Todays Nepal
No1 Nepal's Complete News Sites

के यस्तो लुगा लगाएर छाडा बोल्दै हिड्नु ग्ल्यामर हो ?

9,075

अश्लील गीत गाएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष गायक बद्री पंगेनीले गायिका ज्योती मगरलाई प्रतिष्ठानमा नरहनेगरी कारबाही गरेपछि ठूलो विवाद भयो । ज्योतीको प्रतिक्रिया थियो, ‘मैले विकृति ल्याएको होइन, दर्शक स्रोताले जे खोजेका छन् त्यो दिएकी हुँ ।’ फलतः त्यो कारबाहीले उनलाई केही फरक परेन । बरु चर्चामा आइन् र माग अझ बढ्यो । मलेसीया, कतार, युएई, अष्ट्रेलियालगायतका देशमा हुने सांस्कृतिक कार्यक्रममा ज्योतीको माग बढ्यो ।

ज्योतीका विषयमा आएको यो मात्र विवाद पहिलो होइन । त्यसअघि नै गीत र प्रस्तुतीका हिसाबले भल्गर देखिएपछि नेपाल टेलिभिजन बोर्डले मगरको गीत प्रशारण नगर्ने ठहर गरेको थियो । यो विषय विवादमा आयो । मगरले त्यसको प्रतिवाद पनि गरिन् । यो प्रवृत्तिलाई बढावा दिने मगरकै कारण अहिले बढेको इलेक्ट्रोनिक्स मिडियाको प्रभावकारीता बनेको युट्युव, फेसबुक लाइभ, इन्स्टाग्राम र अन्य ठाउँमा पनि यस्ता भिडियोको माग ज्यादा छ । त्यतिमात्र होइन यो प्रवृत्तिले असल कलाकारिताको बजारलाई पनि हडपेको छ । सयौंको संख्यामा प्रत्येक वर्ष नेपालका विभिन्न जिल्ला र सहरमा हुने मेला महोत्सवमा पनि यस्ता कलाकार र छाडा गीतले भाऊ पाउन थालेका छन् ।

मगरको यो शैलीको जति नै विरोध भएपनि पछ्याउने कम भएनन् । मगरसँगै इन्टरनेटको दुनियाँमा अश्लील गीत गाउने, नृत्य देखाउने काममा सक्रिय भइन्, तिर्सना बुढाथोकी । हाल अमेरिकामा रहेकी बुढाथोकीले आफ्नो युट्युव च्यानल खोलेरै अश्लील प्रकृतिले भिडियोहरू सार्वजनिक गर्दै आएकी छन् । फेसबुक लाइभमा पनि उनले यस्तो हर्कतलाई जारी राखेकी छन्, जसको कडा शब्दमा धेरै कलाकारले विरोध गर्दै आएका छन् । यस्ता प्रवृत्तिका कारणले ग्ल्यामरको मोह नै ध्वस्त भएर कलाकारितालाई भल्गरका रूपमा चित्रण गरिन थालिएको छ ।

गायिका आस्था राउत यसलाई विकृति मान्छिन् । उनी नेपाली कला साहित्य र गीतसंगीतको बजार धुमिल बनिरहेको बताउँछिन् । अहिले देशका हर ठाउँमा हुने कलाकारिता सम्बन्धी प्रस्तुतीमा पनि यस्तै प्रवृत्तिलाई आयोजकले व्यापारका हिसाबमा बढावा दिन थालेका छन् । ‘महोत्सवमा महिला बालबालिकालाई यस्ता गीत र नृत्यसँग सरोकार हुँदैन । सरोकार हुने भनेको युवाहरूका लागि हुन् । सबैका लागि गरिएको कार्यक्रम हो भने ध्यान दिनुपर्छ ।’, उनी भन्छिन् ।

भिड जम्मा गरेर पैसा कमाउनका लागि महोत्सव आयोजकहरूले यस्ता विषयलाई प्रोत्साहन गरिरहेका छन् । महोत्सवमा नेपाल सरकारले नै ठूलो रकम दिने गरेको छ । पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डबाट आयोजकले रकम लग्ने गरेका छन् । इन्टरनेटमा कुनै नियमनले बाँध्न नसक्नुका कारण यो एउटा खराब प्रवृत्तिका कारण मिडियामा बढावा पाइरहेको छ ।

पछिल्ला दिनहरूमा गीतसंगीत र नृत्यमात्र होइन, मिडियाकर्मीका रूपमा स्थापित हुन पनि यस्ता हत्कण्डा अपनाउन थालिएको छ । युट्युव च्यानलमार्फत सोनिका रोकाले चलाउने एउटा अन्तरवार्तामुलक कार्यक्रममा उनको सोध्ने शैली र प्रकृतिले भल्गर नै भएको संकेत गर्दछ । कतिपय ठाउँमा उनको नृत्यले पनि यहि शैलीलाई प्रोत्साहन गरेको देखिन्छ । तर, आफूले फरक हिसावले नयाँ आयाममा प्रस्तुती दिएको रोकाको दाबी रहने गरेको छ ।

कतिपय मिडियामा अन्तरवार्ताका क्रममा कलाकार भन्ने आफैं भल्गर अवस्थामा उपस्थित हुने र त्यस्तै प्रकारका सवालजवाफमा अभ्यस्त हुने गरेका छन् । गायिका सरस्वती लामा, लक्ष्मी आचार्यलगायतका गायिकाले यो प्रवृत्तिलाई अझ बढावा दिएका छन् । ‘जे विक्छ त्यहि चलाउने’ भन्ने सोचका आधारमा अहिले नेपाली इन्टरनेट, अनलाइनबजार सक्रिय हुने गरेका छन् ।

इन्टरनेटको दुनियाँमा नियमनमात्र नभएर नैतिकता र चरित्रले पनि काम गर्ने भएकाले कलाकारिता क्षेत्रलाई माथि उठाउन भन्दा गिराउने हिसाबले प्रस्तुत हुन थालेका शैली र प्रवृत्तिलाई राम्रो भन्दा नराम्रो ठान्ने जमात् बलियो रहेको छ । गायक पंगेनीले भनेका छन्,‘यस्तो प्रवृत्ति लोकदोहोरी क्षेत्रमा झन् व्यापक हुन थालेको छ । मौलिकता र संस्कृतिलाई भल्गर बनाउनु उचित होइन भनेर बारम्बार भन्दै आएका छौं ।’

कलाकारिता क्षेत्रको सुन्दरता ग्ल्यामरमा हुने भएकाले विश्वव्यापी मान्यताका आधारमा नै भनिएको छ,‘सुन्दरताले शासन गरेको व्यक्तित्व ग्ल्यामर हो ।’ तर, यसको गलत अर्थमा व्याख्या गरेर भल्गर प्रवृत्ति हावी भएको छ । जसलाई ‘जीवनको नमिठो अस्त्र’ पनि भनिन्छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: