Todays Nepal
No1 Nepal's Complete News Sites

राजा बिरेन्द्र र रानीको त्यो गोप्य सम्बाद : जस्ताको त्यस्तै

9,174

‘त्यसो भए तिमी रानीपोखरीदेखि रंगशालासम्म सबै ‘बुलडोज’ गर्न चाहन्छौ?’ राजा वीरेन्द्रले सोधे।

‘त्यस्तो चाहने म को हुँ र सरकार,’ भरत शर्माले भने, ‘यो त मौसूफ सरकारले चाहिबक्स्यो भने हुने कुरा हो।’

राजा वीरेन्द्र र इञ्जिनियर शर्मा टुँडिखेललाई एकीकृत पार्क बनाउने गुरुयोजनामाथि छलफल गर्दै थिए। तत्कालीन अञ्चलाधीश धर्मबहादुर थापा सँगै थिए।

यो घटना हो, २०४२ सालको।

कुनै बेला ‘एसियाकै ठूलो परेड मैदान’ भनिएको टुँडिखेलको तीनचौथाइ हिस्सा आज विभिन्न निकायको अतिक्रमणमा छ। उत्तरपट्टि रत्नपार्क, बसपार्क र सैनिक मञ्च तथा दक्षिणमा सैनिक हेडक्वार्टरले लगभग तीनचौथाइ हिस्सा ओगटेका छन्। सार्वजनिक प्रयोगमा आउने बीचको एकचौथाइ मात्र हो।

सर्वसाधारणको सम्पत्ति भइकन सर्वसाधारणले नै भोगचलन गर्न नपाएको टुँडिखेललाई सार्वजनिक पार्क बनाउने गुरुयोजना भने ३२ वर्षअघि बनेको थियो।

राजा वीरेन्द्रकै निर्देशनअनुसार टुँडिखेल लगायत काठमाडौं उपत्यकाका सार्वजनिक जग्गामा खुला पार्क बनाउन खोजिएको तत्कालीन अञ्चलाधीश थापा सम्झन्छन्।

‘सार्वजनिक जग्गाहरू खोजेर पार्क बनाउनू भन्ने राजाको निर्देशन थियो,’ पूर्वराजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा गृहमन्त्री भएका थापाले सेतोपाटीसँग भने, ‘हामीले मालपोत विभागसँग समन्वय गरेर जग्गा खोजी गरेका थियौं।’

खोजबिन गर्दा काठमाडौंमा मात्र सात सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा फेला परे। धेरैजसो विभिन्न व्यक्ति तथा संघ–संस्थाले मिचेका थिए।

धर्मबहादुर थापा

यता अतिक्रमित जग्गा खोजी हुँदै थियो, उता टुँडिखेल डिजाइनको जिम्मा शर्मालाई दिइयो।

शर्मा त्यतिबेला सहरी विकास विभागमा इञ्जिनियर थिए। विभागमै ३५ वर्ष काम गरेर २०५८ सालमा अवकाश पाए। अवकाश पाउँदा उप–महानिर्देशक थिए। हाल इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा प्राध्यापक छन्।

सहरी योजनाकार शर्मासँग राजा वीरेन्द्रको चिनजान नागार्जुन दरबार बनाउने बेला भएको थियो। नारायणहिटी दरबारको केही अंश डिजाइनमा पनि उनी संलग्न भए। वीरेन्द्रले यी दुवैमा शर्माको काम देखेका थिए।

शर्माले डिजाइन त गरे, तर टुँडिखेल गुरुयोजना सार्वजनिक नहुँदै विवादित भयो।

उत्तरमा रानीपोखरीदेखि दक्षिणमा रंगशालासम्म समेटेर एकीकृत पार्क बनाउने प्रस्ताव गुरुयोजनामा थियो। सैनिक मञ्च र हेडक्वार्टरदेखि रत्नपार्क र रंगशालाले ओगटेका क्षेत्र पार्कमा परिणत गर्न उनले सुझाएका थिए।

रानीपोखरी किनारमा अञ्चलाधीश कार्यालय थियो। गुरुयोजनाअनुसार त्यहाँका सबै संरचना भत्काउनुपर्थ्यो। त्रिचन्द्र कलेजको नयाँ भवन भत्काएर त्यो भू–भाग पनि एकीकृत टुँडिखेलमा समेट्ने भनिएको थियो।

रत्नपार्क र रानीपोखरीबीचको सडक कसरी व्यवस्थापन गर्ने भन्ने पनि शर्माले खुलाएका थिए। त्यो बाटो पैदलयात्रुलाई मात्र खुला गर्न खोजिएको थियो। गाडीहरूलाई त्रिचन्द्र कलेज हुँदै घन्टाघर घुमाउने प्रस्ताव थियो।

‘अरूमा खासै आपत्ति भएन, सैनिक हेडक्वार्टर नै हटाउने कुरा उठेपछि तत्कालीन अञ्चलाधीशले दरबारमा जाहेर गर्नुभयो,’ टुँडिखेल विस्तारबारे प्राध्यापक शर्माले भने।

जाहेरीपछि राजा वीरेन्द्रबाट छलफल निम्ति बोलावट आयो।

शर्मा र अञ्चलाधीश थापा दुवै ‘दर्शनभेट’ मा गए।

‘टुँडिखेललाई छियाछिया पारेर राखेसम्म संरक्षण हुन सक्दैन सरकार,’ शर्माले दर्शनभेटमा भनेको सम्झे।

भरत शर्मा

‘तिमी के चाहन्छौ?’ राजा वीरेन्द्रले सोधे।

‘काठमाडौं सभ्यतासँग जोडिएको सार्वजनिक स्थल जोगाउने हो भने टुँडिखेललाई एकीकृत पार्क बनाउनुपर्छ सरकार,’ शर्माले जवाफ दिए।

तत्कालीन अञ्चलाधीश थापा राजासँगको भेटमा भएका कुराकानी पुष्टि गर्छन्।

‘वीरेन्द्र सरकारसँग धेरै छलफल हुन्थ्यो,’ उनले भने, ‘उहाँ टुँडिखेल सुधार योजनामा धेरै सकारात्मक हुनुहुन्थ्यो।’

सैनिक हेडक्वार्टरका हकमा भने उनको बुझाइ फरक छ।

गुरुयोजनाले पूरै टुँडिखेल खाली गर्ने भने पनि हेडक्वार्टर हटाउनुपर्ने स्थिति नभएको उनको भनाइ छ। ‘त्यतिबेला हेडक्वार्टर भनेकै के थियो र,’ उनले भने, ‘भद्रकाली मन्दिरछेउ एउटा भवन थियो। त्यसलाई यथास्थितिमा राख्दा पनि टुँडिखेल विस्तारमा फरक पर्थेन।’

राजा सर्वेसर्वा हुने त्यो समय उनकै निर्देशनअनुसार बनेको गुरुयोजना कार्यान्वयन हुन पाएन।

सैनिक हेडक्वार्टर सार्ने प्रस्ताव मान्नु दरबारका लागि सजिलो थिएन। राजनीतिक रूपले संवेदनशील बेला सेनालाई सहरभित्र राख्नुमा दरबारकै स्वार्थ थियो। खुला पार्क बनाउने नाममा सेना सारेर जोखिम मोल्न नचाहेको हुनसक्छ।

तत्कालीन मुमा बडामहारानी रत्न राज्यलक्ष्मी खुसी पार्न बनाइएको रत्नपार्कले टुँडिखेलकै जग्गा मिचेको थियो। गुरुयोजना कार्यान्वयन गर्दा रत्नपार्क पनि बृहत टुँडिखेलमा गाभिन्थ्यो। दरबार यसमा सकारात्मक नभएको हुनसक्छ।

राजा वीरेन्द्र टुँडिखेल विस्तार योजनाबाट पछि हटे। उनले पत्याएर डिजाइनको जिम्मा दिएका शर्मा हटेनन्।

गुरुयोजना थन्कियो। शर्माको परिकल्पना थन्किएन।

उनले टुँडिखेललाई खुला स्थलमा परिणत गर्नुपर्ने आवाज उठाइरहे। अतिक्रमण भएको सुइँको पायो कि मुड्की बजार्न पुगिहाल्थे।

२०५१ सालको कुरा हो।

एमाले सरकारमा थियो। केपी ओली गृहमन्त्री थिए। जनआन्दोलन क्रममा रत्नपार्कको अञ्चलाधीश कार्यालय आगलागी भएपछि ठाउँ खाली थियो। शर्मा लगायत सार्वजनिक स्थलका अभियन्ता त्यो क्षेत्र पार्क बनाउन वकालत गर्दै थिए।

त्यही ठाउँमा उपत्यका प्रहरी कार्यालय बन्ने भयो। अभियन्ताहरूले विरोध गरे। कसैको सुनिएन। ओलीले भवन शिलान्यास गरे।

शिलान्यासपछि वातावरण पत्रकार समूहका सदस्यसहितको टोली ओली भेट्न गयो। शर्मा सँगै थिए।

‘त्यहाँ अञ्चलाधीश कार्यालय राख्नु गलत थियो। आगो लाग्यो, अब खुला सार्वजनिक स्थल बनाउनुपर्छ। रानीपोखरीकै क्षेत्रफल बढाउन सकिन्छ,’ ओलीसँग भेटमा आफ्नो भनाइ सम्झँदै शर्माले सुनाए, ‘कहीँ नपाएर रानीपोखरीकै किनारमा प्रहरी कार्यालय किन खोल्नुपर्यो?’

‘टुँडिखेल अतिक्रमण गरी प्रहरी कार्यालय बनाउनु सम्पदाको हितमा छैन। देशको हितमा पनि छैन,’ शर्माले आफ्नो भनाइ सम्झे।

ओलीले ज्ञापनपत्र बुझे, कुरा सुनेनन्।

रत्नपार्कमा प्रहरी कार्यालय भवन बनेरै छाड्यो।

‘काठमाडौंका सार्वजनिक स्थल संरक्षण गर्नुपर्छ भन्नेमा उहाँ खरो बोल्नुहुन्थ्यो,’ त्यतिबेला वातावरण पत्रकार समूहमा आबद्ध राजेन्द्र दाहालले सम्झे।

यता शर्मा बोल्दै गए, अतिक्रमण बढ्दै गयो।

गुरुयोजनाले हेडक्वार्टर हटाउने सिफारिस गरेको थियो, सेनाले उल्टै क्षेत्रफल फैल्यायो।

अहिले टुँडिखेल मिचेर सेनाले खेल मैदान बनाएको छ। मनोरञ्जन निम्ति ‘आर्मी अफिसर्स क्लब’ खोलेको छ। त्यसैलाई भाडामा लगाएर कमाइ गर्छ। सयौंलाई भोज खुवाउन मिल्ने दुइटा पार्टी प्यालेस छन्। बिहे सिजनमा खाली हुँदैन। उच्च अधिकारीको ‘सोर्सफोर्स’ लगाएर पहिल्यै बुकिङ गर्नुपर्छ।

पछिल्लो समय चाइना टाउनअगाडि पुस्तकालय बनाइएको छ। सार्वजनिक जग्गाको यो पुस्तकालय सार्वजनिक प्रयोग निम्ति होइन।

कुनै बेला उत्तरमा रानीपोखरी र दक्षिणमा दशरथ रंगशाला भएको ठाउँसम्म फैलिएको टुँडिखेल अहिले जम्मा यति हिस्सा बचेको छ। यो टुँडिखेलको लगभग एकचौथाइ हो। यसको दायाँ भाग मिचेर सेनाले हेडक्वार्टर बनाएको छ भने बायाँ भागमा सैनिक मञ्च छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी
टुँडिखेल मिच्नेमा सेना मात्र छैन।

रत्नपार्क र सैनिक मञ्चबीचको खुलामञ्च अब नामअनुसार खुला रहेन। केही वर्षअघिसम्म यहाँ राजनीतिक दलका आमसभा हुन्थे। कार्यक्रम नहुँदा सर्वसाधारण सुस्ताउन आइपुग्थे। पञ्चायतदेखि राजतन्त्रसम्मको विरोध देखेको यो चउर आफैं अतिक्रमणको शिकार छ।

दुई वर्षअघि काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कको जग्गा ‘व्यापारिक टावर’ बनाउन ठेक्का दियो। निर्माण कम्पनीले धमाधम टावर ठड्याउँदैछ। सम्झौताअनुसार उसले ३० वर्ष यो ठाउँ भोगचलन गर्नेछ। जबकि, भोगचलनका हकदार सर्वसाधारण थिए। त्यसयता खुलामञ्चको चउर पार्किङ स्थल बनेको छ।

‘जसले जे गरे पनि भएको छ। सेनाले वर्षौंदेखि मिचेर बस्दा कसैले केही नभनेपछि महानगर किन चुप लाग्थ्यो। पुरानो बसपार्क व्यापारीलाई सुम्पेर खुलामञ्चमै बसपार्क बनाएको छ,’ शर्माले भने।

‘त्यो बेला रणनीतिक रूपले उपयुक्त ठाउँ छानेर सैनिक हेडक्वार्टर राखेको हुनसक्छ। आज मध्यसहरमा हेडक्वार्टर किन चाहियो?’ उनको प्रश्न छ, ‘बीच सहरमा सैनिक परेड खेलाउनुभन्दा हाम्रा केटाकेटी खेल्ने पार्क बनाउनु राम्रो होइन र?’

‘विकसित देशहरूमा सहरबीच ठूल्ठूला पार्क हुन्छन्, जसले घना आबादीलाई सास फेर्ने ठाउँ दिन्छ,’ शर्माले न्यूयोर्क सेन्ट्रल पार्कको उदाहरण दिँदै भने, ‘संसार घुमेका हाम्रा नेताहरूले त्यसैको सिको गरे खुला पार्कको महत्व बुझ्थे।’

शर्माको टुँडिखेल प्रेम काठमाडौं ‘नोस्टाल्जिया’ सँग जोडिन्छ।

उनको घर धनुषा हो। आइएससी पढ्न २०१४ सालमा पहिलोपटक काठमाडौं आएका थिए।

उनले उत्तरमा रानीपोखरीदेखि दक्षिणमा अहिले रंगशाला भएको ठाउँसम्म फैलिएको टुँडिखेलको वास्तविक स्वरूप देखेका थिए।

‘यो जनतालाई सुविस्ता होस् भनेर राज्यले बनाइदिएको मैदान होइन। काठमाडौंका नेवार पुर्खाहरूमा सार्वजनिक उपयोग निम्ति जग्गा दान गर्ने चलन थियो। जनताले स्वैच्छाले दान गरेर यति ठूलो खुला स्थल बनाएका थिए। जनताको यो सम्पत्ति पछिका शासकले आफ्नै ठाने र बिर्ताजस्तो बाँडे,’ उनले भने।

टुँडिखेलसँग काठमाडौंको सामाजिक–साँस्कृतिक महत्व जोडिएको शर्माको भनाइ छ। उनी कलेज पढ्दा भद्रकालीमा पूजाआजा गरेर टुँडिखेलमा भोज खाने चलन थियो। विभिन्न जात्रा हुन्थे।

टुँडिखेलको पर्यावरणीय महत्व पनि छ। खुला जमिनमा पानी रिचार्ज हुन्छ। यसले सहरका विभिन्न ठाउँमा पानीको स्रोत खोल्छ।

‘हाम्रा ढुंगेधाराहरू किन सुके? इन्द्र महाराजले पाइप काटेको त होइन नि!’ शर्माले भने, ‘ढुंगेधारामा पानी आउन जमिन रिचार्ज हुनुपर्छ। टुँडिखेलले त्यही रिचार्जको काम गर्थ्यो।’

‘टुँडिखेल मासियो, हाम्रा ढुंगेधारा र पोखरी पनि मासिए,’ उनले भने।

चौतर्फी अतिक्रमणबाट जोगाउन शर्माले पटक–पटक लेखेर, बोलेर, कराएर आक्रोश पोखेका छन्। अचेल धेरै भयो, उनले यसबारे बोलेको कम सुनिन्छ। मनभित्र हुटहुटी भने मरेको छैन।

केही दिनअघि हामीले उनीसँग सम्पर्क गरेका थियौं। विषय सुन्नेबित्तिकै उत्साहित भए। तत्काल समय दिइहाले।

इञ्जिनियरिङ अध्ययन संस्थानको आर्किटेक्चरल विभागमा हाम्रो भेट भयो। उनको छुट्टै कोठा थिएन। विभागीय प्रमुखको कोठाबाहिर सोफामा बसेर टुँडिखेल अतिक्रमणबारे आधा घन्टा गफियौं।

उनी घरि भावुक भए, घरि आक्रोशित।

मनको उफानसँगै उनको आवाजको लय फेरिन्थ्यो। कहिले विभागीय प्रमुखको कोठाबाहिर छु भन्ने ख्यालै नराखी चर्को स्वरमा जंगिन्थे, कहिले भावनामा बगेर स्वर धमिलो हुन्थ्यो।

‘हेर्नुस् त, रानीपोखरीलाई पाताले कसेर घोक्रो सुकाउने काम भइरहेको छ। टुँडिखेललाई चारतिरबाट जञ्जीरले बाँधेर राखेका छौं। प्रताप मल्ल बसेको हात्तीलाई रानीपोखरीछेउ यस्तरी मिल्काएका छौं, मानौं इतिहासको त्यो कालखण्डसँग आधुनिक युगलाई कुनै मतलब छैन। हामी हाम्रो सभ्यता कसरी सुरु भयो, कसरी फस्टायो, जान्नै चाहँदैनौं, बुझ्नै चाहँदैनौ, अनि कसरी हुन्छ?’ उनले प्रश्न गरे, ‘इतिहासले सिकाएको पाठ संरक्षण नगरी वर्तमान र भविष्य कसरी बन्छ? जरै मजबुत छैन भने पात राम्ररी पलाओस् भन्ने आस गरेर हुन्छ?’

‘हरेक नयाँ पुस्ताले पुराना पुस्ताको गल्ती नदोहोर्याउने र सही कुरा अनुसरण गर्नुपर्छ। हामी यसैमा चुकेका छौं। मध्यसहरमा खुला सार्वजनिक स्थल बनाउने परम्परा अनुसरणको कुरै छाडौं, भएका खुला स्थल पनि जानाजान मास्यौं,’ उनले भने।

जब प्रदूषणको कुरा उठ्यो, उनी रुन मात्र सकेनन्।

‘धूलोधुवाँले ढाकेको काठमाडौंलाई सास फेर्न सकस छ। कसरी नहोस्? हामीले सास फेर्न ठाउँ राखेका छौं र? खुला ठाउँ मासेपछि कहाँ पाउने अक्सिजन? कसरी फेर्ने शुद्ध हावामा सास?’ उनले प्रश्न गरे।

‘सहरको फोक्सो शुद्ध नभएसम्म शरीरको फोक्सोले राम्ररी काम गर्न सक्दैन,’ उनले भने, ‘टुँडिखेल काठमाडौंको फोक्सो हो।’

बत्तीस वर्षअघिको गुरुयोजना आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ।

‘जस्ताको तस्तै कार्यान्वयन गरे हुन्छ,’ उनले भने, ‘हेडक्वार्टर, सैनिक मञ्च र बसपार्क हटाएर सिंगो टुँडिखेल केटाकेटी खेल्ने पार्क बनाउन सकिन्छ, सरकारमा बस्नेहरूको इच्छाशक्ति हुनुपर्यो।’

यही उद्देश्य निम्ति उनी दसकौंदेखि एक्लै संघर्ष गरिरहेको इञ्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक सूर्यराज आचार्य बताउँछन्।

रत्नपार्कमा प्रहरी कार्यालय बनाउँदा ओलीसँग बहस गर्नुका साथै गणतन्त्र स्मारक योजनाको पनि विरोध गरेको आचार्य सम्झन्छन्।

‘मैले उहाँलाई जहिल्यै खुला स्थलको पक्षमा आवाज उठाएको देखेँ,’ उनले भने, ‘पञ्चायत बेला रंगशालाको विरोध गर्नुभयो। टुँडिखेल मासेर रंगशाला बनाउँदा सार्वजनिक स्थलको सोच मासिने उहाँको तर्क थियो।’

‘कहिलेकाहीँ त उहाँ सरकारी कर्मचारीका रूपमा आफ्नो सीमाधरि वास्ता गर्नुहुन्थेन,’ आचार्यले भने।

यस्ता ‘हकी’ शर्मा हिजोआज किन कम बोल्छन् त?

‘कति बोल्नु। जति कराए पनि कसैले सुन्दैन,’ उनले भने, ‘टुँडिखेल बचाउनुपर्यो भन्नु त जंगलमा रोएजस्तो भएको छ।’

जति कराए पनि खुला सार्वजनिक स्थानको महत्व राजनीतिक नेताहरूले बेवास्ता गरेको उनको गुनासो छ। यसमा टुँडिखेल मात्र पर्दैन, ती सात सय रोपनी सार्वजनिक जग्गा पनि पर्छ, जुन बत्तीस वर्षअघि अतिक्रमित फेला परेको थियो।

‘म थाकेको चाहिँ होइन है। अझै पनि टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन कोही अघि सर्छ भने त्यो अभियानमा अग्रपंक्तिमा उभिनेछु,’ उनले भने।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: