Todays Nepal
No1 Nepal's Complete News Sites

अब सुन साइँली, ४० हैन बीस कटेसी रमाउँला “सुन साइँली परदेशबाट म आउँला”

9,806

बाबु-आमाले छोराको आश नगरेर छोरीमै चित्त बुझाएको भए साइँलीको जन्म नै हुँदैनथ्यो । छोराकै आशमा चार छोरी जन्मिए ।

यदि साइँलीका बा-आमाले उनी र उनका दिदी-बहिनीको साटो छोराहरु मात्र पाएको भए पनि के नै हुन्थ्यो र ? ति छोराले अरु कसैको कोखबाट जन्मिएकी साइँलीसँग प्रीत लाउँथे । बैंसमै रमाउन देश, काल, परिस्थितिले नदिएपछि साइँलीलाई धुरुधुरु रुवाउँदै विदेशीन बाध्य हुन्थे । अनि फकाउन यसो भन्थे,

‘सुन साइँली परदेशबाट म आउँला

चालीस कटेसी रमाउँला ।’

विचरा, उसले चालीस कटेसी कसरी रमाओस् ? त्यतिबेला न त जोश बाँकी रहन्छ, न जाँगर । मानिसको मनोशरीरको आफ्नै प्रकृति हुन्छ, जुन उमेरसँगै बदलिँदै जान्छ । मन मस्तिष्कमा सपना, चाहना र विषय बासनाका तमाम पत्रहरु जमिरहन्छन्, उमेरले नेटो काटिसक्छ ।

बीस कटेसी रमाउँ

मानिस जब सत्र-अठार वर्षको हुन्छ, तब उसमा विपरीत लिंगीप्रतिको आकर्षण बढ्न थाल्छ । सत्र वर्षदेखि पच्चिस-तीस वर्षसम्मको उमेरमा मानिसमा यौन चाहना तीव्र हुन्छ । तर, विडम्बना हाम्रो सामाजिक मूल्य, मान्यता, सँस्कार र शिक्षाले यही उमेरमा केटा र केटीलाई आपसमा मिल्नै दिँदैन । अनि देशको आर्थिक अवस्थाले यो उमेरमा उसलाई एकछिन रमाउने फुर्सद पनि दिँदैन, कठोर श्रमको भारी बोकाउँछ ।

विवाहअघिको यौनलाई समाज छाडापन मान्छ । लज, रिसोर्ट या पार्कतिर कसैले देखिहाल्ला कि भन्दै लुकीछिपी यौन प्यास मेटाउनेहरु पनि कुनबेला प्रहरीले छापा मार्ला भनेर भयग्रस्त मानसिकता पालिरहेका हुन्छन् । प्रेम र यौन घटित हुने पलमा भयको प्रवेश हुँदा के मजा भयो ? त्यो ‘चिज’को के स्वाद रह्यो ?

स्कुल र कलेजमा केटा र केटीका अलग-अलग होस्टल हुन्छन् । केटा र केटीलाई नजिक हुन नदिने अनेक प्रपञ्च समाजमा रचिएका छन् । जुन उमेरमा यौन चाहना तीव्र हुन्छ, त्यही उमेरमा उनीहरु कुन्ठित हुन्छन् । यौन कुन्ठा दबाएपछि उनीहरुको ध्यान न त पढाइतिर हुन्छ, न जीवन सफल पार्ने सोच पलाउँछ ।

मनले खोजिरहेको हुन्छ, मोज । तर, उनीहरुको थाप्लोमा हुन्छ, आधुनिक जटिल शिक्षाको बोझ । शिक्षा पूरा गर्न नपाउँदै अर्को चुनौती आइपर्छ, जागिरको खोज ।

एसएलसी भन्यो, प्लस टु भन्यो, डिप्लोमा अनि डिग्री भन्यो । मेडिकल पढ्नेका लागि पोष्ट ग्राजुयट भन्यो । पीएचडी भन्यो । कमिलाभन्दा साना अक्षर छापिएका मोटा-मोटा पुस्तक अहोरात्र पढ्यो ।

हाम्रो नेपाली समाजमा रमाउने अर्थात मोज गर्ने भनेको मिठो खाने राम्रो लाउने, सुन्दर ठाउँमा घुम्ने र प्यारो मान्छेसँग माया साट्ने न हो । चालीस कट्दासम्मको कठोर श्रम र भागदौडका कारण चालीस कटेसी शरीरले ‘हर्कत’ देखाउन थाल्छ ।

पढाइ पूरा गरेपछि पनि जागिर पाइँदैन । करिअर र सुखद भविश्यको यस्तै-यस्तै घनचक्करमा फँस्दाफँस्दै मानिस तीस वर्षको भइसक्छ । यत्तिकैमा साइँली, माइली, कान्छी, नेप्टी, चेप्टी, डल्ली, काली, गोरी सबैलाई रुवाएर केटो विदेश जानुपर्ने हुन्छ । केटीचाहिँ अरुको घरमा कामकाज सघाउन भित्रिनुपर्ने हुन्छ ।

केटोले विदेशबाट टन्नै रकम कमाएर ल्याउला । तर, त्यो पैसाले उ कसरी रमाउला ? त्यसबेलासम्म न त बैंस रहन्छ, न उत्साह । जीवन संघर्षको भट्टीमा सेकिएर थिलोथिलो भएको शरीर बोकेर स्वदेश फर्केको युवाले ‘चालीस कटेसी’ साइँलीसँग कसरी रमाउन सक्ला ? जिन्दगी खोज्दाखोज्दै जिन्दगी नै रित्तिदै जान्छ ।

भन्न त भनिन्छ नी, रातो राम्रो गुलियो मिठो, बैंस छँदाखेरि । तर, बैंस नै ढल्किएपछि के रातो, के सेतो ? के कमलो ? के साह्रो ? ती सबमा रमाउने उत्साह पनि ओह्रालो लागिसकेको हुन्छ । जीवनको उर्बरकालमा उसले रमाउन पाउँदैन । उमेरमा लालमोहन खान मन लाग्छ, तर पैसा हुँदैन । उमेर ढल्किएपछि पैसा त हुन्छ, तर मधुमेहका कारण लालमोहन खानै हुँदैन ।

चालीस कटेसी मानव शरीरको कोषको क्षयीकरण शुरु हुन्छ । शरीरका अंगहरु शिथिल हुन थाल्छन् । उमेरको यही घुम्ती पार गरेपछि मानिसलाई हृदयाघात, मधुमेह, रक्तचापलगायतका अनेक नसर्ने रोगहरुको जोखिम शुरु हुन्छ । हाम्रो नेपाली समाजमा रमाउने अर्थात मोज गर्ने भनेको मिठो खाने राम्रो लाउने, सुन्दर ठाउँमा घुम्ने र प्यारो मान्छेसँग माया साट्ने न हो । चालीस कट्दासम्मको कठोर श्रम र भागदौडका कारण चालीस कटेसी शरीरले ‘हर्कत’ देखाउन थाल्छ ।

भो, चालीस कटेसी रमाउने सोच त्याग । बीस कटेसी रमाउन पाउनुपर्छ । यसका लागि अनुकुल अवस्था मुलुकमा सिर्जना हुनुपर्छ । केटा र केटीलाई बैंसमै रमाउन नदिने खालका कडा नियम कानून खारेज गरी आधुनिक युग सुहाउँदो उदार नियम कानून हुनुपर्छ । सामाजिक सोच र संस्कारमा बदलाव आउनुपर्छ ।

काठमाडौंका पूर्वमेयर केशव स्थापितले भने झैं शहरमा केटा र केटीले प्रेम गर्ने ठाउँ हुनुपर्छ । नागार्जुन डाँडालाई लभर्स पार्क बनाउनुपर्छ । आकाशे पुलहरुलाई डेटिङ स्पट बनाउनुपर्छ । कसैले कसैलाई ‘किस’ गर्नु कुनै अश्लील या भद्दा हर्कत होइन । सहमतीमा यौन सम्पर्क हुनुलाई पनि अब नाजायज ठान्नु हुँदैन । प्रेमले यौनसम्म पुर्‍याउँछ, अनि यौनले मानिसलाई प्रेमतिर ढल्काउँछ ।

प्रेम र यौनको अभावमै समाजमा हत्या, बलात्कार, भ्रष्टाचार र अनेक अपराधहरु हुने गरेका हुन् । अतः सरकारले केही प्रहरी अधिकारी, नेता या दलालले अनुचित लाभ पाउने गरी चलिरहेका गैरकानूनी यौन अखाडाहरुलाई बन्द गराओस् र यौन व्यवसायलाई कानूनी मान्यता दिएर व्यवस्थित गरोस् । शहरमा रेड लाइट एरिया पनि खुलोस् । पर्यटनसँग यौनलाई पनि जोड्ने काम होस् ।

रमाउने त स्वदेशमै हो

आफ्नै देश, आफ्नै परिवेशमा रमाउन नपाउँदा मानिसले आफूलाई अपूर्ण महसुस गर्छ । मातृभूमिको माटोको सुगन्ध सामु विदेशको शान, ठाँटबाँठ, सुख, सुविधा र सम्पन्नता के हो र ? अनि विदेश जाँदैमा सबैले सुख पाउने पनि होइन ।

संसारका सारा वैभव आफूमाथि बर्सियोस्, सारा धन आफ्नो कन्तुरमा खप्टियोस्, अनि सारा भौतिक सुख सुविधाले जीवन भरीपूर्ण किन नहोस्, तर मातृभूमिमा बाँच्न नपाउनु मानिसको सबैभन्दा ठूलो अभाव र रिक्तता हो ।

विदेशमा सुखको आसमा एक शहरबाट अर्को शहर भौंतारिएका, गाडीको स्टलमेन्ट तिर्न त्यहीँको दलदलमा भासिएका र विषय बासनाको तीव्र लालसामा रनभुल्लमा परेका लाखौं भेटिन्छन् । रुप, आकार, प्रकाश र रंगको तिलस्मी दुनियाको भूलभूलैयामा जतिसुकै भूले पनि अभ्यन्तरले टिमुर हालेको गोलभेंडाको अचारसँग कोदोको रोटी खाएको भूल्ला र ?

समुद्री टापुहरुमा अर्धनग्न लम्पसार परी सूर्य स्नान गरिरहेका मान्छेलाई देखेर केहीबेर रमाए पनि सेता कञ्चन हिमालमुनि नागबेली परेर बगेका नदीनाला अनि लालुपाते र लालीगुराँसले राताम्य पहाडहरुको सौन्दर्यले पछ्याइरहन्छ । गाउँमा टिनको टहरो ढुकेर बसेका वृद्ध बाबु-आमा उनीहरुका दृष्टिमा ‘पाखे’ होलान्, तैपनि उनीहरुको बोली र मोहले भरिएको असीम अनुरागको झल्कोले विदेशिएकाहरुको मनमा चिमोटिरहनेछ ।

हो त, संसारका सारा वैभव आफूमाथि वर्सियोस्, सारा धन आफ्नो कन्तुरमा खप्टियोस्, अनि सारा भौतिक सुख सुविधाले जीवन भरीपूर्ण किन नहोस्, तर मातृभूमिमा बाँच्न नपाउनु मानिसको सबैभन्दा ठूलो अभाव हो । जन्मेको ठाउँमा मर्न नपाउनु उसको सबैभन्दा ठूलो अपूर्णता हो । आफ्नो भूमिमा रमाउन नपाउनु उसको सबैभन्दा ठूलो रिक्तता हो ।

‘चालीस कटेसी रमाउँला’ भन्दै विदेशिए पनि मानिसको मन भने स्वदेशमै हुन्छ । स्वदेशमै श्रमको उचित मूल्य, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता भएको भए को नै विदेशिन्थ्यो र ? जल, जंगल, जडीबुटी, जमीन र जोशीला पाखुराले भरिएको नेपालले अपार सम्पदा भएर पनि समृद्धिको उचाइ चुम्न सकेन । देश गरिब भयो, देश गरिब भएपछि साइँली र उसको प्रेमी पनि गरिब भए ।

बैंसमै प्रीत लाउने रहर कसको नहोला र ? तर गरिबीले ‘भिलेन’ खेलिदियो । अब यो भिलेनलाई तह लगाउन मुलुक समृद्ध हुनुपर्छ । र, मुलुक समृद्ध बनाउने हो भने परदेशिएकाहरु चालीस कटेसी हैन, तत्काल फर्किइहाल्नुपर्छ । करिब पचास लाख बलिया पाखुराहरु स्वदेश फर्किएर पौरख गर्ने हो भने यो देशको कायापलट हुनेछ । यही भएर सरकारले पनि परदेशिएकालाई स्वदेश फर्काउन यसपालि बजेटमा विशेष कार्यक्रम ल्याएको छ ।

‘बोल माया’ हैन, फर्क माया

गत वर्ष गायक सुरज थापाले ‘हे बरै आमाले सोध्लिन् नी…’ गाउँदा नेपाल आइडलका सबै निर्णायक जुरुक्क उठेर ताली बजाएका थिए । झलकमान गन्धर्वले धेरै वर्ष पहिले गाएको यो कालजयी गीत अहिले सुन्दा पनि नवीन लाग्छ र यो आज पनि उत्तिकै सान्दर्भिक छ ।

गरिबी, अभाव, शोषण, अन्याय र अनेक बेथितीले भरिएको नेपाली समाजको यथार्थ आज पनि उस्तै छ । पहिला गोर्खा पल्टनमा भर्ती हुनेहरुको ताँती लाग्थ्यो । भारतमा कुल्ली र दरबान बन्न जानेहरुको घुइँचो लाग्थ्यो । अचेल जहाज चढेर ‘लाहुरे’ हुनेहरुको ताँती लाग्छ ।

झलकमानको ठेट नेपाली गाइने भाकामा गुञ्जिएको यो गीतले त्यसबेला सिंगो मुलुक हल्लाएको थियो । पहिलो र दोश्रो विश्वयुद्धमा लाखौं नेपाली युवाले ज्यान गुमाए । विदेशमा अरुका लागि लड्दालड्दै ज्यान गुमाउन बाध्य ती युवा भन्नलाई ‘रण जित्दैछ भन्दिनू’ भनिरहेका थिए, तर उनीहरु हारीरहेका थिए । उनीहरुका लागि आफ्नै देश, समाज र परिवेश पनि कुनै रणभूमिभन्दा कम थिएन । लाहुरेहरुको वेदना बोकेको यो गीतले नेपाली समाजमा एकखालको जागरण पनि ल्यायो । जेजस्तो भए पनि स्वदेशमै पौरख गर्नतर्फ नेपालीलाई प्रेरित गर्‍यो ।

पञ्चायतकालमै धर्मराज थापाको स्वरमा रहेको गीत ‘नेपालीले माया मार्‍यो बरीलै’ले पनि जन्मेको देश र नेपाली भेषलाई माया नमार्न एकखालको जागरण ल्याएको थियो । ‘नजाउ छोडि विदेश, आमालाई रुवाएर’ जस्ता गीतहरु पहिला पनि गाइन्थे । सत्यकला राइले गाएको ‘तिमीलाई हङकङ पुर्‍यायो आइडी काडैैले’ बोलको गीतमा पनि परदेश जानेहरुको वेदना छ ।

अब यस्ता गीत सुन्ने मात्र हैन, फर्कनुपर्छ । र, फर्काउने राष्ट्रिय जागरण अभियान नै सुरु गर्नुर्पर्छ । धन्यवाद छ पशुपति शर्मालाई, जसले केही वर्ष पहिले गाए, ‘मलाई अमेरिका यही, जापान पनि यही ।’ यो गीत हिट हुनुको कारण के हो ? कारण हो, सबैको मनमा स्वदेशमै रमाउनुपर्छ भन्ने कुरा गडेको छ । अमेरिका र जापानमा भन्दा नेपालमै रमाउनुपर्छ भन्ने चाहना सबैको छ । र, यही कारण हेमन्त रानाको ‘सुन साइँली’ पनि सुपर हिट भयो । किनकी, साइँलीलाई छाडेर परदेशीनु सुखद हैन, वियोगान्त घटना हो भन्ने यसले झल्काएको छ । ‘चालीस कटेसी रमाउँला’ भनेर साइँलीको प्रेमीले रुँदै पो भनेको छ त । यसले यही सन्देश दिन्छ कि अब यसरी रुँदै विदेश जाने हैन, स्वदेशमै केही गर्नुपर्छ ।

र, यही मेसोमा हालै एउटा मर्मस्पर्शी गीत आयो, ‘बोल माया ।’ प्रकाश सपुत र शान्ति परियारले रुँदै गाएको यो गीत र भिडियो उत्कृष्ट छ । र, यसले पनि यही सन्देश दिन्छ कि ‘जाँदाखेरि आकाशैमा, आउँदा बाकसैमा’को नियतीलाई अब बदल्नुपर्छ । अब कुनै पनि नेपालीको शव कफिनमा फर्केर नआओस् । हिरो बन्ने सपना चकनाचुर पारेर विदेश गएको छोरोको शव कफिनमा फर्केको देखेर कुनै आमा-बाबुले रातभर भक्कानिएर बस्न नपरोस् । श्रीमती विधवा हुनु नपरोस् ।

‘बोल माया’को सफलताले विदेशमा बस्ने नेपालीको संवेदना बोकेर बनेका गीत हिट हुन थालेको देखाउँछ । यही कारण कलाकार यस्ता भाव बोकेका गीत बनाउँदैछन् । ‘मलाई अमेरिका यही’पछि यसखालका थुप्रै गीत आए । ‘सुन साइँली’पछि त्यसको फिमेल भर्सन पनि आयो । अब ‘बोल माया’को भाग दुई पनि आउँदैछ भन्ने सुनिन्छ ।

यो जागरण हो । यस्ता गीत हिट हुनुले विदेशको बसाइ सुखद छैन र अब स्वदेश फर्कनुपर्छ भन्ने चेतना मानिसहरुमा विस्तारै पलाउँदै गएको देखिन्छ । विदेशिएका नेपालीलाई धमाधम स्वदेश फर्काउन कलाकारले यस्ता गीतमार्फत साँस्कृतिक अभियान चलाउन सक्छन् । र अब प्रकाश सपुत र शान्ति परियारहरुले ‘बोल माया’ मात्र हैन, ‘फर्क माया’ पनि गाउनुपर्छ । किनकी, अब कफीनमा शव हैन, जिउँदो मान्छे स्वदेशमै केही गर्ने सपना बोकेर फर्कनुपर्छ । अनलाइन खबरबाट

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: