Todays Nepal
No1 Nepal's Complete News Sites

हिन्दु मन्दिरमा दलित पुजारी, न उनलाई कसैले जातपात सोधछन् न उनी नै सोध्छिन्

8,742

संविधानमा मुलुकलाई छुवाछुत मुक्त घोषणा गरिएपनि व्यवहारतः त्यसको कार्यान्वयन हुन सकेको छैन् । मुलुकका अधिकांश ठाउँमा दलितलाई मन्दिर प्रवेशमा रोक लगाइन्छ । पानी र खाने कुरा छोएको निहुँमा कुटपिट र दुव्र्यवहार भएका घट्ना सुनिरहन्छन् । यद्यपि दाङमा रहेको हिन्दु धर्ममा आस्था राख्नेहरुले स्थापना गरेको एक मन्दिरको अवस्था भने बेग्लै छ ।

मन्दिर भित्र प्रवेश गर्दा पूरै शरीर ढाक्ने पहेंलो बस्त्र,निधारमा पनि पहेंलै फेटा,घाँटीमा सानो गेडाको रुद्राक्ष माला लगाएकी एक महिला भेटिन्छन् । ती हुन मन्दिरका मुख्य पुजारी दलित महिला । मन्दिर पुगेका कथित ‘उपल्लाु जातिका मानिसले ती पुजारी महिलासँग आर्शीवाद मागेर फर्कन्छन् । मन्दिरको मुख्य ढोकामा दलित महिला पुजारी उभिएकी हुन्छिन् । पूजाआजा गराइदिन्छिन र भक्तजनलाई टीका लगाएर आशीर्वाद दिन्छिन् । उनलाई कसैले जातपात सोध्दैन न उनी नै सोध्छिन् ।

ती पुजारीको नाम हो पार्वती विश्वकर्मा । उमेर ४१ वर्ष । भारतमा जन्मिएकी पार्वती ३ बर्ष अघि मात्रै नेपाल आएकी हुन । नेपालमै बस्नेगरी आएकी उनले दाङको घोराही उपमहानगरपालिका –१८ मसिनामा केही जमिन पनि किनिन् । ३ छोरी र श्रीमानका साथ यहाँ आएकी पार्वतीलाई नेपाल आएको केही समयपछि अचम्मको ‘चमत्कारु भयो ।
गाउँको सिरानको गोरेटो बाटो छेउको चट्टानको प्वालमा पहेंलो रङका दुईवटा सर्प देखिए । त्यही बाटो भएर गाउँमा खानेपानीको धारा जोड्दै गरेका गाउँलेले वास्ता गरेनन् । ती सर्प त्यही प्वालभित्र पसे । पार्वती त्यही बेला नजिकैको खोलामा नुहाउँदै थिइन् ।

एकाएक उनी सर्पकै तालमा शरीर ढाल्दै बर्बराउन थालिन् । ‘मलाई नफर्काऊ,म स्वर्गद्वारीबाट आएको हुँ, मलाई यहि बस्न देऊ’ जस्ता शब्द बर्बराउँदै उनी नागबेली शैलीमा लडीबुडी गर्न थालिन् । जुरुक्क उठेर नाग भएको ठाउँमा पूजाआजा गर्न थालिन् । गाउँलेलाई लाग्यो उनको शरीर भित्र ‘नागदेवता’ चढेछन् । गाउँलेले मन्दिर बनाइदिने बाचा गरे । हाल उक्त स्थानमा उनकै पहलमा दाताहरुको सहयोगबाट नागेश्वर महादेव पार्वती मन्दिर , गणेश मन्दिर, शिव मन्दिर र गौशाला समेत स्थापना गरिएको छ । गाउँलेले मुख्य पुजारीका रूपमा उनै पार्वती विकलाईनै तोकेकाछन् ।

मुख्य पुजारी पार्वती जातभातको कुरा मान्दिनन् । ‘खै भगवानले त यस्तो जातपात बनाएकै छैनन,मलाई पनि त्यस्तो लाग्दैन् । रगत सबैको रातोनै हुन्छ । मन्दिर सबैको महत्वकांक्षा पुरा हुने विश्वासको थलो हो ।’ अहिले मन्दिरमा पूजा गर्न दिनहुँ सयौंको भिड लाग्ने गर्छ । मंगलबार र बुधबार साँझपख नागले दर्शन दिने विश्वासमा मानिसहरू उक्त मन्दिर पुग्ने गरेकाछन् । मुख्य गरी क्षेत्री र ब्राह्मण समुदायको बसोबास रहेको उक्त स्थानमा दलित त्यसमा पनि महिलालाई पुजारी बनाएर सबैले स्वीकार्नु प्रशसायोग्य काम भएको सबैको भनाई छ ।

शुरुमा कतिले पार्वतीलाई दलित भएकै कारण पुजारी स्विकार्न मानेका थिएनन् । घोराही १५का स्थानीय तथा नेपाल पत्रकार महासंघ,दाङ शाखाका निवर्तमान अध्यक्ष सुदिप गौतमले भने–‘तर भगवान प्रतिको उनको अगाध विश्वास र समर्पणलाई देखेर सबैले स्वीकारेका छन् । अहिले त्यस्तो कुनै पनि किसिमको भेद्भाव भएको कुरा सुनिएको छैन् । यो कुरा सबैलाई सिक्न योग्य पाठ बनेको छ ।’

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: