Todays Nepal
No1 Nepal's Complete News Sites

कांग्रेसमा पुस्तान्तरः ४० वर्षमुनिका नेता भेट्न मुस्किल !

9,033

एक जमानामा कांग्रेसका नेताहरुले भन्ने गर्थे – ‘कुनै पनि व्यक्ति २५ वर्षको उमेरसम्म कम्युनिष्ट बन्छ, तर २५ कटेपछि ऊ कांग्रेसमा आउँछ ।’

तर, यतिबेला १३ औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा २५ मात्रै होइन, ४० वर्षमुनिका नेताहरु पाउनै मुस्किल हुन थालेको छ । के अब कांग्रेसको नीति निर्माण तहमा युवा नेतृत्व विकासको सम्भावना सकिएकै हो त ?

अहिले नेतृत्वमा रहेका सभापति सुशील कोइराला र कृष्ण सिटौलालाई छाड्ने हो भने सबै नेताहरु नेविसंघकै पृष्ठभूमिबाट आएका छन्, चाहे ती शेरबहादुर देउवा हुन् या गगन थापा ।

गगन थापा नेपाली कांग्रेसका कान्छा केन्द्रीय सदस्य हुन् । तर, उनी पनि उमेरले ३९ वर्ष भइसके । नेपाल विद्यार्थी संघबाट कांग्रेसको केन्द्रीय राजनीतिमा आएका गगन ०६२/०६३ को आन्दोलनमा सडकमा गणतन्त्रको नारा लगाउँदै चर्चामा आएका हुन् ।

गगन ३२ वर्षको उमेरमा सांसद भए । अहिले दोस्रो पटक सांसद छन् र १३ औं महाधिवेशननमा पदाधिकारीमा चुनाव लड्ने तयारीमा छन् । गगनलाई अपवाद मान्ने हो भने नेपाली कांग्रेसको नेतृत्वमा अब प्रौढ र वृद्धहरु मात्रै छन् ।

अहिले १३औं महाधिवेशनको तयारी भइरहँदा नेतृत्व छनोट प्रक्रिया देशभर चलिरहेको छ । गाउँ, नगर, क्षेत्र हुँदै आज जिल्ला सभापतिहरुको चुनाव हुँदैछ । तर, यो महाधिवेशनबाट पनि कांग्रेसको केन्द्रीय राजनीति (केन्द्रीय समिति) मा युवाहरु आउने सम्भावना देखिँदैन । गाउँ, नगर र जिल्लामा भने युवाहरुको अनिकाल केन्द्रमा जति देखिँदैन ।

योपटक युवा भनेर विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र रञ्जित कर्णहरु केन्द्रीय समितिमा आउने प्रयासमा हुनेछन् । तर, यी सबै नेताहरु गगनभन्दा सिनियर नै हुन् । अर्थात ४० कटिसेकका नेताहरु हुन् ।

नेविसंघः नेता उत्पादन गर्ने कारखाना

विगतमा नेपाल विद्यार्थी संघ नेताहरु उत्पादन गर्ने कारखानाजस्तै थियो । अहिले विद्यार्थी संगठन सुस्ताएका कारणले पनि कांग्रेसमा नयाँ पुस्तामा मानिसहरुको खडेरी देखिन थालेको कतिपय नेताहरुको तर्क छ ।

विद्यालय र कलेजमा नेविसंघको उपस्थिति न्यून छ, कलेज बाहिरका युवाहरु विदेशमा श्रम गर्न गएका छन् । यसले गर्दा पनि कांग्रेस जस्तो पुरानो पार्टीमा अवकाश लिने उमेरका वृद्धहरुको बाहुल्य देखिएको र भविश्यमा ठूलो पुस्तान्तरण हुने खतरा देखिएको कतिपयको विश्लेषण छ ।

नेपाली कांग्रेसको नेतृत्व विकासमा विद्यार्थी राजनीति र नेविसंघको ठूलो भूमिका छ । अहिले नेतृत्वमा रहेका सभापति सुशील कोइराला र कृष्ण सिटौलालाई छाड्ने हो भने सबै नेताहरु नेविसंघकै पृष्ठभूमिबाट आएका छन्, चाहे ती शेरबहादुर देउवा हुन् या गगन थापा ।

सिटौला त्यस्ता एक्ला नेता हुन्, जो जिल्ला सभापति हुँदै कांग्रेसको केन्द्रीय राजनीतिमा आउन सफल भए । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंहदेखि सबै नेताहरु कुनै न कुनै रुपमा विद्यार्थी राजनीतिबाटै आएका हुन् । र, त्यहीँबाट उनीहरु अघि बढे ।

विद्यार्थी संघको देशभरि संगठन हुने भएकाले उनीहरुको स्वीकार्यता देशभरि नै हुनु स्वाभाविकै हो । जसका कारण नेविसंघमा काम गरेका नेताहरुलाई केन्द्रमा आउन सहज भयो ।

हाल कांग्रेसको शीर्ष नेतृत्वमा रहेकाहरु मात्र होइन, युवा पुस्ताका नेताहरु एनपी साउद, चन्द्र भण्डारी, धनराज गुरुङ, नविन्द्रराज जोशी, दीपक गिरी सबै विद्यार्थी राजीतिबाटै आएका हुन् । एनपी साउदले नै गगनलाई नेवि संघको सदस्यता दिएका थिए । त्यस्तै त्रिचन्द्रमा गगनलाई स्ववियु सदस्य बनाउने चन्द्र भण्डारी थिए । अहिले गगन पदाधिकारीको दाबी गरिरहेका छन् भने एनपी र चन्द्र केन्द्रीय सदस्यमै दाबी गरिरहेका छन् । यद्यपि यी सबै नेताहरु नेविसंघकै पृष्ठभूमिबाट उदाएका हुन् ।

कांग्रेसका नेताहरु उत्पादन गर्ने कारखानाजस्तै रहेको नेवि संघ पछिल्लो दशकमा एक प्रकारले अस्थित्वमै छैन जस्तो भएको छ । विद्यार्थी आन्दोलन पनि पहिलेको जस्तो छैन । स्ववियु चुनाव नभएको पनि ८/९ वर्ष भइसक्यो । यसले गर्दा कांग्रेसमाजस्तै सबै राजनीतिक दलमा विद्यार्थी राजनीतिबाट नेतृत्वको विकास प्रक्रिया अवरुद्धजस्तै भएको छ ।

त्यसमाथि कांग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवाको झगडाका कारण नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको अधिवेशन नै हुन सकेको छैन । यसले पार्टीमा युवा पुस्तालाई नेतृत्वमा पुग्ने बाटो अवरुद्ध भएको छ ।

क्याम्पसहरुमा नेवि संघका सभापतिहरु त छन् । तर, उनीहरुले राष्ट्रिय रुपमा पहिचान बनाउन सकेका छैनन् । जसका कारण उनीहरु तत्काल विद्यार्थी राजनीति हुँदै कांग्रेसको केन्द्रीय राजनीतिमा आउने सम्भावना शून्य जस्तै बनेको छ ।

विद्यार्थी नेता प्रदीप पौडेल भने नेतृत्वले नयाँ पुस्तालाई चुनौतीका रुपमा लिएको बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘एकपटक पदमा पुगेपछि टाँसिरहने प्रवृत्ति छ, टेष्ट भएर फेल भए पनि छाड्दैनन् ।’

पौडेलका अनुसार नेताहरु पदमा पुगेपछि केही पैसा कमाउँछन्, आफ्नो नेटवर्क बनाउँछन् र त्यही शक्तिको भरमा टिकिरहन्छन् ।

गुटको कोपभाजनमा युवापुस्ता

कांग्रेसको नेतृत्वमा युवा पुस्ताका मानिसहरु आउन नसक्नुको अर्को कारण गुटको राजनीति पनि हो । पुराना नेताको गुटबन्दीको कोपभाजनमा युवा नेताहरु परिरहेका छन् ।

कांग्रेसमा पछिल्लो समय संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवाको गुट छ । र, दुबै गुटमा प्रौढ र वृद्ध नेताहरुकै हालिमुहाली छ । र, उनीहरु कुनै हालतमा पद छाड्ने पक्षमा छैनन् ।

विद्यार्थी नेता प्रदीप पौडेल भने अब नेतृत्वले स्वेच्छाले नछाड्ने भएकाले खोसेेर लिनुपर्छ भन्ने आफ्नो मत रहेको बताउँछन् ।

अन्त्यमा, एउटा रोचक प्रशंग-

बनारसमा पढ्न गएका बेला मदन भण्डारी नेपाली कांग्रेसमा लाग्न खोजेका थिए । तर, उनलाई त्यहाँ भेटिएका एकजना कांग्रेस नेताले भने कि ओठ निचोर्दा दूध आउनेजस्तो छ, जुँगाको रेखी पनि बसेको छैन, यस्तो मान्छे पनि कांग्रेसमा नेता हुन्छ र ?

कांग्रेसजनले यसो नभनेको भए शायद एमालेका ‘जननेता’ मदन भण्डारी यतिबेला नेपाली कांग्रेसमा हुने थिए । जुँगा नपलाएको मान्छे कांग्रेस हुन सक्दैन भन्ने रुखो जवाफ पाएका मदन भण्डारीले त्यसबेला एउटा कवितासमेत लेखे, जसको भाव यस्तो थियो- ‘भैहाल्थें कि नेता कि कतै म पनि, दाह्री हो उम्र उम्र !

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: