Todays Nepal
No1 Nepal's Complete News Sites

लोकसेवामा १३ पटक नाम निकालेँ, यसरी पढौँ, यसरी लेखौँ: उपसचिव घिमिरे

10,078

नियमित पढाइ र विविध विषयप्रतिको रुचिका कारण मैले लोकसेवाका १३ वटा लिखित परीक्षामा नाम निकाल्न सकेँ। पढ्दा टिपोट गर्थें। सम्भावित प्रश्नहरू लेखेर पनि अभ्यास गर्ने मेरो बानी थियो। समसामायिक घटनाबारे मिडियाबाट धेरै ‘अपडेटेड’ हुन्थेँ।

म २०३५ सालमा खोटाङ, दिक्तेलको निम्न मध्यम वर्गीय परिवारमा जन्मिएँ । हाम्रो परिवार नै सरकारी जागिरे हो। बुबा सरकारी जागिरे हुनुहुन्थ्यो। मेरी श्रीमती र भाइ पनि सरकारी जागिरे हुन्।

२०५१ सालमा मैले खोटाङबाट एसएलसी पास गरेँ। एसएलसी पास गरेपछि क्याम्पस पढ्न काठमाडौँ आएँ। आईएल गरेँ। २०६६ सालमा शिक्षामा बीए गरेँ। २०६२ सालमा ग्रामिण विकासमा एमए गरेँ र २०७० सालमा कानुनमा एलएलएम गरेँ।

१३ वटा परीक्षामा उत्तीर्ण

आर्ईए पास गरेपछि २०५४ सालमा खोटाङ गएर लोकसेवाको जाँच दिएँ। मुखियामा जाँच दिएको थिएँ, नाम निस्कियो। खरिदारको जाँच दिएँ, त्यसमा पनि पास भएँ।

खरिदारमा नाम निस्केपछि मुखियामा जागिर खाएको दुई/तीन दिनमै छाडिदिएँ। केही समय खरिदारको रूपमा काम गरेपछि सरुवा मिलाएर उच्च शिक्षाका लागि फेरि काठमाडौँ आएँ। जागिर खाँदै पढाइ पूरा गरेँ।

२०६२ सालमा न्याय सेवातर्फ शाखा अधिकृत तहको लिखित परीक्षामा नाम निकालेँ तर मौखिकमा पास भइनँ। २०६६ सालमा पनि लिखितमा पास भएँ तर मौखिकमा फेल। २०६७ सालमा शाखा अधिकृत तहमा तीन क्षेत्रमा परीक्षा दिएँ।

तीन वटै समूहमा नाम निस्कियो। मलाई न्याय सेवातिर रुचि भएकाले मौखिक परीक्षा पनि न्याय सेवातर्फ नै दिएँ। एउटा समूहतर्फ पास भइसकेपछि अरूतिर परीक्षा दिन मिल्दैन। त्यसलै कतैतिर पनि जाँच नदिई पाँच वर्ष न्याय सेवातर्फ सर्वोच्च अदालतमा अधिकृतका रूपमा काम गरेँ।

अधिकृत भएको पाँच वर्षपछि मात्रै उपसचिवमा जाँच दिन पाइने नियमअनुसार मैले २०७२ सालमा छ समूहमा परीक्षा दिएँ। सबैमा नाम निस्कियो। यस पटक पनि मैले आफ्नो रुचिअनुसार न्याय समूहतर्फ मौखिक परीक्षा दिएँ, पास पनि भएँ।

अरू क्षेत्र छाडेर न्याय समूहतर्फ नै काम गर्न थालेँ। अहिले म न्याय समूहतर्फ सर्वोच्च अदालतमा उपसचिवका रूपमा कार्यरत छु। अधिकृत भएको सात वर्षसम्म सहसचिवमा जाँच दिन नपाइने भएकाले मैले अहिले कुनै पनि परीक्षा दिएको छैन।

डेढ वर्षयता उपसचिव पदमै कार्यरत छु। अहिलेसम्म दिएका जति सबै लिखित परीक्षामा उत्तीर्ण भएको छु। अहिलेसम्म लोकसेवा अयोगका १३ वटा लिखित परीक्षामा नाम निकालेको छु। म धेरै पटक लिखित परीक्षामा नाम निकाल्नेमा पनि पर्छु।

सरकारी जागिरमा बढ्दो आर्कषण

मैले अधिकृत भएदेखि सरकारको अनुमतिमा लोकसेवा अध्यापन पनि गराइरहेको छु। काठमाडौँको ‘नेम इन्स्टिच्युट’मा लोकसेवा अध्यापन गराइरहेको छु।

पहिले औसत खालका विद्यार्थी मात्रै यो क्षेत्रमा आउथेँ।

अहिले चाहिँ उच्च शिक्षा प्राप्त गरेका÷गरिरहेका प्रतिभाशाली विद्यार्थी पनि यसतर्फ आकर्षित छन्। अहिलेका विद्यार्थीको विश्लेषण क्षमता राम्रो छ र प्रतिस्पर्धा पनि बढेको छ।

अरू क्षेत्रमा रोजगारी नभएर पनि अहिले सरकारी जागिरप्रति आकर्षण बढेको छ। जागिरको सुरक्षाका कारणले पनि सरकारी जागिरप्रति मोह बढेको हो। ‘लोकसेवाको परीक्षाको प्रक्रिया निष्पक्ष छ र मेहनत गरेपछि नाम निस्किन्छ’ भन्ने विश्वासले गर्दा पनि धेरैको आकर्षण यतातिर बढेको छ।

दक्ष जनशक्तिको प्रवेश बढ्दै

लोकसेवाबाट अहिले अलि परिपक्व उमेरको जनशक्ति आएको छ। कम उमेरकै आए पनि राम्रो शैक्षिक पृष्ठभूमि भएका आएका छन्। गाउँ–गाउँबाट आएर तयारी गर्छन्।

उनीहरू एउटा क्षमता विकास भएपछि प्रवेश गर्छन्। पहिलेको तुलनामा अहिलेको जनशक्ति प्रविधिमैत्री छ। उनीहरू अंग्रेजी भाषामा दख्खल राख्छन्।

अहिलेको जनशक्तिको कार्यसम्पादन पनि पहिलेको भन्दा राम्रो देखिन्छ। छिट्टै सिक्न सक्ने, सिर्जनात्मक र नीति कार्यान्वयनमा अब्बल छन्। कार्यक्षमता राम्रो छ।

यसरी पढ्थेँ

नियमित पढाइ र विविध विषयप्रतिको रुचिले मलाई यतिका क्षेत्रमा नाम निकाल्न सहज भयो जस्तो लाग्छ। म पढ्दा पनि विषयहरू टिपोट गर्ने र याद गरेर पढ्ने गर्थें।

सम्भावित प्रश्नहरू लेखेर पनि अभ्यास गर्ने मेरो बानी थियो। समसामायिक घटनाबारे मिडियाबाट धेरै ‘अपडेटेड’ हुन्थेँ। यसले ज्ञानको दायरा फराकिलो बनाउने रहेछ। विश्लेषण क्षमता बढाउने रहेछ। यसले मलाई धेरै सहयोग पुर्‍यायो।

लोकसेवाको जाँचमा पाठ्यपुस्तक मात्रै पर्याप्त हुँदैन। यो सिर्जनात्मक सामाजिक विज्ञान पनि हो। यो क्षेत्रमा प्रवेश गर्न चाहनेले मानसिकता बलियो बनाएर आउनुपर्छ। परीक्षा दिन जाँदा नाम निस्किन्छ भनेर ढुक्क भएर दिन्थेँ। मानसिक रूपमै बलियो भएकाले मैले केही मौखिक परीक्षामा असफल हुँदा हरेस खाइनँ। निरन्तर लागिरहेँ, पास पनि भएँ।

यसरी पढौँ, यसरी लेखौँ

लोकसेवा अध्यापक भएको र धेरै परीक्षा दिएको अनुभवका आधारमा म यति भन्न सक्छु– लोकसेवामा नाम निकाल्न नियमित पढ्नुको विकल्प छैन। प्रश्नको उत्तर दिँदा वस्तुपरक मात्रै उत्तर दिने गर्नुपर्छ।

क्रस कटिङ र एकअर्कासँग सम्बन्धित विषय बढी हुन्छन्, तिनीहरूलाई ‘मिक्स’ गरेर पढ्ने गर्नुपर्छ। छोटो समयमा व्यवस्थित ढंगले उत्तर लेख्ने गर्नुपर्छ। पुराना प्रश्नहरूको जति धेरै अभ्यास गरियो उति धेरै अभ्यस्त भइन्छ। धेरै अभ्यास गरे परीक्षामा अत्तालिनुपर्दैन।

आफूले भनेका कुरालाई तथ्य र तथ्यांकले प्रमाणित गर्नुपर्छ। भावनामा बगेर उत्तर लेख्नु हुँदैन। ऐन, कानुन, नीतिको सहारा लिएर आफूले लेखेको कुरालाई प्रमाणित गर्नेतिर जोड दिनुपर्छ।

लेख्न सुरु गर्नुभन्दा पहिले प्रश्न राम्रोसँग पढ्नुपर्छ। प्रश्न राम्रोसँग बुझियो भने अन्यत्र ध्यान जाँदैन, वस्तुपरक भइन्छ र समयको उचित व्यवस्थापन पनि गर्न सकिन्छ।

यद्यपि, जाँचमा जानुभन्दा पहिले नै समय व्यवस्थापन र बाँडफाँडको निश्चित खाका बनाउनुपर्छ। परीक्षाअघि नै परीक्षाको मानसिक तयारी गर्नुपर्छ। पुराना प्रश्न हल गर्नु पनि एक हिसाबले परीक्षाको मानसिक तयारी हो। यसो गर्दा परीक्षामा सजिलै सफल भइन्छ।

दिनेशप्रसाद घिमिरे, उपसचिव, सर्वोच्च अदालत

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: