Todays Nepal
No1 Nepal's Complete News Sites

मिस्टर पानवालाः पढाइ पाँच, कमाइ पाँच लाख

9,040

पहिले गुण्डाले थर्काउथे, अहिले प्रहरीले

‘पानको पात, मायालुलाई सम्झन्छु दिनको रात’

‘पान त किनें, सुपारी किनिनँ’

जसरी गीतमा ‘पान’ चटनी बन्छ, उसैगरी जिब्रोमा पनि । पानले प्यास मेट्दैन, भोक मेट्दैन । तर, जिब्रोको छटपटी शान्त गर्छ । पान भनेकै जिब्रोको लागि हो । तर, जिब्रोको लागि मात्र पनि होइन ।

ककटेल पार्टीदेखि धार्मिक अनुष्ठानसम्म ‘पान’ चल्छ/चाहिन्छ ।

मिठो-मसिनो परिकारले पेट भरेपछि मुखको तलतल मेट्न पानको बुझो हाल्ने गरिन्छ । पूजा-पाठमा ‘पबित्र’ मानेर पानको पात चढाइन्छ । मुखको दुर्गन्ध हटाउन, घाँटीको सफाई गर्न, पेटको पाचन क्रिया चुस्त राख्न पान चपाइन्छ । स्वस्थानी पूजादेखि भाईटिकासम्ममा विधिका लागि पान चाहिन्छ । पानको बखान गरेर साध्य भए पो !

तर, बखान पानको होइन, ‘पानवाला’को हो । चलन चल्तीको भाषामा पानवाला नै सही, यद्यपी उनलाई ‘पान मास्टर’ भनिदिए हुन्छ । अर्थात रंजित शाहलाई ।

पानवाला होइन पान मास्टर

रंजित शाह, चाहे रंजित भैया भनौं वा पानवाला । फरक पर्नेवाला छैन । किनभने उनी यसै नामी छन् । यसै दामी छन् । दामी यसकारण कि, उनी पानमा आफ्नो श्रम मात्र मिसाउँदैनन्, शिल्प पनि मिसाइदिन्छन् । पच्चिस थरीको मसलासँगै आफ्नो हातको कला नमिसाउने हो भने उनको सानो ‘दुकान’ अघिल्तिर पान चपाउनेको भिड जम्ने थिएन । पान पारखीको भिड हटाउन हरेक रात प्रहरी आउनुपर्ने थिएन ।

तर, रंजित शाह पारखीलाई पान मात्र चखाउँदैनन् । आफ्नो कला पनि देखाउँछन् । त्यही कारण त उनको हातबाट बन्ने पानको स्वाद लिन टिनएजर्सदेखि प्रशासनिक निकायका अधिकारी, कलाकर्मीसम्मको भिड लाग्छ ।

राजधानीमा उनले मात्र पानको दोकान थापेका छैनन् । गल्ली-गल्लीमा पान दोकान छ । तर, किन रंजित शाहकै हातबाट पानको तिर्सना मेट्नुपर्ने ?

किनभने, उनी पानको पातमा केही थरीका मसला पोको पारेर आफ्नो धन्दा मात्र चलाउँदैनन् । मन लगाएर पान बनाउँछन् । मसलाको मात्रा मिलाउँछन् । शुद्धतामा ध्यान दिन्छन् । स्वादमा ख्याल गर्छन् । र, आकर्षक ढंगले सर्भ गर्छन् ।

उनकै भनाईमा ‘क्वालिटी मेन्टेन’ गरेका छन् । क्वालिटी मेन्टेन गर्नकै लागि उनले पानको पातदेखि त्यसमा मिश्रण गरिने मसलाको स्तरमा ‘सम्झौता’ गरेका छैनन् ।

खास्सा कुरा त के भने, उनी तीन थरीका पानलाई सयथरीको स्वादमा पेश गर्न सक्छन् । मिठा, सादा वा जर्दा पानभित्र पनि उनी अनेकथरी स्वाद र फ्लेबर मिसाइदिन्छन् । केही यस्ता पान छन्, जो रंजित मास्टरको हात बाहेक अन्यत्र सायदै बन्छ ।

दाल वा भात पकाउने शिल्पलाई ‘पाक कला’ भनिन्छ । २५ थरीका मसला मिसाएर पान तयार गर्नु पनि ‘कला’ नै हो । कुन मसला कति मात्रामा मिलाउने ? कसरी मिलाउने ? त्यो पानवालाको हातको खेला हो ।

यस्तो खेलाभित्र पनि कला मिलाएमा त्यो थप तिख्खर बन्छ । रंजित शाहको पानमा त्यस्तै कला मिश्रण हुन्छ ।

आइस पानदेखि सुत्केरी पानसम्म

पानको मेनुमा हामीसँग केवल तीनवटा भेराइटी छ, मिठा, जर्दा र सादा । रंजित शाहकै भनाईमा मिठा पानका पारखी अधिक छ । करिब ८० प्रतिशत । बाँकीले शादा र जर्दा खान्छन् ।

तर, यही तीन थरीका पानभित्र पनि थरीथरीका स्वाद र फ्लेबर पाउन सकिन्छ । यसरी स्वाद र फ्लेबर मिसाउने खास कला छ, रंजित शाहसँग ।

उनको मेनुमा पानको २० वटा भन्दा बढी भेराइटी छ । आइस पान, चकलेट पान, गुड नाइट पान । सुत्केरी पान (सुत्केरी अवस्थामा सेवन गर्दा फाइदा हुने) । पानमा चकलेट फ्लेबर मिसाएपछि, चकलेट पान । आइस मिसाएपछि, आइस पान । यसरी जतिपनि स्वाद र सुगन्ध मिश्रण गर्न सकिन्छ । त्यो सबै आफ्नो हातको कला हो ।

रञ्जित शाह भन्छन्, ‘एकैथरी पान बनाइरहँदा दिक्क लाग्छ । त्यसैले पानलाई कसरी फरक स्वाद दिने भनेर ट्राई गर्छु ।’

बाहिर घुमफिर गर्न जाँदा खाएको पान होस् वा आफ्नै अक्कलले मिश्रण गरेको पान, उनी नयाँ स्वाद र नयाँ फ्लेवर दिन हरदम उत्सुक हुन्छन् । भिन्न स्वादको पान तयार गर्छन् । नियमित ग्राहकलाई चखाउँछन् । आफै मार्केटिङ गर्छन् । यसरी उनले पेश गरेको नयाँ स्वाद लिन ग्राहकको भिड लाग्छ ।

२५ रुपैयाँदेखि १५ सयसम्म

मूल्य सुनेर जिब्रो टोक्नुपर्दैन, एउटै पानको मूल्य १५ सय रुपैयाँ पर्छ । किन पर्छ ? किनभने त्यसमा मिश्रण गरिने मसलाको गुणस्तर र मूल्य महंगो हुन्छ । दुर्लभ पनि ।

रंजित शाहको हातबाट बन्ने १५ सय मूल्यको पान खाने ग्राहक पनि संभवत दुर्लभ नै होलान् । यद्यपी उनले परिआएको अवस्थामा एउटै खिल्ली पानलाई पनि सैयौं मूल्यको बनाइदिन सक्छन् । पानको नाम हो, गुडनाइट पान । यो मिठा पानकै उन्नत भेराइटी हो ।

त्यसबाहेक उनले ग्राहकको डिमान्ड अनुसार २५ रुपैयाँदेखि ५०, ७५, १००, २५० रुपैयाँ बराबरको पान तयार गरिदिन्छन् ।

पढाई पाँच, कमाई लाख

डिग्री पासको प्रमाणपत्र काखीमा च्यापेर ‘बेरोजगार भइयो’ भन्दै हिँड्ने होस् वा ‘यहाँ बसेर काम छैन’ भन्दै स्टुडेन्ट भिषा बोकेर कन्सल्टेन्सी धाउने होस् । या त, ‘गरिखान पाइएन’ भन्दै बैदेशिक श्रम भिषाका लागि मेनपावर कम्पनीको चक्कर काट्ने होस् । ति सबैले रंजित शाहको ‘कर्म’बाट पाठ सिक्न सक्छन् ।

ओंठ माथि जुँगाको रेखी नबस्दै सुनसरीको लौकहीको मूल घर छाडेर काठमाडौं आएका रंजितसँग ‘एकेडेमिक क्वालिफिकेशन’ थिएन । बिदेश जाने पैसा थिएन । थियो, दाईको पान दोकान । जावलाखेलमा । त्यही दोकानमा उनले पान बनाउन सिके ।

पान बनाउन मात्र सिकेनन्, बेच्न पनि सिके । बेच्न मात्र सिकेनन्, ग्राहकको जिब्रो लोभ्याउने कला सिके । अन्ततः कमलपोखरी चोकमै आफ्नो छ्टै पसल खोले, सानो सटर लिएर । २० बर्ष अघि । सटर भाडा थियो, पाँच हजार रुपैयाँ ।

नजिकै डेरा लिए । आफ्नो काम-धन्दा सुरु गरे ।

सुरुका दिनहरुमा उनको पान दोकान त्यस्तै थियो, जो अरुका हुन्थे । सामान्य ग्राहक । सामान्य कमाई । काठमाडौंमा गुजारा चल्थ्यो ।

तर, पान बेच्ने ‘धन्दा’मा मात्र उनी अघाएनन् । देश-परदेश घुमफिर गरे । पान दोकान चाहरे । पानलाई कसरी थप स्वादिलो र स्वस्थ्यकर बनाउन सकिन्छ भनेर घोत्लिए । र, आफ्नो हातले थरीथरीका पान बनाउने अभ्यास गरे । गरिरहे ।

क्रमस ग्राहक तानिदै गए । रंजित शाहको हातबाट बन्ने पान चपाइसकेपछि ग्राहकहरु फर्की-फर्की आउन थाले । एक कान दुई कान मैदान भयो । उनको पान दोकान अघिल्तिर थामिनसक्नु भिड जम्न थाल्यो । अवस्था यस्तो आइदियो कि, दिनमै चार सय खिल्ली पान बनाउने । औसत दिनमै चार सय खिल्ली बिक्री गरे/गरिरहेका छन् । पचास रुपैयाँकै हिसाबले पनि उनी दिनकै हजारौं कमाउँछन् ।

अक्सर रात परेपछि उनको पान पसलमा भिड लाग्न थाल्छ । त्यो भिड त्यसबेलासम्म पातलिदैन, जबसम्म प्रहरी आएर जबरजस्ती सटर बन्द गरिदिदैन । यतिबेलासम्म रातको १० बजिसकेको हुन्छ । बल्ल रंजित शाहको यन्त्रवत हातले विश्राम पाउँछ ।

पानको धित मार्ने देश-परदेशका ग्राहक

रंजित शाहको पानको स्वादले नअघाएका ग्राहकहरु कति छन् कति । त्यस्ता ग्राहक, जो २० बर्षदेखि हरेक दिन उनको दोकान अघिल्तिर पानको तिर्सना बोकेर आइपुग्छन् । यस्ता ग्राहकको सूचीमा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्यदेखि अहिलेका किशोरपुस्तासम्म छन् ।

अनलाइनखबरसँग कुराकानी गरिरहँदा पनि किशोर-किशोरीको झुन्ड-झुन्ड आइपुग्थे, मिठा पान अर्डर गर्न । कतिले त्यही पान चपाउँथे । कतिले प्याकिङ गरेर लान्थे ।

‘बिदेशमा समेत मेरा पान खाने ग्राहक छन्’ भनिरहँदा उनी निकै मख्ख देखिन्थे । बिदेशमा आफै पान निर्यात गर्ने नभई आफन्त, साथीभाई, इष्टमित्रका लागि रंजित शाहको हातबाट बन्ने पान ‘गिफ्ट’ लगिदिने चलन रहेछ ।

‘त्यसरी बिदेश लाने पान सात/आठ दिनसम्म पनि नबिग्रने गरी तयार गरिदिन्छु’ भन्दै उनले थपे, ‘यहाँ पनि घर-घरमा पान लगेर खानेहरुका लागि प्याकिङको व्यवस्था छ ।’

आधासरो ग्राहक त प्याकिङ गरेर पान लान्छन् । यसरी प्याकिङ गरेर लानेमा उच्च प्रशासनिक निकायका अधिकारीदेखि सुत्केरीका आफन्तसम्म हुन्छन् । सुत्केरीका लागि उनकोमा ‘सुत्केरी पान’ बन्छ । उनकै भाषामा ‘सुत्केरी पानले रगत सफा गर्छ, जिउ दुखेको सञ्चो हुन्छ ।’

पहिले गुण्डाले थर्काउथे, अहिले प्रहरीले

जतिबेला उनी पान व्यवसाय सुरु गर्दै थिए, त्यसबेला टोले गुन्डाको हप्कीदप्की खेप्नुपथ्र्यो । मधेसी, भैया, पानवाला भन्दै हियाएर थर्काउने ‘निशुल्क ग्राहकहरु’को अघि उनले कहिल्यै चर्को स्वर गरेनन् । औंला ठड्याउने हिम्मत गरेनन् । किनभने उनलाई लाग्थ्यो, सयमा एक जना नराम्रो हुन्छ नै । र, उनलाई के पनि लाग्थ्यो भने, त्यस्ता एक जनाले केही बिगार्न सक्दैन ।

बिगारेन पनि ।

सित्तैमा पान मागेर खानेहरु आफै लाखापाखा लागे । अहिले उनले त्यस्तो हप्कीदप्की खेप्नु परेको छैन, सुकुलगुन्डोबाट ।

तर, अहिले प्रहरी-प्रशासनबाटै त्रस्त छन् । ग्राहकको भिड लागेकै बखत प्रहरीको भ्यान आउँछ । जबरजस्ती सटर तानिदिन्छ । यसो भन्दै, ‘रातभर खोरमा बस्नु पर्ला नि ।’

उनी लुरुलुरु सटरको ताल्चा मारेर आफ्नो डेरातर्फ लम्कन्छन् । प्रहरी खोर अहिलेसम्म थुनिएका छैनन् । थुनिएका एकाध साथीभाईलाई आफ्नो जमानीमा छुटाउन भने पुगेका छन् ।

उनले पान व्यवसाय गरेर राज्यलाई तिर्नुपर्ने दायित्व तिरेकै छन् । अवैंध धन्दा चलाएका छैनन् । तैपनि निर्धक्कसाथ आफ्नो व्यवसाय गर्न उनलाई छुट छैन । राती १० बजेपछि उनले प्रहरीको गाली खान तयार हुनुपर्छ ।

‘राती हुनसाथ प्रहरी आएर बन्द गर्ने दबाब दिन्छ’ उनको गुनासो छ, ‘बन्द गरौं, कति ग्राहक रित्तै र्फकनुपर्छ । बन्द नगरौं प्रहरी खोरमा थुनिनुपर्छ ।’

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: