतमा वर्तमान प्रधानमन्त्रीले पनि लिनुपर्ने हुन्छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: