Todays Nepal
No1 Nepal's Complete News Sites

मोदीको सम्बोधनमा ५०,००० मान्छे उतार्न सरकारको कसरत, थप भारतीय सुरक्षाकर्मी नेपाल आउँदै

9,034

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्र्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ । मोदीले आसन्न राजकीय भ्रमणमा नेपालसँग एकसाथ राजनीतिक, विकास साझेदारी र धार्मिक सम्बन्ध सुदृढ भएको सन्देश दिन चाहेका छन् । खासमा तीन वर्षअघि नेपाल आउँदाको सकारात्मक छवि पुनस्र्थापनामा उनले जोड दिनेछन् ।

२८ र २९ वैशाखमा मोदी नेपाल आउने तय भएको छ । नेपालसँग नाकाबन्दीपछि निम्तिएको तीतोपना पूर्ण रूपमा मेटाउने उपाय दिल्लीमा राजनीतिक र प्रशासनिकस्तरमा भइरहेको छ । भ्रमणमा मोदीले दिने भनिएको आकर्षक सहयोग प्याकेज के गर्ने अझै निश्चित भइसकेको छैन । भारतको नेपाल नीतिका जानकार डा। निहार नायकका अनुसार मोदीको पहिलो नेपाल भ्रमण २०७१ साउनको जस्तो सम्बन्ध नेपालसँग बनाउने गरी दिल्लीमा कसरत भइरहेको छ । ‘भारतले नेपाल मात्र होइन, समग्र छिमेक नीतिकै समीक्षा गरिरहेको छ । प्रधानमन्त्री मोदीको चीन भ्रमणपछि नेपालसहितका अन्य देशमा होइन, अब पाकिस्तानसँग पनि सम्बन्धमा नयाँपन आउने सम्भावना देखिन थालेको छ,’ नायकले भने ।

आगामी अगस्टमा सांघाई कोअपरेसन अर्गनाइजेसनको आयोजनामा रुसमा भारत र पाकिस्तान संयुक्त सैन्य परेडमा सहभागी हुने तय भएको छ । यसलाई भारत–पाकिस्तान सम्बन्ध सुधारको संकेतका रूपमा बुझ्नुपर्ने र यसबाट भारतको दक्षिण एसिया नीतिमा नै परिवर्तन आउन सक्ने अर्थमा बुझ्नुपर्ने नायक बताउँछन् ।

जानकारहरूका अनुसार छिमेकसँग सम्बन्ध सुधारका लागि मोदी सरकारमाथि भारतभित्रै चर्को दबाब बढेको छ । दक्षिण कोरिया र उत्तर कोरियाको पछिल्लो वार्ताले भारत र पाकिस्तान सम्बन्ध सुधारमा थप दबाब सिर्जना गरेको बुझाइ जानकारहरूको छ । चीन मामिलाविज्ञ विजयकेशव गोखले विदेशसचिव बनेपछि मोदी सरकारको चीन नीतिमा पनि देखिने गरी सुधार आएको छ । चीनसँगको सम्बन्धले भारतको समग्र छिमेक नीति र विशेषगरी नेपाल नीतिमा पनि दीर्घकालीन परिवर्तन आउने नायकको विश्लेषण छ ।

‘०७१ मा भारतीय प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मोदीले पारेको सकारात्मक प्रभाव पुनस्र्थापना गर्न चाहन्छन्,’ नेपाल भारत सम्बन्धका अर्का जानकार पूर्वमेजर जनरल अशोक मेहताले नयाँ पत्रिकासँग भने ।

जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी, बाह्रबिघामा मोदीका तीन हेलिकोप्टर अवतरण गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका हेलिकोप्टर पटनाबाट उडेर जनकपुर बाह्रबिघामा अवतरण गर्नेछन् । वरिष्ठ मन्त्रीले उनलाई त्यहीँ स्वागत गर्ने कार्यक्रम छ । मोदीको भ्रमणमा तीन हेलिकोप्टर आउँदै छन् ।

बाह्रबिघाबाट मोदी सीधै जानकी मन्दिर पुग्नेछन्, जहाँ प्रधानमन्त्री केपी ओलीले स्वागत गर्नेछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्याललाई उद्धृत गर्दै राससले जनाएअनुसार दुवै प्रधानमन्त्रीले रामायण परिपथ उद्घाटन गर्नेछन् । लगत्तै प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा सहभागी हुनेछन्, प्रधानमन्त्री ओली काठमाडौं फर्किने छन् ।

जनकपुरमा भारतीय सुरक्षाकर्मी, थप आउँदै
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार यहाँको सुरक्षा अवस्था बुभ्mन भारतीय सुरक्षाकर्मी सोमबार नै जनकपुर आइपुगेका छन् । टोलीले यहाँका सुरक्षा अधिकारीसँग सुरक्षाको विषयमा छलफल गरेको छ । मोदी भ्रमणलाई सफल बनाउन थप टोली बुधवार जनकपुर आईपुग्ने छ । सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राखेर पाँच तहको सुरक्षा व्यवस्थापन गरेको बताए । मोदीको भ्रमणलाई उच्च स्तरीयको सुरक्षा व्यवस्था मिलाउन ७ हजार सुरक्षाकर्मी परिचालन हुने बताए । यसका साथै अभिन्नदनको स्थलको विभिन्न स्थानमा सिसिटी, प्रदेशद्वारामा चेकजाँच गर्ने मेसिन, तथा ड्रोन क्यामराहरु समेत प्रयोग हुने उनले बताए ।

मन्त्री यादवले मञ्चनजिक भारतीय प्रहरी, दोस्रोमा नेपाली सेना, तेस्रो घेरामा नेपाल प्रहरी, चौथोमा सशस्त्र प्रहरी र पाँचमा राष्ट्रिय अनुसन्धान र सिभिल ड्रेसमा सुरक्षाकर्मी परिचालन हुने बताए । नयाँ पत्रिका दैनिकबाट

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: