Todays Nepal
No1 Nepal's Complete News Sites

मोदीको स्वागतमा भव्य तयारी : जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी

9,007

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्र्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ ।

मोदीले आसन्न राजकीय भ्रमणमा नेपालसँग एकसाथ राजनीतिक, विकास साझेदारी र धार्मिक सम्बन्ध सुदृढ भएको सन्देश दिन चाहेका छन् । खासमा तीन वर्षअघि नेपाल आउँदाको सकारात्मक छवि पुनस्र्थापनामा उनले जोड दिनेछन् ।

२८ र २९ वैशाखमा मोदी नेपाल आउने तय भएको छ । नेपालसँग नाकाबन्दीपछि निम्तिएको तीतोपना पूर्ण रूपमा मेटाउने उपाय दिल्लीमा राजनीतिक र प्रशासनिकस्तरमा भइरहेको छ । यो खबर आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

भ्रमणमा मोदीले दिने भनिएको आकर्षक सहयोग प्याकेज के गर्ने अझै निश्चित भइसकेको छैन । भारतको नेपाल नीतिका जानकार डा. निहार नायकका अनुसार मोदीको पहिलो नेपाल भ्रमण (२०७१ साउन)को जस्तो सम्बन्ध नेपालसँग बनाउने गरी दिल्लीमा कसरत भइरहेको छ ।

‘भारतले नेपाल मात्र होइन, समग्र छिमेक नीतिकै समीक्षा गरिरहेको छ । प्रधानमन्त्री मोदीको चीन भ्रमणपछि नेपालसहितका अन्य देशमा होइन, अब पाकिस्तानसँग पनि सम्बन्धमा नयाँपन आउने सम्भावना देखिन थालेको छ,’ नायकले भने ।

आगामी अगस्टमा सांघाई कोअपरेसन अर्गनाइजेसनको आयोजनामा रुसमा भारत र पाकिस्तान संयुक्त सैन्य परेडमा सहभागी हुने तय भएको छ । यसलाई भारत–पाकिस्तान सम्बन्ध सुधारको संकेतका रूपमा बुझ्नुपर्ने र यसबाट भारतको दक्षिण एसिया नीतिमा नै परिवर्तन आउन सक्ने अर्थमा बुझ्नुपर्ने नायक बताउँछन् ।

जानकारहरूका अनुसार छिमेकसँग सम्बन्ध सुधारका लागि मोदी सरकारमाथि भारतभित्रै चर्को दबाब बढेको छ । दक्षिण कोरिया र उत्तर कोरियाको पछिल्लो वार्ताले भारत र पाकिस्तान सम्बन्ध सुधारमा थप दबाब सिर्जना गरेको बुझाइ जानकारहरूको छ ।

चीन मामिलाविज्ञ विजयकेशव गोखले विदेशसचिव बनेपछि मोदी सरकारको चीन नीतिमा पनि देखिने गरी सुधार आएको छ । चीनसँगको सम्बन्धले भारतको समग्र छिमेक नीति र विशेषगरी नेपाल नीतिमा पनि दीर्घकालीन परिवर्तन आउने नायकको विश्लेषण छ ।

‘०७१ मा भारतीय प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मोदीले पारेको सकारात्मक प्रभाव पुनस्र्थापना गर्न चाहन्छन्,’ नेपाल भारत सम्बन्धका अर्का जानकार पूर्वमेजर जनरल अशोक मेहताले भने ।

जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी

बाह्रबिघामा मोदीका तीन हेलिकोप्टर अवतरण गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका हेलिकोप्टर पटनाबाट उडेर जनकपुर बाह्रबिघामा अवतरण गर्नेछन् । वरिष्ठ मन्त्रीले उनलाई त्यहीँ स्वागत गर्ने कार्यक्रम छ । मोदीको भ्रमणमा तीन हेलिकोप्टर आउँदै छन् ।

बाह्रबिघाबाट मोदी सीधै जानकी मन्दिर पुग्नेछन्, जहाँ प्रधानमन्त्री केपी ओलीले स्वागत गर्नेछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याललाई उद्धृत गर्दै राससले जनाएअनुसार दुवै प्रधानमन्त्रीले रामायण परिपथ उद्घाटन गर्नेछन् ।

लगत्तै प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा सहभागी हुनेछन्, प्रधानमन्त्री ओली काठमाडौं फर्किने छन् ।

जनकपुरमा भारतीय सुरक्षाकर्मी, थप आउँदै

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार यहाँको सुरक्षा अवस्था बुभ्mन भारतीय सुरक्षाकर्मी सोमबार नै जनकपुर आइपुगेका छन् । टोलीले यहाँका सुरक्षा अधिकारीसँग सुरक्षाको विषयमा छलफल गरेको छ ।

मोदी भ्रमणलाई सफल बनाउन थप टोली बुधवार जनकपुर आईपुग्ने छ । सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राखेर पाँच तहको सुरक्षा व्यवस्थापन गरेको बताए । मोदीको भ्रमणलाई उच्च स्तरीयको सुरक्षा व्यवस्था मिलाउन ७ हजार सुरक्षाकर्मी परिचालन हुने बताए ।

यसका साथै अभिन्नदनको स्थलको विभिन्न स्थानमा सिसिटी, प्रदेशद्वारामा चेकजाँच गर्ने मेसिन, तथा ड्रोन क्यामराहरु समेत प्रयोग हुने उनले बताए ।

मन्त्री यादवले मञ्चनजिक भारतीय प्रहरी, दोस्रोमा नेपाली सेना, तेस्रो घेरामा नेपाल प्रहरी, चौथोमा सशस्त्र प्रहरी र पाँचमा राष्ट्रिय अनुसन्धान र सिभिल ड्रेसमा सुरक्षाकर्मी परिचालन हुने बताए ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: