Todays Nepal
No1 Nepal's Complete News Sites

पार्वती गुफालाई पर्यटनसँग जोड्न अक्षरयात्रा

8,690

प्रकृतिको सुन्दर ठाउँ पोखरामा साहित्यका फूल फुलाउने सोचका साथ झण्डै डेढ दशक यता सञ्चालन हुँदै आएको अक्षरयात्राको १५३औँ शृङ्खला पर्वत जिल्लाको पाङमा पुगेको छ ।

‘जीवन र जगत्को यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ कवि तथा कवयित्रीहरू पर्वतको कुस्मा नगरपालिका वडा नं १ र २ स्थित पार्वती गुफामा पुगी झण्डै चार दर्जन रचना सुनाएको गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले जानकारी दिनुभयो ।

विसं “२०६२ देखि गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरले प्रत्येक महिनाको तेस्रो शनिबार अक्षरयात्रा साहित्यिक अभियान चलाउँदै आएको छ”, उहाँले भन्नुभयो, “कुस्मा नगरपालिका वडा नं १ र २ का जनप्रतिनिधिले नै पार्वती गुफाको पर्यटकीय सम्भावनालाई उजागर गर्न वैशाखको तेस्रो शनिबार साहित्यलाई जोडेर अक्षरयात्रा कार्यक्रम गर्ने चाँजो मिलाएका थिए ।”

“अमृत बसोस्, जहर नपसोस्
फाँटहरु निल्ने रहर नपसोस् ।
हाम्रा यी सुन्दर गाउँहरूमा
विकास पसोस् शहर नपसोस् ।।”

पोखराबाट अक्षरयात्रामा पाङ गाउँ र पार्वती गुफा पुगेपछि कवि वसन्त गौतमले यो मुक्तक सुनाउनुभयो ।

अक्षरयात्रामा सहभागी जो कोहीले त्यहीको परिवेशलाई समेटेर अनिवार्य एउटा रचना गर्नु नियम बनाइएको थियो ।

पाङ गाउँको स्वादसँगै माता पार्वतीको जन्मभूमि मानिने सो गुफा पुग्नुभएका उहाँले गाउँ र शहरको तुलनामा शहरको विकृतिलाई व्यङ्ग्य गर्दै यो मुक्तक सिर्जना गर्नुभएको हो ।

गाउँको विकासमा कस्सिएका जनप्रतिनिधि पोखरेली साहित्यकारबाट आफ्नै गाउँका कुरा जोडेर सुनाइएका यस्ता सिर्जना सुनेर दङ्ग देखिन्थे ।

साहित्यिक पर्यटनको अवधारणालाई आत्मसात् गर्दै देशका विभिन्न ठाउँमा पुगेको उक्त अभियानको यस शृङ्खलाले साहित्यमार्फत पार्वती गुफाको प्रवद्र्धन गरेको वडा नं २ का अध्यक्ष यदुनाथ शर्मा बास्तोलाले बताउनुभयो ।

“धार्मिक पर्यटनको अथाह सम्भावना बोकेको गुफा प्रचारका अभावले छायाँमा परेको छ”, उहाँले भन्नुभयो, “यहाँको पर्यटन प्रवद्र्धनका लागि अक्षरयात्रीहरूलाई हाम्रो गाउँमा बोलाएका हौँ ।”

माता पार्वतीको जन्मभूमि र महादेव स्वामी पाउँ भनेर पार्वतीले तपस्या गरेको गुफाका रुपमा परिचित पार्वती गुफा पुगेर अक्षरयात्रीले त्यहाँका सम्भावनालाई समेत रचनामा उतारेका थिए ।

पाङ गाउँको मौलिकपना र त्यहाँको अवस्थालाई कवि तथा कवयित्रीले आफ्ना सिर्जनामा प्रस्तुत गरेको बताउने पर्वतकै स्रष्टा शंकर गिरीले आफ्नै गाउँलाई जोडेर रचना गरिएका साहित्यले प्रत्येक स्थानीयवासी निकै हर्षित बनेको धारणा व्यक्त गर्नुभयो ।

कवि दीपक समीप, प्रकट पंगेनी शिव, गनेस पौडेल, ईश्वरमणि अधिकारीले पाङको सम्भावना, पार्वती गुफाको आकर्षण र पाङबाट देखिने देशलाई कवितामार्फत प्रस्तुत गर्नुभयो ।

त्यस्तै कवि कल्याण पन्त, कपिल शर्मा, उदीपराज ढुंगाना, सौगात पोखरेल, मिर्मिसा पराजुली, भरत आचार्य, भरत पोखरेल, केआर ढकाल, अनिता दाहाल, माया कुँवर, मनिस गौतम, मोहन भण्डारीले पाङ गाउँ, पार्वती गुफा र त्यहाँका परिवेशलाई समेटेर आ आफ्ना रचना वाचन गर्नुभएको थियो ।

“अक्षरयात्रा अभियानले साहित्यका माध्यमबाट स्थानीय सम्भावना, समस्या र प्रचारप्रसारसँगै सिर्जनाको वृत्ति विकास गर्दै आएको छ”, गजल सन्ध्याका अध्यक्ष सुवेदी थप्नुभयो ।

नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा १२ वर्षदेखि शुरु अक्षरयात्रा जीवन र जगत् बुझेर त्यसलाई सिर्जनामा उतार्ने महत्वपूर्ण पोखरेली साहित्यिक अभियान नै बनेको बताउनुभयो ।

कुस्मा नगरपालिका वडा नं १ का अध्यक्ष देवेन्द्र सुवेदीले पार्वतीको जन्म भएको र तपस्या गरेको गुफा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने सम्भावना भएको बताउँदै यो क्षेत्र पर्यटकको पर्खाइमा रहेको धारणा व्यक्त गर्नुभयो ।

पार्वती गुफा व्यवस्थापन तथा पर्यटन विकास समितिका अध्यक्ष छविलाल पौडेलका अनुसार हालसालै गुफामा शिवजीको मूर्ति फेला परेको छ ।

“यो गुफा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न धेरै आधार छन्, यसको विकासका लागि प्रचारप्रसारका साथै अन्य आवश्यक पूर्वाधार विकासमा राज्यको प्राथमिकता हुनु अपरिहार्य छ”, पौडेलले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: