Todays Nepal
No1 Nepal's Complete News Sites

२० लाख नगद, कार र ५० लाख बराबरको अन्य पुरस्कार सहितको नयाँ रियालिटी शो आउँदै

8,708

नेपालमा रियालिटी सो हुने क्रम बढी रहेकै बेला ओमेगा इन्टरटेनमेन्टले फरक खालको सो आयोजना गर्ने भएको छ। ‘नेपालस् मेगा सिनेस्टार’ नाम दिइएको रियालिटी सोमा देशका कुनाकाप्चामा लुकेर रहेका प्रतिभा उजागर गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। सोमबार राजधानीमा एक कार्यक्रम गरी उक्त मनोरञ्जनात्मक रियालिटी सोको टिजर सार्वजनिक गरियो।

कार्यक्रममा प्रमुख अतिथि थिए गीतकार तथा चलचित्र निर्देशक यादव खरेल। टिजर लन्चपछि शुभकामना दिँदै उनले भने, ‘प्रतिभाले ठाउँ पाउनुपर्छ, त्यसलाई मलजल गर्नुपर्छ, अनि मात्र त्यसमा फल लाग्छ।’ ‘गाउँगाउँबाट प्रतिभा प्रस्फुटन हुनुपर्छ, अझै राम्रा कलाकार जन्मनुपर्छ’, उनले थपे।

ओमेगा इन्टरटेनमेन्टका अध्यक्ष प्रवेश बरालले नेपाली प्रतिभाको खोजी गर्ने उद्देश्यले रियालिटी सो ल्याउन लागेको बताए। ‘सो नेपाली फिल्म उद्योगमा भविष्य देख्नेहरूका लागि प्रोत्साहन हो’, उनले भने। ‘हामी गाउँगाउँमा गएर प्रतिभा खोज्छौं, सिनेस्टार जन्माउँछौं। लुकेका प्रतिभालाई मञ्च प्रदान गर्नेछौं।’ प्रतियोगिताका विजेताले २० लाख नगद, एक थान कार र एक वर्षका लागि ५० लाखबराबरको अभिनय गर्ने अवसर पाउने जानकारी उनले दिए।

ओमेगाका निर्देशक समिर राणाले नेपालमा ठूलाठूला फ्रेन्चाइज सो भइरहेका छन् तर नेपालकै प्रडक्टलाई अझ राम्रो बनाउनुपर्छ भन्ने लागेर यो रियालिटी सो ल्याइएको बताए। ‘हामी लोकल रियालिटी सो ल्याउँदै छौं।’ राणाले पुरस्कार राशि एक करोडबराबरको भएको बताए।

एपी वानका सेल्स एन्ड मार्केटिङ मेनेजर शम्भु गुरागाईंले यो रियालिटी सोको ब्रोडकास्टिङ पाटर्नर एपी वान टेलिभिजन भएको जानकारी दिए। ‘यो सो एपी वानको उत्पादन नभएर ओमेगा इन्टरटेनमेन्टका लागि समय उपलब्ध गराएका हौं’, उनले भने।

रियालिटी सोको निर्णायकमा चलचित्र निर्देशकद्वय सोभित बस्नेत र निश्चल बस्नेत तथा नायिका माल्भिका सुब्बा रहेका छन्। कार्यक्रममा निर्णायक निश्चलले आफूमा प्रतिभा भएकाहरूले सोमा भाग लिन सक्ने बताए। ‘सोमा प्रवेश गरिसकेपछि सहभागीहरूको अभिनय क्षमता निखार्ने काम पनि गरिनेछ। यसबाट नयाँ कलाकारको जन्म हुन्छ’, उनले भने।

अर्की निर्णायक माल्भिकाले भनिन्, ‘म, निश्चल र सोभितसँग डान्स गर्न चाहन्छु।’ आफू महिला भए पनि महिला कलाकारलाई प्राथमिकता दिन्छु भन्ने गलत धारणा नराख्न उनले आग्रह गरिन्। ‘तपाईंहरूले मेरो भिडियो हेर्न सक्नुहुन्छ। सबैभन्दा छुच्ची जजका रूपमा मलाई प्रस्तुत गरिएको छ।’

नायक सरोज खनालले नेपालमा पनि यस्ता रियालिटी सो धमाधम आउनु राम्रो भएको बताए। ‘हाम्रो पालामा यस्तो थिएन, अवसर पाउन पनि निकै कठिन थियो। अहिले यस्ता सोले केही सहज गरिदिएको छ’, उनले भने। कलाकारको प्रतिभा अगाडि ल्याइरहँदा सबै खाले प्रतिभा समेटिनुपर्ने धारणा उनको थियो।

‘केवल नायकनायिका मात्र छान्ने काम नहोस्, सशक्त अभिनय गर्न सक्ने कलाकारलाई ठाउँ दिइओस्। नेपाली कलाकारमा अहिले मेहनेतको कमी छ। रहरमा यस क्षेत्रमा प्रवेश गरेको पाइन्छ’, उनले भने। सोका लागि पोखरा र काठमाडौंबाट चैत २८ बाट अडिसनको सुरुवात हुनेछ। कार्यक्रमको होस्ट नेपाली तारा–२ का विजेता सन्तोष लामाले गर्दै छन्।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: