Todays Nepal
No1 Nepal's Complete News Sites

फुटेको राप्रपालाई जोडेर राजसंस्था पुन:स्थापना गर्ने अभियानमा खुलेर अघि बढे पुर्वराजा

फाइल फोटो
9,116

पूर्वराजा ज्ञानेन्द्र शाह राजसंस्थाको मुद्दालाई लिएर चिन्तित देखिएका छन् । उनले पूर्वपञ्चको बाहुल्य रहेको तीनवटै राप्रपाका नेतासँग राजसंस्थाको मुद्दाका बारेमा छलफल गरेका छन् । एक सातादेखि झापाको दमकस्थित हिमालय चिया बगानमा बस्दै आएका पूर्वराजा शाहले तीनवटै राप्रपाका दोस्रो तहका नेतालाई बोलाएर करिब तीन घण्टा छलफल गरेका हुन् ।

आइतबार अपराह्न ४ देखि ७ बजेसम्म भएको भेटघाटमा पूर्वराजाले राप्रपा विभाजनले राजसंस्थाको मुद्दा कमजोर बनेको भन्दै एकतामा जोड दिएको भेटमा सहभागी एक नेताले अन्नपूर्ण पोस्ट्सँग बताए । भेटमा कमल थापा नेतृत्वको राप्रपाबाट उपाध्यक्ष बुद्धिमान तामाङ, नेताहरू भाष्कर भद्रा, प्रल्हाद शाह, पशुपतिशमशेर राणाको राप्रपा (प्रजातान्त्रिक)बाट महामन्त्री राजाराम श्रेष्ठ, नेता सगुन लावती र सुरेश आचार्य अनि एकीकृत राप्रपा राष्ट्रवादीबाट उपाध्यक्ष तारानाथ लुइँटेल, डा. शारदा आचार्य र केशव श्रेष्ठ सहभागी थिए ।

फाइल फोटो

ती नेताका अनुसार पूर्वराजाले राप्रपा पुनर्गठन गरेर जान नेतालाई सुझाव दिएका थिए । ‘तपाईंहरू फेरि कसरी मिल्ने भन्ने आधार आफैं तयार गर्नुहोस् तर राप्रपा विभाजन हुँदा मुद्दाको अस्तित्व नै सकिएजस्तो देखियो’, पूर्वराजा शाहको भनाइ उद्धृत गर्दै एक नेताले भने । उनले राप्रपा विभाजनले राजसंस्था, हिन्दू–राज्यको मुद्दा मात्र नभएर राप्रपाको अस्तित्व समाप्त हुनेतर्फ नेताहरूलाई सचेत गराएका थिए ।

उनले सुरुमा वर्तमान राजनीति र चुनावी परिणामबारे नेताहरूसँग जिज्ञासा राखेका थिए । उनले संविधानसभा निर्वाचनमा राम्रो उपस्थिति जनाएको राप्रपा अहिले किन कमजोर बन्यो भन्दै प्रश्न गरेका थिए । पार्टी विभाजन र नेतृत्वमा सैद्धान्तिक विचलन देखिएका कारण जनतामा असन्तुष्टि देखिएको नेताहरूको जवाफ थियो । साधनस्रोत अभावका कारण पनि चुनावी परिणाम अनपेक्षित भएको नेताहरूको भनाइ थियो । तीनै दलका नेताले एकै स्वरमा एकताको विकल्प नरहेको बताएका थिए । भेटमा सहभागी राप्रपाका एक नेताका अनुसार पूर्वराजाले तीन घण्टाको बसाइमा धेरै पटक राप्रपा एकतामै जोड दिएका थिए ।

‘पार्टी पुनर्गठनमा ढिलाइ नगर्नुहोस’्, पूर्वराजाले भनेका थिए, ‘साधनस्रोतको व्यवस्था म पनि गरुँला ।’ वर्तमान राजनीतिप्रति जनतामा निराशा छाएको र यसलाई चिर्न राजसंस्था र हिन्दू–राज्यको माग लिएर जनताका बीचमा जान उनको सुझाव थियो ।

पूर्वराजाको स्वागत गर्न समिति

विराटनगर : पूर्वका विभिन्न मन्दिरमा पूजापाठ र दर्शन गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विराटनगरमा समिति बनेको छ । बल्लभप्रसाद दाहालको अध्यक्षतामा दुई सय २७ सदस्यीय समिति गठन गरिएको हो । केही दिनदेखि दमकमा रहेका पूर्वराजा शाह पत्नी कोमलसहित रामनवमीको अवसरमा आगामी आइतबार विराटनगर आउने जनाइएको छ । दाहालले सोमबार पत्रकार सम्मेलन गरी शाह दम्पतीले विराटनगरका काली, रामजानकीलगायत मन्दिर दर्शन गर्ने जानकारी दिए । ‘पूर्वराजा पत्नीसहित मन्दिर दर्शनका लागि आउने कार्यक्रम छ’, उनले भने, ‘त्यही भएर उहाँहरूको स्वागत–सत्कारका लागि समिति बनाइएको हो ।’

अन्नपुर्ण पोष्टबाट

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: