Todays Nepal
No1 Nepal's Complete News Sites

किन लेखिन सामाजीक सञ्जालमा गायिका ज्योती मगरले आमा बन्ने रहर छ, छोरी भए गर्भपतन गर्छु !

8,773

हरेक समय बिवादको घेरामा आउने वा ल्याईने गायिका ज्योती मगर यसपाली निकै संबेदनशिल बिषयमा आफ्नो गहिरो चिन्तन राखेकी छन् । उनका हरेक जसो बिषयमा सामाजीक सञ्जालमा उछितो काडिएको समयमा उनले राखेको यो बिषयलाई भने निकै चिन्ता र चासोको साथ हेरीएको छ । गायिका ज्योति मगरले विहे भएर सन्तान जन्माउनुपरे छोरालाई मात्र जन्म दिने, छोरी भए गर्भपतन गर्ने भन्दै सामाजीक सञ्जालमा लेखिन उनले यति मात्रै होईन महिलाहिंसाको विषयलाई उठाउँदै उनले प्रतिकात्मक विरोधका लागि यस्तो भनेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा मुना अधिकारीको बयानसम्बन्धि विषयलाई उठान गर्दै मगरले लेखिन्,‘म विहे गर्छु कि गर्दिन थाहा छैन । तर सन्तालाई जन्म दिने इच्छा छ । तर म छोरा भएमात्र जन्म दिनेछु, छोरी भइन् भने गर्भपतन गर्नेछु ।’ उनले चोटिलो रुपमा बिषयलाई ब्याख्या गर्दै अगाडी लेखेकी छन् । ,‘किनकी छोरीलाई जन्म दिएँ भने उनी बलात्कार हुनेछिन् । भाग्यले बाँचिन भने पनि श्रीमान् या ब्वाईफ्रेनबाट हिंसाको शिकार हुनेछिन् । दुवैसँग प्रतिकार गरी लडेर अगाडी बढिन् भने पनि उनलाई छोरी होस् तँ भन्दै ज्योती मगरलाई जस्तै अनेक लाञ्छना लगाउने, उनको स्वतन्त्र भएर लगाउने, खानेर बाँच्ने अधिकार खोस्ने प्रयास हुनेछ ।’

नेपाली समाजमा घरेलु हिँसा कस्तो छ ? त्यसको ज्वलन्त उदाहरण हो उपमेयर काण्ड, २६ वर्ष देखिको यातना सहदै आएकी मुना अधिकारीको हृदयविदारक जिन्दगी
बैशाख १७ गते बुद्ध जयन्तीको दिन । विहान ८ देखि ९ बजेसम्मको एउटा कक्षामा सहभागी भएँ । ललितपुरको गोदावरी नगरपालिकाको उपमेयर भएदेखि शुरु भएको सार्वजनिक जिम्मेवारी निर्वाह गर्ने क्रममा अरु दिन झैं त्यो दिन पनि महिला समूहले आयोजना गरेको कार्यक्रममा अतिथि भएँ । काका ससुराको घरमा आयोजना भएको पार्टीमा सहभागी भइसके पछि सातदोबाटोमा आयोजित एक कार्यक्रममा नगरपालिकाका मेयरसँगै सहभागी भएँ । चार वटा कार्यक्रममा सहभागी हुने क्रममा सयौं पटक श्रीमानको फोन बजिरह्यो । कार्यक्रममा बोल्दै गर्दाको समय बाहेक उहाँले गरेका सबै फोन उठाएँ । प्रश्न थिए–कहाँ छस् ? को सँग छस् ? तेरो वरिपरी को–को छन् ? त्यहाँ के गर्न गइस् ? कति मिनेटमा घर पुग्छेस् ? त मेरो घर नआइज । आज तेरो अन्तिम दिन हो । घरमात्रै आइस् भने खुकुरीमा धार लगाएको छु, थाहा पाउँछेस् भन्दै धम्की दिइरहनु भो । यी अनि यस्ता शब्द र प्रश्न सुनेर मन अमिलो भइरह्यो । आज फेरि घरमा तनाव हुने भो भन्ने लाग्यो । मन आत्तियो । एक्लै घर आउने हिम्मत भएन । भक्तपुरको बालकोटमा रहेकी आमालाई फोन गरेँ । आमा आज मसँगै मेरो घर जाऔं न, ज्वाइँ फेरि बौलाएछन् । यस्तो यस्तो भन्दै हुनुहुन्छ । तपाईं हुनु भो भने केही भन्नु हुन्न की ! भने । आमाले म जानै पर्छ र भन्नु भो । आमालाई पनि दुःख दिन त मन थिएन । तर ममाथि भइरहेको हिंसाको श्रृखंलाबारे आमालाई जानकारी भएकाले मात्रै त्यो दिन हुनसक्ने खतराबाट जोगिन आमालाई आग्रह गरेकी थिएँ । म आमालाई लिन कोटेश्वर पुगिसकेकी थिएँ । तर आमालाई मेरो घर जान मन नभएको बुझेपछि फेरि कोटेश्वरबाट गाडी घुमाएर घर आएँ । घर पुग्दा जग्गा सम्बन्धी विवादको विषयमा कुरा गर्न दुई जना देवरहरु घरमा आउनुभएको थियो । विवादको विषयमा कुरा राखेर उहाँहरु जानु भो । उहाँहरुको अगाडि श्रीमानले एक शब्द समेत बोल्नु भएन । म शारीरिक र मानसिक थकाइले लखतरान थिएँ । उहाँहरु गएपछि ओछ्यानमा पल्टिएँ । उहाँ कोठामा प्रवेश गर्नु भो । चुकुल लगाउनुभयो अनि प्रश्न गर्नु भो ‘तँ दिनभर कहाँ थिइ्स् ?’ मैले आफू गएका र उपस्थित भएका सबै कार्यक्रम बारे, ठाउँ र समयसहित बेलिविस्तार लगाएँ । तर पनि उहाँ कुरा सुन्न तयार हुनुभएन । अपमानजनक शब्द बोल्दै हिर्काउन शुरु गर्नु भो । कहाँ कहाँ, कसरी हिर्काउनु भो थाहा पाइन् । आँखामा हिर्काउँदा त बिजुलीको झड्का लागेजस्तो मात्रै महशुस गरेँ । म ढलें । हार गुहार गर्न थाले । मेरो चिच्याहट सुनेर भाडामा बस्ने भाइहरु आउनु भो । उहाँलाई पिट्नबाट रोक्नु भो । भाईहरु आइसकेपछि यसको आज अन्तिम दिन बनाउँछु भन्ने सोचेको त सकिएन । खै कता गयो त्यो चिज भन्दै यताउता खोज्नु भो । सायद उहाँले मलाई मार्नकै लागि कुनै हतियार लुकाउनु भएको रहेछ । त्यो हतियार के थियो भन्ने चाहिँ देखिन ।

त्यसपछि मैले बालकोटमा रहेको भाईलाई फोन गरेँ । भाई घर पुग्यो । प्रहरीलाई खबर गरियो । मलाई अस्पताल लिएर गयो । उपचार भयो । आँखा निकै सुन्निएको थियो । हेर्न पनि सकिरहेकी थिइन । टोल छिमेक सबैतिर म कुटिएको हल्ला भयो । अर्को दिन महानगरीय प्रहरी परिसर जाउलाखेलको महिला सेलमा घटना बारे निवेदन दिए । त्यही दिन मंगलबार राती साढे १० बजेको समयमा महानगरीय प्रहरी वृत्त सातदोबाटोले मेरो श्रीमान धुव्र कुँवरलाई पक्राउ गर्यो । ममाथि सांघातिक आक्रमण भएकै दिनबाट घटना अगाडि बढाउनु हुन्न भन्ने दबाब आउन थाल्यो । बुधबार म १० बजेभित्रै महानगरीय प्रहरी परिसर जाउलाखेल पुगिसकेकी थिएँ । तर उहाँलाई सातदोबाटोबाट १२ बजेपछि मात्रै जाउलाखेल प्रहरी पुर्याइयो । त्यस पछि फेरि शुरु भयो उहाँको अभिनय । ‘मैले गल्ती गरेकै हो । तिमीलाई अन्याय भएकै हो । तिमीलाई थाहा छ एक हप्तादेखि प्रेसरको औषधी खान छुटेको थियो । त्यो दिन के भयो भयो, मैले आफूलाई सम्हाल्न सकिन । तिमीमाथि अपराध गरेँ । अबदेखि यस्तो हुने कुराको कल्पना नगर । मलाई माफ देउ । तिम्रो खुट्टा ढोग्न तयार छु’ भन्न थाल्नु भो । जाउलाखेल प्रहरीमा मेरो कुरा सुन्ने सुन्ने पक्षमा कोही थिएनन् । एसएसपी आफैले लोग्ने स्वास्नी बीच झगडा कसको हुन्न र ? मिलाउनुपर्छ भन्दै जोस्सिएर कुरा गरिराख्नु भो । उहाँले मेरा कुरा सुन्ने चाहाना नै देखाउनु भएन । त्यही समयमा प्रहरीले नै मेरो श्रीमानले केही दिन अगाडि मानसिक रोगको औषधी खानुपर्ने कुराको प्रमाण नै पेश गर्यो । र मानसिक रोगीलाई प्रहरीको हिरासतमा राख्नै नसकिने भन्दै घटना फिर्ता लिन दबाब दियो । अनि देवरलाई साक्षी राखेर डाक्टरको सल्लाहमा औषधीपोचार गर्ने र म उहाँसँग नबस्ने सहमतिमा कागज बनाइयो । म माइतीमा आएँ ।
०००
मेरो २५ वर्षको जेठो छोरा आर्मीको कमाण्डो तालिममा छन् । कान्छो छोरा बैंग्लोरमा ईन्जिनियरको परीक्षा दिँदैछन् । एक डेढ महिना भित्रै दुवै छोरा आउँछन् । अनि उनीहरु र श्रीमानलाई राखेर अब मेरो निर्णय सुनाउछु–अब धुव्र कुँवर मेरा छोराहरुको बाउ हुन्, मेरो लोग्ने थिए । अब रहँदैनन् । हामी अलग हुन्छौं ।

पेट्रोल छर्केर मार्ने प्रयास
घटना यसैपाली माघ महिनाको हो । याक एण्ड यती होटेलमा नेपाली काँगेसका एक जना नेताको पार्टीमा सहभागी हुनुपर्ने थियो- उपमेयर र काँग्रेस कार्यकर्ताको हैसियतले । पार्टी ६ बजेबाट शुरु भयो । मेरो श्रीमानले मलाई घर पुगिसक्नु पर्ने अन्तिम समय तोकिदिएका छन् – सात बजे । तर म पार्टीमा पुग्दै ७ बज्न लागिसकेको थियो । पार्टीमा नपुग्दै मलाई घर फर्किने तनाब भइसकेको थियो । देखिएकासँग बोल्न पनि भ्याइन । घर पुग्नुपर्ने हतारमा थोरैसँग बोले, धेरैसँग टाढैबाट हात हल्लाएँ । दरबारमार्गदेखि, माइतीघर, थापाथलीको जामले हतारहतार घर पुग्दा ठिक ९ बजेर १७ मिनेट भएको थियो । श्रीमान साथमा नभएको बेला म घर पुगेको त्यो समय सायद मेरो जीवनकै सबैभन्दा ढिलो समय थियो । त्यतिञ्जेल घरमा भएका मेरा लत्ताकपडा, सरसामान सबै घरबाहिर थिए । जलाउनका लागि सबैमा पेट्रोल खन्याइएको थियो । म घर पुग्नेबित्तिकै मेरो पनि टाउकोबाटै पेट्रोल खन्याए । तँलाई ‘७ बजे पछि घर आउने अनुमति कसले दियो ? तँलाई जलाएर मार्छु’ भन्दै लाइटर सल्काउन खोजेपछि म कराउन थाले । त्यो दिन पनि छिमेकीको सहाराले नयाँ जीवन पाएँ ।

काम गर्नेे महिलासँग सम्बन्ध
२०७२ साल, भूकम्प पछि । भूकम्पले चर्किएको घर मर्मत गर्नै बाँकी थियो । मैले खाइ नखाई नोकरी गरेर कमाएको पैसाले बनाएको घर चर्किए पछि निकै तनाव थियो । तर घर बनाउने कुरामा उहाँलाई कुनै चिन्ता र चासो नै थिएन । मेरै सासू लगायत छिमेकीले मेरै घरमा दिउँसो काम गर्न आउने महिलासँग उहाँको सम्बन्ध छ भन्दै मलाई बारम्बार भनिरहन्थे । तर मलाई चासो नै भएन । कुरा सुन्दा मन त दुख्थ्यो, तर दिनभर जागिर गरौं कि उहाँको चियो गरेर बसौं भन्दै सुनेको नसुन्यै गरेर हिँडे । विहे पश्चात उहाँको अधिकांश समय यसरी नै बित्यो । दुई चार दिन काम गर्यो । काम छोड्यो । त्यहाँबाट आएको पैसाले जाँड खायो । आज एक, भोली अर्को गर्दै कैयौं महिलासँग मोज मस्ती गर्यो । उहाँलाई छोराछोरी र हामी श्रीमतीप्रति न माया न विश्वास । महिला फेरिरहनुपर्ने सायद उहाँको जीवनको सबैभन्दा ठूलो सोख, लक्ष्य अनि कमजोरी पनि । उहाँलाई जीविकोपार्जनका लागि काम गर्नुपर्छ भन्ने पनि लाग्दैन र गर्नु पनि भएन । मैले कमाएको पैसाले जाँड खाने अनि मलाई नै पीडा दिने । एक दिन म अफिस गएको बेला देवर नाता पर्नेहरुले मेरो श्रीमान र काम गर्ने महिला दक्षिणकाली मोटरसाइकलमा घुम्न गएको कुरा सुनाए । अनि हामी पनि पिछा गरेर दुबैलाई पक्रिने योजना बनाई दक्षिणकाली गयौं । ती महिलाले मोटरसाइकलमा बसेर मेरो लोग्नेको कम्मरमा अँगालो हालेकी थिइन् । बीच बाटोमा समात्यौं । महिलालाई देवरले मेरो स्कुटरमा राखेर घरमा आई उसको लोग्ने सामु बुझाउने योजनासहित ल्याउनु भो । म अर्को देवरको बाइकमा बसेर फर्कियौं । दक्षिणकालीबाट सातदोबाटो पुग्दासम्म मेरो श्रीमानले सयौं पटक फोन गरेर धम्की दिनु भो । सेतो कपडा पनि किनेर लैजा । तैले मेरो बेइज्जत गरिस् । अब बाँचेर काम छैन भन्दै धम्काउन थाले । अनि ति महिलाका श्रीमानले पनि दुई छोराको मायाले श्रीमतीको गल्तीलाई माफी दिए । मैले पनि मेरो श्रीमानलाई माफी दिएँ ।

नाङ्गो फोटो टाँस्ने धम्की
मैले २०५२ सालदेखि गोल्छा कम्पनीमा काम सुरु गरे । त्यहाँ काम गर्दा एक पटक मैले राखी बानेको दाईको छोराको पास्नीको निम्तो आयो । मलाई भो तनाव । श्रीमान बिना पास्नीमा आउँदिन भने पछि दाईले ज्वाइँलाई पनि पास्नीको पार्टीमा बोलाउनु भो । मेरो अफिसको एकाउन्ट सेक्सनमा म मात्रै महिला थिएँ । पार्टीमा अरु सहकर्मीहरु पनि आउनुभएको थियो । उहाँहरुसँगै मेरो श्रीमानले मदिरा सेवन गरे । म कहिल्यै रक्सी खान्न । खाना खाएर उहाँहरुलाई कुरें । पार्टी सकिएपछि सँगै घर फर्कियौं ।
घर फर्केपछि शुरु भइहाल्यो उहाँको आरोप । पार्टीमा आएका सबै पुरुषकी म साझा गर्ल फ्रेण्ड भन्ने आरोप लगाउनु भो । अनि धम्की दिन थाल्नुभयो – तेरो अनुहारको फोटो कुनै नाङ्गो फोटोमा जोडेर पोष्टर बनाउछु । तेरो अफिसको भित्ता भित्तामा टाँस्छु । अनि के गर्छेस् र ? सहन सक्दिनस् आत्महत्या गर्छेस् भन्दै भन्दै तनाव दिनु भो । कार्यालयमा हुँदा सहकर्मीले आयोजना गर्ने कैयौं पार्टीहरुमा म जान सक्दिनथेँ । मिल्ने साथीहरुले निमन्त्रणा गर्दा दिउसोको समयमा राख्नुस् भन्थे । मेरै आग्रहमा कतिपयले दिउसो राख्ने पनि । सबैलाई त के नै भन्नु र । घरको पीडा छताछुल्ल हुने डर । रातको समयमा पार्टीमा जाने कुरा त मेरा लागि एका देशको कथा जस्तै । उहाँलाई सँगै जाऔं भन्दा पनि नजाने । मलाई अनुमति दिने कुराको त के कल्पना गर्नु र । अनि सहभागी हुनै सक्दिनथेँ ।

२६ वर्षदेखि यातनाको श्रृंखलाम भर्खर १९ वर्षकी थिएँ । पढ्दै जागिर गर्ने सिलसिलामा २०४८ सालमा चितवनमा उहाँसँग भेट भो । सम्पन्न परिवारकी मलाई जागिर गर्नै पर्ने बाध्यता नभए पनि केही गर्नुपर्छ भन्ने सोचले चाइनिज इटा टायल कम्पनीमा लेखापालको रुपमा काम गर्न थाले । उहाँ त्यही कम्पनीको मेनेजर । दिनहुँको भेटघाट र संगतले प्रेम बस्यो । उहाँ क्षेत्री, म बाहुन । जात नमिल्ने । तर पनि मान्छेको जात भन्दा मन हेर्नुपर्छ भन्ने विचार थियो मेरो । उहाँले मलाई निकै प्रभावित गर्नु भो । विहे गरेर खुसीको जीवन बिताउने सपना देखाउनु भो । उहाँको पारिवारिक आर्थिक अवस्था, शैक्षिक अवस्था, पारिवारिक पृष्ठभूमि केही जानकारी लिइन मैले । श्रीमान राम्रो भए सबै राम्रो हुन्छ भन्ने लाग्थ्यो । मैले परिवारलाई जानकारी नदिइ उहाँसँग भागे । भागेर ईण्डिया गयौं । बिहेको एक महिनामै गर्भ बस्यो । आठ महिनाकी गर्भवती हुँदा नेपाल आयौं । नेपाल आए पछि मात्रै थाहा पाएँ की, उहाँको त घरमा श्रीमती, दुई छोरी र एक छोरा रहेछन् । मैले लोग्नेबाट धोका पाएको बुझेँ । त्यो समयमा माइतीतिरकाले छुटाउनका लागि अति कोशिस गरे । पेटमा उसैको सन्तान छ । उसलाई छोडेर म कहाँ जाऔं ? सन्तानलाई कसको नाम दिऔं भन्दै माइतीको कुरा सुनिन । उहाँकै पछि लागें । ललितपुरमा उहाँको घरमा जेठी श्रीमती र छोराछोरी बस्थे । म कोठा भाडामा लिएर बस्न थाले । उहाँकी जेठी श्रीमती देखेर मलाई हिनताबोध हुन्छ । सोच्दै नसोचेको कुरा भोग्नु परेपछि मान्छे विरक्त हुँदोरहेछ । मेरो जीवनमा सौता हुन्छ र छ भन्ने कुराको कल्पना समेत नगरेकी म अनजानमा उहाँको सौता हुन पुगे । तर उहाँप्रति मलाई सम्मान छ । म उहाँको जीवनमा सौता बनेर जाँदा उहाँलाई कति पीडा भयो होला ? म त्यो कुराको महशुस गर्छु । तर उहाँले जबदेखि मलाई बिहे गर्नु भो जेठीलाई फर्केर पनि हेर्नु भएन । मेरो श्रीमती हो भन्ने अलिकति पनि महसुस गर्नुभएन । त्यसकारण पनि मैले उहाँबाटका दुई छोरीको बिहे आफै गरिदिएँ । छोरालाई पनि आफैले जागिर लगाइदिएकी छु । उहाँ बिरामी हुँदा आफैले स्याहार सम्भार गरेकी छु । पिठिउँमा बोकेर एम्बुलेन्ससम्म पुर्याएकी छु । उहाँप्रति मलाई कुनै गुनासो छैन । २०४९ सालमा जेठो छोरा जन्मियो । २०५२ सालमा कान्छो छोरा । कान्छो छोरा ६ महिनाको हुँदा भाउजुको सहयोगमा गोल्छा कम्पनीमा लेखापालको जागिर पाएँ । २०५२ फागुन २ गतेबाट शुरु भएको गोल्छा कम्पनीको जागिर २०७३ सालसम्म गरेँ । उपमेयरमा उम्मेदवारी दिएसँग जागिर छोडें ।

निर्वाचनमा श्रीमानको साथ
चितवनमा हुँदा म नेविसंघको सक्रिय सदस्य थिएँ । उहाँसँग बिहे पछि मेरो राजनीतिक यात्रा टुंगिए जस्तै थियो । पछिल्लो चरणमा नेपाली काँग्रेसका पुरुषोत्तम सिलवाल, विजय सिलवाल, रमेश सिलवालले पार्टीमा लाग्न सुझाव दिनुभयो । उहाँहरुको सहयोगले राजनीति र समाजसेवा गर्ने मेरो चाहाना पुरा हुने भो भन्ने लाग्यो । म पनि पार्टीमा क्रियाशील हुँदै गएँ । ललितपुरको पार्टी ईकाइ कमिटी सदस्य, काँग्रेस गोदावरीको कोषाध्यक्ष भएर काम गर्ने अवसर पाएँ । पार्टीले उपमेयरको टिकट दियो । जनताको विश्वासले चुनाव जितियो । चुनावताका श्रीमानले निकै सहयोग गर्नु भो । आफन्त, नातागोता सबैलाई आग्रह गर्नु भो । पैसा खर्च गर्नु भो । उहाँ साँच्चिकै सुध्रिनु भो भन्ने लाग्यो । तर जब चुनाव जितियो । मान्छेसँगको भेटघाट र आवतजावत बढ्न थाल्यो । अनि शुरु भयो उहाँको विगत । लोग्ने मान्छे नामको जो सुकै होस्, उहाँलाई फरक पर्दैन । मेरो र उसको नाम जोडेर यातना शुरु भइहाल्ने । कार्यक्रममा छु भन्दा तेरो छेउछाउमा को छ फोन दे त भन्दै अरुलाई मेरो श्रीमानसँग कुरा गराइदिनु पर्ने । कार्यक्रममा बस्दा होस् या अफिसमा । लिनु न मेरो श्रीमानसँग कुरा गरिदिनुस् भनेर कति जनालाई कति पटक भन्नु ?
त उपमेयर भएर के गर्छेस्, सिन्को भाँच्न सक्दिनस् । तेरो ठाउँमा पुगेका अरुले कति कमाउछन्, तेरो कमाई खोई ? भन्ने । त सक्दिनस् भने मलाई जानकारी दे, म गर्छु भन्ने । म जनप्रतिनिधि, जनताको काम गर्न गएको मान्छे । भ्रष्टाचार गर्न सक्दिन, गर्दिन पनि ।

अबको बाटो
म उपमेयर अर्थात् न्यायिक समितिको संयोजक । उहाँसँग बिहे भईसकेपछिका २६ वर्ष उहाँका प्रश्न, आरोप, कुटपिट, गाली बेइज्जती र अपमान सहेर बिते । मेरो स्वतन्त्रता के हो ? मैले खोजिन । प्रेम विवाह गरेका कारण माइतीमा पनि धेरै भन्ने आँट गरिन । सके जति सहेर बस्ने सोच बनाए । तर उहाँको प्रेम पाउने र जीवन खुसी हुने मेरो कल्पना कल्पनामै सिमित भो ।
निर्वाचन जितिसकेपछि उहाँले पटक पटक, हरेक दिन, हरेक घण्टा प्रश्न गर्न थाले पछि म सँगै हिँडिदिनुस् । म के के गर्छु । को को सँग भेट्छु । मेरो काम, कर्तव्य के हो बुझिदिनुस्, सँगै हिँडिदिनुस् भनि आग्रह गर्दा समेत म तेरो भरिया हो र त सँगै हिँड्नलाई भन्ने । उल्टै अरु अरु उपमेयर महिलाका श्रीमानको नाम लिएर उ जस्तो जोईटिंग्रे होइन म भन्ने । यसो गर्दा पनि नहुने, उसो गर्दा पनि नहुने । अब मेरो व्यक्तिगत जीवन मात्रै रहेन । हिजोसम्म म एक जना मुना अधिकारी मात्रै थिएँ । आज म ललितपुर जिल्लाको उपमेयर हो । अझ यस्ता खालका हिंसा र यातना विरुद्ध न्यायिक लडाइँ लड्नु पर्छ भन्दै अरुलाई न्यायका लागि अघि बढ्न हौसला दिने पदमा छु । म जस्तो महिलालाई त लोग्नेको पीडा बोकेर प्रहरी कार्यालय जाँदा प्रहरीले मिल्नुपर्छ भन्दै दबाब दिन्छ भने देशको दुर दराजका महिलाको अवस्था के होला ? अब म यो भन्दा धेरै लोग्नेको यातनाको शिकार हुन चाहन्न । अब न्यायिक लडाइँमा जान्छु । ललितपुरवासीको विश्वासले यो ठाउँमा आएकी छु । अबका चार वर्ष जनताको पक्षमा धक फुकाएर काम गर्ने सोच बनाएकी छु । निर्वाचन जिते पछिको एक वर्ष जनताको काम भन्दा धेरै श्रीमानका प्रश्न र छेकबारहरुको सामना गर्दै बित्यो । अब मलाई जनताको काम गर्ने कुरामा कुनै र कसैले तोकिदिएको समय सीमाले अर्थ राख्ने छैन । कुनै गोष्ठी, सेमिनारको चिठी आउँदा कसरी जाने होला भन्ने कुराले तनाव हुने छैन । जतिसुकै बेला जनताले बोलाएको ठाउँमा जानबाट कसैले रोक्ने र छेक्ने छैनन् । म स्वतन्त्र हुनेछ । (महिलाखबरको लागि लोग्शरी कुँवर र प्रतिमा सिलवालसँग गरिएको कुराकानीमा आधारित)

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: