Todays Nepal
No1 Nepal's Complete News Sites

मलेसियामा दुर्घटनामा परेर फर्किएका खेमबहादुर घर्तीले पाए बीमा रकम

8,897

मलेसियामा दुर्घटनामा परेर फर्किएका नवलपरासीको धौबादी–२ जुकेपानीका खेमबहादुर घर्तीलाई बीमा कम्पनीले चार वर्षपछि बीमा बापतको रकम दिएको छ ।

घाइते भएर फर्किएका खेमबहादुरका परिवारले सुरुमै क्षतिपूर्तिका लागि पहल गरेपनि प्राइम लाइफले खेमबहादुरले गरेको बीमाको नीतिभित्र नपरेकाले क्षतिपूर्ति दिन नसक्ने बताएको थियो । खेमबहादुरले बीमा गर्दा दुर्घटनामा परि अङ्गभङ्ग भएमा क्षतिपूर्ति दिइने भनिएको थियो ।

बीमा गर्दाको नीतिको व्याख्या अनुसार अङ्गभङ्गको अर्थ शरिरका अङग छुट्टिए मात्रै क्षतिपूर्ति पाउने प्राइम लाइफको तर्क थियो । खेमबहादुरका विषयमा उज्यालोले बुझ्दा इन्स्योरेन्स कम्पनीका प्रतिनिधिले नीतिभित्रै नपर्ने भन्दै क्षतिपूर्ति दिन नसक्ने बताएका थिए ।

तर खेमबहादुरको परिवारले बीमा समितीमै उजुरी हालेपछि प्राइम लाइफ पीडितलाई बीमा बापतको रकम दिन बाध्य भएको हो । एक वर्षसम्म पाँच लाख रुपैयाँ दिने बताएको कम्पनी त्यसपछि भने नीतिभित्र नपर्ने भन्दै पन्छिएको थियो ।

खेमबहादुर अहिले पनि ओछ्यानमै हुनुहुन्छ । उहाँको टाउको बाहेक शरीरका अरु कुनै अङ्ग चल्दैनन् । खानपिन पनि ओछ्यानमै अनि दिसा पिसाव पनि ओछ्यानमै गराउनुपर्छ उहाँलाई ।

२०६९ सालमा मलेसिया गएका खेमबहादुरले दुई वर्षसम्म होटल र सेक्युरिटी गार्डमा काम गर्नुभयो । महिनाको ९ सय भन्दा धेरै तलव भएन । त्यसमा पनि बसेको भाडा र लेवि काट्दा पैसा बचाउन मुस्किल परेपछि बाहिर काम गर्ने क्रममा दुर्घटनामा पर्नुभयो ।

मलेसियामै केहि समय उपचार गराएर उहाँलाई नेपाल ल्याइयो । मलेसियामा उपचार गराउँदा घरबाट मगाएर दुई लाख रुपैयाँ खर्च भयो अनि काठमाडौं ल्याएर पनि ७ महिना उपचार गरियो ।

‘जम्मै गरेर झण्डै ८/९ लाख रुपैयाँ खर्च भयो’ खेमबहादुर भन्नुहुन्छ ‘जग्गा बेचेर दुई लाख रुपैयाँ र्तियौं तर अरु त बाँकी नै छ’ विदेशमा दुर्घटनामा परेपछि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट उहाँले क्षतिपूर्ति पाउनुभयो तर बिमा गरिएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी भने बीमा बापतको रकम दिनबाट पन्छिएको थियो ।

खेमबहादुरलाई बीमा बापतको रकम दिलाउन नवलपरासीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले प्रयास गरेको हो । आफूले मात्रै पहल गर्दा बीमा कम्पनीले क्षतिपूर्ति दिन नमानेपछि झण्डै ६ महिना अघि केन्द्रको सहयोगमा परिवारले बीमा समितीमा उजुरी दिएको केन्द्रकी परामर्शकर्ता रञ्जना लम्सालले जानकारी दिनुभयो । ‘बीमा समितीले कारबाही गर्ने भएपछि खेमबहादुर जीको घरमै पुगेर ४ लाख ७५ हजार १ सय ४२ रुपैंयाँ क्षतिपूर्ति दिएको छ ।’ लम्सालले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: