Todays Nepal
No1 Nepal's Complete News Sites

जंगबहादुर जसले नेपालको भुमि रक्षार्थ जंगे पिलेर हाले, पहिलो ऐन बनाए, पहिलो जनगणनाको शुरुवात गरे

9,013

जङ्गबहादुरको निधन सन् १८७७ फेब्रवरी २५ अर्थात बि.सं. १९३३ फागुन १६ आइतवार भएको थियो । जङ्गबहादुर हालको सर्लाही जिल्लामा शिकार खेल्न गएका थिए । पत्थरघट्टा क्षेत्रको बागमती नदी किनारमा उनको मृत्यु भयो ।

बालनरसिंहकी कान्छी पत्नीबाट जन्मेका जेठा छोरा वीरनरसिंह कुँवर नै जङ्गबहादुर हुन् । नेपालको इतिहासमा चर्चित बलभद्र कुँवर भने जङ्गबहादुरका जिजु बाजे रामकृष्णका भाइ जयकृष्णका नाति तथा चन्द्रविर कुँवरका छोरा हुन् । नाताले बलभद्र जङ्गबहादुरका काका पर्छन् । शाह राजाहरूको पुर्खा झै जङ्गबहादुरका पुर्खा पनि भारत चित्तौदगढबाट नेपाल प्रवेश गरेको विवरण इतिहासमा पाइन्छ ।

हालै भारतमा रिलिज भएको पद्मावत फिल्म कतिले हेरे होलान् । मैले फिल्म त हेर्न पाइन कथावस्तुमा फिल्मिकरण हुन सक्छ । तर इतिहासमा १३०३ मा अलाउद्दिन खिलजीले रानी पद्मावतीलाई पाउनको लागी आक्रमण गरेका थिए । तर रानी पद्मावतीले मुस्लिम शासकको पत्नी हुनु भन्दा अग्नीदाह गरेर मर्नुलाई उचित ठानिन् । दरवारका सम्पूर्ण महिलालाई पनि अग्नीदाह गर्न प्रेरित गरे । युद्ध समाप्ती पछि अलाउद्दिन खिलजीले चित्तौडगढमा केवल खरानी मात्र भेटे ।

अलाउद्दिनको आक्रमणको पछि नेपालको राजपरिवारका पुर्खा बिभिन्न ठाउँ हुदै नेपालको पहाडी राज्यमा पुगेको देखिन्छ । त्यसरी नै तेश्रो ठूलो आक्रमण अकवरले पनि गरेका थिए । यो युद्ध पछि धेरैको मृत्यु भयो । केही भागेर लुकिछिपि धेरै ठाउँ पुगे । राणाका पूर्वज भने यहि आक्रमण पछि लुकिछिपि नेपाल प्रवेश गरेका थिए भन्ने अनुमान गर्न सकिन्छ ।

चित्तौडगढका तत्ता राणाका भतिजा फकतसिंहका छोरा रामसिंह केही साथीहरूको साथ निकै लामो यात्रा पछि नेपालको पहाडी भूभागमा प्रवेश गरेका थिए । पहाडी राजाको आतिथ्यमा बसेका रामसिंहको आनीवानीबाट प्रभावित भइ राजाले आफ्नो छोरीको बिबाह रामसिंहसंग गरिदिए । बगाले क्षत्री राजाकी छोरीसंग बिबाह गरे पछि ६ छोराहरूको जन्म भयो । राजाले रामसिंहका छोराहरू जवान भए पछि कुँवर खडकाको उपाधी दिए ।

छ जना मध्ये एक राउत कुँवरलाइ सेनापती बनाए । यिनै राउत कुँवरका छोरा अहिराम कुँवरलाइ कास्कीका राजाले ससम्मान भारदारको पद दिए । साथै पोखराको ढुङ्गेसाँघुको सिङ्गै गाँउ बिर्तामा दिए । अहिराम कुँवर परिवार सहित कास्कीमा बस्न थाले । अहिरामका दुइ छोरा रामकृष्ण तथा जयकृष्ण र एउटी छोरी थिए ।

बुढो राजाले एक दिन कलश थापेर अहिरामकी कलिली छोरी बिबाहको लागी मागे । अहिरामले अस्विकार गरे पछि राजासंग बिवाद भयो । त्यसपछि सम्पूर्ण बिर्ता तथा जागीर त्यागेर कास्कीबाट पलायन भए । दुइ छोरा र छोरीलाई साथ लिइ अहिराम लमजुङ हुदै गोरखा पुगे ।

गोरखाका राजा पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरलाइ आफ्नो सेनाको सेनापती नियुक्त गरे । राज्य बिस्तारको क्रममा पूर्व बिजय समाप्त भए पछि रामकृष्ण कुँवर प्युठान पठाइएका थिए । त्यहि उनको मृत्यु भयो । उनका १८ वर्षका छोरा रणजित कुँवरलाइ जुम्लाको हाकिम बनाइयो, पछि काजीमा पदोन्नती गराइए । रणजितका तीन छोरा मध्य बालनरसिंह कुँवरलाइ रणबहादुर शाहका हत्यारा शेरबहादुरलाइ काटेकोले पुरस्कार स्वरूप काजी बनाइए ।

यिनै बालनरसिंहकी कान्छी पत्नीबाट जन्मेका जेठा छोरा वीरनरसिंह कुँवर नै जङ्गबहादुर हुन् । नेपालको इतिहासमा चर्चित बलभद्र कुँवर भने जङ्गबहादुरका जिजु बाजे रामकृष्णका भाइ जयकृष्णका नाति तथा चन्द्रविर कुँवरका छोरा हुन् । यसर्थ बलभद्र जङ्गबहादुरका काका पर्छन् ।

बि.सं. १८७४ असार ७ गते बुधवारका दिन सैनिक परिवारमा जन्मेका वीरनरसिंहले पढ्न भने धेरै पाएनन् । तर मूर्ख र जिराहा थिए, उनका मामा माथवरसिंह थापाले उनलाई जङ्गे भनेर बोलाउथे । पछि उनी यहि नामले नै प्रख्यात भए । बि.सं. १८८५ बैशाख २१ मा मात्र ११ वर्षको उमेरमा उनको बिबाह भयो । बिबाहको केही समयमा नै बाबुको साथमा धनकुटा पुगे । त्यसपछि डडेलधुरा पुगे । यहि क्रममा घोडा चढेर बिभिन्न करतुत गर्न सिपालु हुदै गए ।

भण्डारखाल पर्व पछि मामा भीमसेन थापाले सत्ता पाएको सुनेका जङ्गबहादुर पनि सत्ताको स्वाद चाख्ने इच्छा जाग्यो । तर १८९४ मा भीमसेन थापाको पतन भए पछि पाण्डेहरूले थापा मात्र होइन जङ्गको परिवारलाइ पनि लखेटे । यसरी हरतरहबाट दुखित भएका जङ्गबहादुर जुवाको लतमा फसे । चारैतिरबाट दुखले घेरिएकोलाइ केहीले पनि साथ दिदैन ।

जङ्गेलाइ पनि त्यस्तै भयो । उनले जुवामा धेरै हारे तर तिर्ने रकम थिएन । यस्तैमा राँगो ब्यापारी धनसुन्दर साहुले रू ११०० सापट दिएकोले ऋण तिरे । बिरक्तिएर बनारस पुगेका उनले त्यहाँ पनि जागीर पाएनन् । फेरी काठमाडौ फर्के, यता श्रीमतीको सुत्केरी ब्यथाले मृत्यु भएको खवर पाए । साली बिबाहको लागी माग्न गएका उनलाइ ससुराले बचन लगाएर फर्काए ।

अत्यन्त दुखी जंगबहादुरले नन्दकुमारीसंग बिबाह गरे । दाइजोमा ल्याएको पैसाले धनसुन्दरको ऋण तिरे । नन्दकुमारीसंगको बिबाह पछि भने उनको भाग्य चम्कियो ।

बि.सं. १९०३ भाद्र ३१ मा गगनसिंहको हत्या गरेका उनले सोही राती कोटमा हत्याको अवस्था सिर्जना गरि सत्ता प्राप्त गरे । प्रधानमन्त्री बनेका जङ्ग १९०७ जेठ १५ मा लण्डन पुगे । भाद्र ७ मा पेरिस पुगे । नेपोलियन बोनापार्टसंग भेट गरे । जङ्गबहादुर स्वदेश फर्कदा यूरोपको काइदा कानुनको साथमा त्यहा रहेका ठूला ठूला महलका सिर्जना पनि हेरेर आए । नेपालमा ठूला ठूला दरवारहरू बनाउने शुरुवात गरे ।

बि.सं. १९१० मा जङ्गबहादुरले पहिलो पटक नेपालको जनगणना गराए । ऐतिहासिक दस्तावेज निकै नौलो थियो । तर पछि बुझ्दै जाँदा जङ्गले भोट युद्धको लागि युवाहरूको संख्या लिने उद्देश्यले जनगणना लिइएको थियो । यहि क्रममा जङ्गबहादुरले लिएको जनगणनामा मेरो “उलक“ पुर्खाको नामावली मैले भेट्टाएँ । जङ्गबहादुरले बि.सं. १९१० मा नेपालको पहिलो ऐन बनाए । कानुनी रूपले यो ऐन कति परिपक्व थियो, यो विवादकै विषय होला तर सबै कानूनलाई लिपिबद्ध पार्ने उनको प्रयासलाई भने मान्नै पर्छ ।

१९१३ श्रावण १९ देखि १९१४ असार १६ सम्म करिव १ वर्ष भाइहरूलाई अख्तियारी दिए । पछि पञ्जा छाप सहित श्री ३ पाए पछि आफै सत्तामा फर्किए ।बि.सं. १९२५ चैत्र २६ गते अट्कोनारायणमा ठूलो आगलागी भयो । साहु धर्मनारायणको घर जलेर ध्वस्त भयो । आगलागी १३ महिनासम्म भैरह्यो । जङ्गले साहु धर्मनारायणलाई लाखौ सहयोग गरे । घर बनाउन र पछि भोटको ब्यापार गर्न पनि सघाए । बि.सं. १९२६ सालबाट नेपालको नक्सा बनाउन शुरू गरियो । यो काम १९३२ मा गएर मात्र पूरा भयो ।

१८७७ फेब्रवरी २५ अर्थात बि.सं. १९३३ फागुन १६ आइतवार द्वादशी शुक्ल पक्षको दिन जङ्गबहादुरको पत्थरघट्टामा बागमती किनारमा मृत्यु भयो । तीन महिना देखि शिकारमा निस्किएका उनको मृत्युलाई इतिहासमा बिभिन्न कोणले लेखिएको छ । कसै कसैको भनाइमा उनको मृत्यु २१ वर्षे तामाङ केटोको खुकुरी प्रहारबाट भएको थियो भनिन्छ ।

केटोले आफ्नो श्रीमती जङ्गबहादुरको साथमा भेटेपछि आवेशमा आएर हानेको खुकुरीको चोटले नै चार दिन पछि जङ्गबहादुरको मृत्यु भएको थियो भन्ने गरिन्छ । जङ्गको शवलाई चार दिन सम्म तेलमा डुबाएर राखिएको थियो । मृत्युको चौथो दिन जङ्गको दाहसस्कार भयो । उनको मृत्युसँगै तीन रानी सती गएर प्राण त्याग गरे ।

जङ्गबहादुरको संपूर्ण कथा छोटो रुपमा लेख्न निकै कठिन छ । तसर्थ धेरै लेख्नैपर्ने कुरा पनि छुट्न सक्छ, नलेखे पनि हुने लेखिए जस्तो पनि लाग्न सक्छ । संक्षेपमा जङ्गबहादुरको कथा यही हो ।

सुनिल उलक
सदृश्यडटकमबाट

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: