Todays Nepal
No1 Nepal's Complete News Sites

महेन्द्रकै पालामा यसरी किनेको थियो नेपालले पानी जहाज !

9,041

नेपाल भूपरिवेष्टित राज्य हुँदाहँुदै पनि एक समय पानीजहाज भित्र्याएर देशको उन्नति गर्ने सोच बनेको थियो। सन्दर्भ विसं २०२५ तिरको हो। त्यति बेला भारतमा पानीजहाजको क्षेत्रमा सिन्धिया स्टिम नेभिगेसन कम्पनी र इस्टर्न नेभिगेसन कम्पनी प्रख्यात थिए। भारतीय नीतिका कारण ती कम्पनीका जहाजले पाकिस्तान, बर्मा, चीनलगायतका मुलुकसम्म बिनारोकटोक आवतजावत गर्न पाएका थिएनन्। तर, चिनियाँ पानीजहाज भने आफ्ना मालसामानका साथ निर्बाध रूपमा पाकिस्तान, बर्मा र नेपाल हुँदै भारतसम्म सहज रूपमा पुग्थे।

सो पानीजहाजको नाम दिइएको थियो नरेन्द्रलक्ष्मी, पृथ्वीनारायण शाहकी पत्नीको नाम ।

नेपालको बाटो हुँदै चिनियाँ सामान भारत गइरहेको तर भारतीय सामान चीन, पाकिस्तानसम्म पुर्‍याउन कठिनाइ भइरहेको अवस्थामा भारतले आफ्नो व्यापार व्यवसायमा सुधार ल्याउने र नाफा कमाउने अभिप्रायले नेपाली झन्डा र लोगो प्रयोग भएका पानीजहाज चलाउने सोच बनाएछ। त्यसबापत नेपालले पनि केही आर्थिक सहयोग पाउन सक्ने उसको प्रस्ताव थियो।

त्यतिबेला कानुनी क्षेत्रमा कृष्णप्रसाद घिमिरे र मेरो एकाधिकारजस्तै थियो। तर, अंग्रेजी भाषामा घिमिरेको पकड कमजोर रहेकाले होला, उनीहरूले मलाई उपयोग गर्ने नीति बनाएछन्। र, यसै क्रममा देशाई परिवारको लगानी रहेको सिन्धिया कम्पनीकी डाइरेक्टर नेपाल आइन्। होटल सोल्टीमा बसेकी उनले मसँग लामो कुराकानी गरिन्। त्यतिबेला म होटल अन्नपूर्णको कानुनी सल्लाहकार पनि थिएँ। पानीजहाजसम्बन्धी ब्रिटिस र सिंगापुरका जानकारलाई व्यवस्थापनको जिम्मेवारी सुम्पिएर लगानीकर्ता भए पनि आफूले सहयोगीको भूमिकामा काम गरेको उनले त्यस भेटघाटमा खुलाएकी थिइन्। उनले आफ्ना पानीजहाजमा नेपाली झन्डा र लोगो प्रयोग गरेबापत निश्चित रकम नेपाल सरकारलाई उपलब्ध गराउने र त्यसका निम्ति सहजकर्ताको भूमिका निर्वाह गरिदिन आग्रह गरिन्।

यसमा मैले नाइँ भन्नुपर्ने कुनै कारण देखिनँ। यसको कानुनी प्रक्रियाबारे अध्ययन गरेँ र प्रतिवेदन सरकारलाई बुझाएँ। काम अघि बढ्दै थियो। दरबारिया चलखेल सुरु भइहाल्यो। व्यापार व्यवसाय र प्रत्यक्ष आम्दानीका कुनै बाटो खुलेको देख्नासाथ दरबारको नजर परिहाल्थ्यो। फेरि दरबार पनि विभाजित थियो, युवराज्ञी ऐश्वर्य र अधिराजकुमार ज्ञानेन्द्रका रूपमा। दुवै आ–आफ्नो स्वार्थ पूरा गर्न खुलेर लाग्थे। राजा त्रिभुवनका कान्छा छोरा वसुन्धराको कानुनी सल्लाहकार भएर काम गर्ने क्रममा दरबारभित्रका कुरा जान्ने मौका पाएको थिएँ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: